कृषि विकास बैंकले मनायो ५५औं बार्षिकोत्सव, अर्थमन्त्रीदेखि गभर्नरसम्मले के भने ?

Advertisement

काठमाडौं । कृषि विकास बैंकले शुक्रबार ५५औं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भर्चुअलमाध्यमबाट सहभागी भए । 

कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गर्न बैंकलाई सुझाव दिए । उनले सरकारले अगाडि सारेका लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई बैकिङ व्यवसाय सञ्चालन गर्न सुझाव दिए । 

Advertisement

राष्ट्र बैंकका गर्भनर अधिकारीले कृषि विकास बैंकले कृषिलाई पहिलो प्राथामिकता दिएर नै आफ्नो बैकिङ व्यवसाय संचालन गरेको बताउँदै गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानीका अवसर सिर्जना गर्नका निमित्त कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकको रुपमा रहने गरी कृषि वण्ड जारी गर्ने अवसर प्रदान गरेअनुरुप कृषि बण्ड जारी भएको स्मरण गरे । 

उनले किसानहरुको सुविधाका लागि किसान क्रेडिट कार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा बाणिज्य बैकिङ लगायत कृषि र किसानहरुको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम संचालन गर्न सुझाव दिए । 

कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायले बैंकले करिब १५ लाख निक्षेपकर्ताको एक खर्ब ५८ अर्ब निक्षेप संकलन, एक लाख ५६ हजार ऋणीलाई करिब एक खर्ब ७५ अर्ब कर्जा प्रवाह गरेको जानकारी दिए । 

उनले बैंकले करिब ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेको बताउँदै सुन कर्जा, सुन खरिद बिक्री, विदेशी मुद्रा खरिद बिक्री, लकर सेवा, प्रतितपत्र कारोवार, ट्रष्ट रिसिप्ट कर्जा, जमानत कारोवार, सेयरधितोमा कर्जा प्रदान गरिरहेको बताए ।

यस्तै बैंकले एटिएम सेवा, एसएमएस अलर्ट सेवा, भिजा कार्ड, मोबाईल बैंकिङ सेवा, एडिबिल रेमिट, आइपिएस सेवा तथा कनेक्ट आईपीएस, अनलाईन बैंकिङ खाता खोल्ने, आरटिजिएस, आस्बा, डिम्याट, इन्टरनेट बैकिङ्ग सेवा, फाईव ईन वन सेवा, क्यूआर टेलर सेवा, मोवाईल बैंकिङ्ग मार्फत युटिलिटी पेमेन्ट प्रदान गरिरहेको उपाध्यायले बताए ।

कृषि विकास बैंकले आफ्ना करिव तीन लाख शेयरधनीलाई २१ प्रतिशत प्रतिफल दिन सफल भएको स्मरण गर्दै उनले कुशल एवं प्रभावकारी बैंकिङ सेवा प्रवाहका माध्यमबाट उच्च गुणस्तरयुक्त सम्पत्तिको निरन्तर सिर्जना र त्यसबाट प्राप्त प्रतिफल बैंकका सबै हिस्सेदार समक्ष न्यायपूर्ण ढंगबाट वितरण गर्न आफूहरु लागेको बताए । 

Advertisement

Advertisement