आहा रारा गोल्डकपमा एपीएफको बिजयी सुरुवात, सहारा २–० ले पराजित

Advertisement

पोखरा । बिहीबारबाट शुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपीएफले बिजयी यात्रा शुरु गरेको छ  । 

दर्शक बिना खेलाइएको खेलमा एपीएफको जितको लागि आवास लामिछाने र प्रदीप लामाले समान १–१ गोल गरे  । खेलको १३ औं मिनेटमा एपीएफका आवास लामिछानेले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । युरोपियन फुटबल खेलको अनुभव बटुलेका लामिछाने प्रतियोगिताको पहिलो गोलकर्ता पनि बने । 

Advertisement

खेलको शुरूवातमै १ गोलले पछि परेको सहारा पहिलो हाफको सम्पूर्ण समय दबाबमा रहेका थियो । निर्धारित पहिलो हाफमा १–० ले अग्रता लिएको एपीएफले दोस्रो हाफको पनि सुरुआतमै दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनायो । खेलको दोस्रो हाफ ५९ औं मिनेटमा एपीएफका शनिष श्रेष्ठको लामो पासलाई कन्ट्रोल गर्दै प्रदीप लामाले बललाई दोस्रो गोलमा परिणत गरे । 

खेलमा आवास लामिछाने म्यान अफ दी म्याच घोषित भए । मोफसलकै चर्चित फुटबल प्रतियोगिताका रुपमा लिइएको आहा रारा गोल्डकपको यसवर्षको संस्करण दर्शकबिना नै भइरहेको छ । कोरोना महामारीका कारण प्रशासनले भिडभाड गर्न रोकेकाले दर्शक बिनै प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतियोगिताको दोस्रो खेल भोली हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । १० वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख र उप–विजेताले ५ लाख रुपियाँ प्राप्त गर्नेछन् ।

Advertisement

Advertisement