संस्थापक शेयरधनी सम्बद्ध संस्थामा सामाजिक उत्तरदायित्वको रकम खर्च नगर्नूः राष्ट्र बैंक

Advertisement

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको रकम जथाभावी खर्च गर्न थालेपछि नेपाल राष्ट्र बैंकले कडाई गर्ने भएको छ ।

राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदा तयार गरेको गरेको हो । उक्त मस्यौदाका सम्बन्धमा ३५ दिन भित्र राय सुझाव पेश गर्न सरोकारवाला व्यक्ति र निकायहरुलाई राष्ट्र बैंकले अनुरोध गरेको छ । 

Advertisement

क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले वातावरणीय संरक्षण, सामाजिक विकास, वित्तीय साक्षरताको प्रवद्र्धन, वित्तीय समावेशीकरण, विद्युत्तीय भुक्तानीको प्रवद्र्धन गर्नुका साथै शिक्षा तथा स्वास्थ्य सेवाको सुदृढीकरणमा योजदान गर्न नाफाको निश्चित अंक संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत खर्च गर्न पर्नेछ ।

तर बैंक तथा वित्तीय संस्थाहरुले उक्त रकम जथाभावी खर्च गरेको गुनासो आउन थाले पछि राष्ट्र बैंकले मार्गदर्शन जारी गर्ने तयारी गरेको हो । बैंकहरुले आफ्नो नाफाको एक प्रतिशत रकम सीएसआरमा राख्ने व्यवस्था छ र सो रकम प्रत्येक प्रदेशमा न्युनतम १० प्रतिशतका दरले खर्च गर्नुपर्ने व्यवस्था अहिले कार्यान्वयनमा छ ।

उक्त मार्गदर्शन कार्यान्वयनमा आएसँगै सामाजिक उत्तरदायित्वअन्तरगतका खर्च निष्पक्ष र पारदर्शी रुपमा न्यायोचित ढंगले वितरण हुने, सामाजिक हित प्रवद्र्धन हुने र बहुउपयोगी कार्यमा स्रोतको प्रभावकारी हुने राष्ट्र बैंकले विश्वास लिएको छ । 

संस्थाको ब्राण्ड प्रवद्र्धन तथा बजार विस्तार गर्ने हेतुले गरिएका बजारीकरण अभियान, विभिन्न कार्यक्रमहरुको प्रायोजन, राजनैतिक दलका कार्यक्रमलाई गरिएको सहयोग, नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, र्याली तथा विज्ञापन जस्ता कार्यहरुमा गरिएको खर्च संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नपर्ने राष्ट्र बैंकले तयार पारेको मार्गदर्शनमा उल्लेख छ । 

त्यसैगरी संस्थापक शेयरधनी, संचालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा गरिएका खर्च र व्यापार विस्तारको शर्त राखी गरिएका खर्च पनि सामाजिक उत्तरदायित्व भित्र नपर्ने मस्यौदामा उल्लेख छ । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्दा निजी बाहेकका सरकारी, सामुदायिक तथा अन्य गैर नाफामूलक संस्थाहरुको लागि मात्र गर्नु पर्नेछ ।  कुनै एउटा कार्यक्रममा त्यस आर्थिक वर्षको कुल खर्च योग्य संस्थागत सामाजिक उत्तरदायित्व रकमको ५ प्रतिशतभन्दा बढी खर्च गर्न पाइने छैन । कोषको रकम कुनै किसिमको नगद, दान, दातव्य, पुरस्कार आदि वितरण गरी खर्च लेखांकन गर्न नपाइने मार्गदर्शनमा उल्लेख छ । 

बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषय (जस्तैः शिक्षा, स्वास्थ्य आदि) मा मात्र सीमित नभई आफ्नो कार्यक्षेत्र भित्रका भौगोलिक क्षेत्रमा जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकतामा राखी न्यायोचित ढङ्गले खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

साथै वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाएको रकमलाई प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्नेछ ।

सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदाको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् 

 
 

Advertisement

Advertisement