पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गर्दै नेविसंघको विरोध प्रर्दशन

Advertisement

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन सुरु गरेको छ । 

शुक्रबार संघसम्वद्ध विद्यार्थीहरुले काठमाडौंको कोटेश्वर, मिनभवन, माईतीघर मण्डलालगायतका स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य बस्तुहरुमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन । 

Advertisement

त्यस क्रममा उनीहरुले मूल्यवृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका थिए । मूल्यवृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियान समेत संचालन गरिएको र त्यो छिट्टै सरकारले बुझाउने संघ, प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष आर्दश मल्लले जानकारी दिए । 

उनले कोरोना संकटमा पनि सरकारले दैनिक उपभोग्य बस्तुहरुको चर्को मूल्य वृद्धि गरेकाले त्यसको विरोध गर्नु परेको बताए । विरोध प्रर्दशनमा नेपाल विद्यार्थी संघ, अस्कल क्याम्पसका इकाई समिति, नेपाल कमर्श क्याम्पसका इकाई समिति, कोटेश्वर बहुमुखी क्याम्पसका इकाई समिति र प्राविधिक विद्यार्थी परिषदले नेतृत्व लिएका थिए । 

उनीहरुले मूल्य वृद्धि खारेज गर्ने आफूहरुको अभियानमा साथ दिन आह्वान गर्दै ‘मूल्य वृद्धि खारेज गर’ लेखिएको मास्क समेत सर्वसाधारणलाई वितरण गरेका थिए ।

नेपाल आयल निगमले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपियाँ, डिजेल तथा मट्टितेलमा पनि ३ रुपियाँ मूल्य बढाएको छ । यसले अन्य दैनिक उपभोग्य बस्तुहरुको समेत मूल्य वृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरु प्रर्दशनमा उत्रिएका हुन ।

Advertisement

Advertisement