तिवारीको गोप्य खुलासा– बीमा समिति र कम्पनीहरुले बोनस दरमा सेटिङ गर्छन्

Advertisement

काठमाडौं । पेशागत बीमा अभिकर्ता महासंघका अध्यक्ष नन्दप्रसाद तिवारीले बीमा समिति र कम्पनीले बोनस दर निर्धारणमा सेटिङ हुने गरेको खुलासा गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले मिलेमतोमा नै बीमा कम्पनी र समितिले बोनस दर निर्धारण गर्ने भन्दै एक्चुरीको काम देखावटी मात्रै हुने गरेको बताए ।

Advertisement

अध्यक्ष तिवारीले भने, ‘बोनस एक्चुरीले होइन कम्पनी र बीमा समितिले मिलेर घोषणा गर्छन् । एक्चुरीले बोनस घोषणा गर्ने भन्ने कुरा सबै देखावटी मात्रै हो । हामीले यो कुरा २०६० देखि नै पत्ता लगाएका हौ ।’

उनले थपे, ‘बीमा समितिमा मिलाएपछि सबैको बोनस दर मिल्छ । कम्पनी र बीमा समितिले एक्चुरीको नाम लिएर नाटक गरेका हुन् । अहिलेसम्म भएको कुरा यही हो । बीमा समितिले बोनस दर घोषणामा केही पनि कडाई गरेको छैन ।’ 

उदाहरण दिँदै तिवारीले भने, ‘एक्चुरीले नै हिसाब किताब गरेर बोनस दर निर्धारण गर्ने हो भने एलआईसीको बोनस दर अघिल्लो वर्ष ६० हुने, तुरुन्तै अर्को वर्ष ६६ हुने, फेरि अहिले ५५ हुने ५६ हुने कसरी भयो ? त्यति ठूलो परिवर्तन कसरी हुन्छ ? एलिको कम्पनीको एक्चुरी पनि कस्तो होला ? एक वर्षअघि त्यही कम्पनी खत्तम हुने फेरि एक वर्षमा नै त्यही कम्पनीले छलाङ मार्ने ! यो कुन हिसाबले हुन्छ ? बैंकमा त्यस्तो सम्भव छ । तर जीवन बीमा कम्पनीका त्यस्तो सम्भव छैन ।’ 

बैंकको मुद्दती निक्षेपमा राखेको पैसाबाट कमाई खाने बीमा कम्पनीले यस्तो भिषण परिवर्तन कहाँबाट ल्याउँछन् ? भन्दै उनले यस्ता कुरामा बीमा समितिका दिग्गज व्यक्तिले जवाफ दिनुपर्ने बताए ।

अध्यक्ष तिवारीले एक्चुरीसँग पनि आफूहरूले बोनसको विषयमा छलफल गर्ने गरेको बताए । बोनसको विषयमा षड्यन्त्र हुने गरेको उनको जिकिर छ । अभिकर्ताको पहिलो माग अभिकर्तालाई होइन बीमितलाई खुशी बनाउनुपर्छ भन्ने रहेको बताउँदै तिवारीले अभिकर्ताको कार्यालयमा गएर हेर्दा नै सो कुरा पुष्टि हुने तर्क गरे । 

तिवारीले अहिले एउटा समूहलाई मात्रै लक्षित गरेर काम गर्नेभन्दा पनि सर्वसाधारणका लागि काम गर्नु निकै जरूरी रहेको बताए । तर देशमा आम जनाता र बीमितको हकहितमा काम गर्ने व्यक्ति र निकायको अभाव रहेको बताए ।  

तिवारीले थपे, ‘बीमितको हक हित र बीमा क्षेत्रको सुधारमा त नियामक निकायले ध्यान पुर्यायुनपर्ने हो । हाम्रोमा त नीति नियम मिलाएर कताबाट पैसा आउँछ ? भन्नेमा मात्रै नियामक बीमा समितिको ध्यान छ ।’ 

धेरै पैसा लगानी गरेर नाफा उठाउने व्यक्तिभन्दा थोरै पैसा तिरेर बीमा गर्ने नागरिकले पाउनु पर्ने लाभमा सबैको ध्यान केन्द्रित हुनुपर्ने उनले बताए । आफूले प्रश्न सोध्दा बीमा समितिका कर्मचारी र एक्चुरीले जवाफ दिन नसक्ने अध्यक्ष तिवारीले बताए । 

उनले यो सबै मिलेमतो भएको र बोनसमा हुने घटबढको जवाफ आफूहरुले बीमा समितिबाट लिएरै छाड्ने बताए । समितिले जवाफ आफूलाई व्यक्तिगतरूपमा नभई सबै नागरिक र बीमितलाई दिनुपर्ने तिवारीको भनाई छ । 

Advertisement

Advertisement