बीमा समितिले भन्यो– झुक्किएर पनि बीमा ऐनको दफा २७ सँग निहुँ नखोज्नु

Advertisement

काठमाडौं । बीमा समितिले झुक्किएर पनि बीमा ऐनको दफा २७ सँग निउ नखोज्न बीमकहरूलाई चेतावनी दिएको छ । समितिले समयको मागअनुसार नै आफूहरूले निर्देशन दिने भन्दै दफा २७ ले बीमकलाई थप अनुशासनको बाटोतर्फ लाग्न झक्झक्याएको बताएको छ ।

बीमा ऐन २०४९ को दफा २७ मा उधारो बीमा सम्बन्धी प्रावधान छ । उक्त दफामा कम्पनीहरुलाई उधारो बीमामा संलग्न नहुन सचेत गराएको छ ।

Advertisement

विगतमा बीमितले बीमाशुल्क नबुझाई बीमा गर्ने प्रवृत्ति हावी हुँदै गएको भन्दै समितिले सो कुरामा कडाई गर्न जरूरी रहेको बताएको थियो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘अहिले उधारो बीमा धेरै हदसम्म रोक्किसकेको छ । हामीले बजारमा उधारो बीमा भएको थाहा पाउने वित्तिकै त्यसमा कडाई गर्न सुरू गर्यो । अहिले तपाईंहरूले पनि उधारो बीमा भएको सुन्नु भएको छैन भन्नेमा हामी विश्वस्त छौं ।’

उनले कहीकतै उधारो बीमा छुकिछिपी भएको पाइए त्यस्ता कम्पनीलाई कारबाही गर्ने चेतावनी दिइको बताए  पौडेलले थपे, ‘रोक्किसकेको उधारो बीमालाई त्यतिकै बजारमा रोकिएको होइन भन्ने हल्ला पनि फिजिने गरेका छन् । तर अब झुक्किएर पनि बीमा कम्पनीले दफा २७ सँग निहुँ खोज्दैनन् ।’

केही महिनाअघि बीमा समितिले ‘उधारो बीमा रोक्नु’ भन्दै बीमा कम्पनीलाई निर्देशन समेत जारी गरेको थियो । समितिले थप कडाई गरेसँगै बीमा कम्पनीहरूले उधारो बीमामा केही सर्तकता देखाएका थिए । तर, निर्देशन जारी गरेपछि पनि उधारो बीमाको व्यवसाय लुकिछिपि भइरहेकोमा बीमा समितिले स्वीकार गरेको थियो । अहिले बीमा कम्पनीहरूले उधारो बीमा जुनसुकै कम्पनीबाट भए पनि त्यसमा नियामकले कडाई गर्नु सकारात्मक कुरा रहेको प्रतिक्रिया दिएका छन् ।

समितिले शेयरमा हुने इन्साईडर ट्रेडिङ र बीमा बजारमा हुने उधारो बीमा दुवै घातक रहेको बताएको छ । उधारो बीमामा कहिले काही व्यवहारिक पक्ष पनि जोडिने भन्दै समितिले शुक्रबार बीमा गरेर बैंकमा पैसा जम्मा गर्न नभ्याएका बीमितको हकमा भने आउने आईतबारसम्म छुट दिने व्यवस्था गरेको छ ।

बीमा क्षेत्रका जानकारहरूले विगतमा बीमा सम्झौता भएको महिनौ बित्दा पनि खातामा नगद नआउने र यस्ता गतिविधिले बीमा कम्पनीमा विकराल रूप ल्याउनसक्ने चेतावनी दिएका थिए । उनीहरूले स्थापनाको पाँच दशकपछि बीमा समितिले उधारो बीमामा चालेको कदम निकै सन्तोषजनक रहेको बताएका छन् ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवणकुमार (एसके) रावलले भने, ‘बीमा समितिले पछिल्लो समय उधारो बीमामा निकै कडाई गरिरहेको छ । यो बीमा उद्योगकै हितमा छ । अब नियामकले यति कडाई गरेपछि त कम्पनीहरूले पनि उधारो बीमा गर्न आँट नगर्लान् ।’

यस्तो छ दफा २७  
बीमाशुल्क जोखिम ग्रहण गर्नुभन्दा अगाडी भुक्तानी हुनपर्ने कुनै पनि बीमकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने बीमा बापतको शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुँदैन । बीमकले जोखिम ग्रहण गरेबापत बीमाशुल्क रकम प्राप्त गरेपछि मात्र बीमा गरेको मानिनेछ ।

तर कुनै कारणवस एकमुष्ट रकम बुझाउन व्यवहारिक कठिनाई परी बाँकी रकम भुक्तानी सम्बन्धमा अवधि किटान गरी बैंक वा नेपाल सरकारको जमानतमा बीमा लेख जारी गर्न यस दफाले कुनै बन्देज लगाएको मानिने छैन् ।

Advertisement

Advertisement