मुनाफा हुने भए यो क्षेत्रमा ठूला व्यवसायिक घरानाहरूको पनि लगानी हुन्थ्यो होला !

भूपेन्द्र खड्का बुक–हिल पब्लिकेसनका संस्थापक अध्यक्ष हुन् । भाषा–साहित्यका विध्यार्थी उनी नेपालका प्रसिद्ध रेडियोकर्मी र गीतकारसमेत हुन् । उनले ५० वटा नेपाली सिनेमामा गीत लेखेका छन् । साथै उनका करिब ४०० जति गीत पनि रेकर्ड भएका छन् । गीति लेखनबाटै नेपालका प्रसिद्ध अवार्ड र सम्मान पाएका उनले ‘बुक–हिल पब्लिकेसन’मार्फत आख्यान र गैर्–आख्यान गरी करिब १०० पुस्तक प्रकाशन गरेका छन् । २०७१ सालमा स्थापना भएको बुकहिल देशको अग्रपंक्तिमा पर्ने प्रतिष्ठित प्रकाशन गृह बनेको छ । ७ वर्षको अवधिमा यसले आफ्नो प्रकाशनको विस्तार संयुक्त अधिराज्य (युके)बाट समेत सुरु गरेको छ । प्रस्तुत छ पुस्तक, प्रकाशन, कोरोनाको महामारीको असर र अन्य समसामयिक विषयमा उनीसँग गरेको कुराकानीः

१ पुस्तक प्रकाशन गर्नु, बेच्नु, सेवामूलक व्यवसाय हो कि नाफामूलक ? यसलाई कसरी बुझ्दा ठीक हुन्छ ?
व्यवसायिक प्रयोजनका लागि दर्ता भएर व्यापार गरेकोले झट्ट हेर्दा नाफामूलक व्यवसाय हो । व्यवसाय गरेपछि कुनै पनि व्यापारीले घाटाको व्यापार गर्दैन । तर संसारमा कतिपय यस्ता व्यवसायहरू पनि छन्, जसलाई व्यवसाय कम र सेवा बढी मात्रामा लिने गरिन्छ । पुस्तक प्रकाशन पनि त्यहीअन्तर्गत पर्दछ । ग्यान निर्माणको क्षेत्रमा यसले काम गरिरहेको हुनाले मुनाफाभन्दा पनि विवेकशील समाज निर्माणका लागि हेरिनुपर्छ । नाफामूलक व्यवसाय बन्नका लागि सयौँ वर्ष र त्यसको निरन्तरता हुनु जरुरी छ ।

पछिल्लो समय छापिएका पुस्तकहरू विद्यार्थीको मनोविज्ञान र शैक्षिक विकासभन्दा पनि कमाउनेतर्फ बढि केन्द्रित रहेको सत्य हो ?
मलाई लाग्छ, साहित्यले समकालीन समाजको चित्र उतार्ने हो । जहाँसम्म विध्यार्थीको मनोविज्ञानको सवाल छ, यसमा उमेर समूहको कुरा हुन्छ । कुन उमेरको व्यक्तिले के पढ्ने ? कस्तो साहित्य पढ्ने ? खासमा कुनै पनि साहित्य लेखन आफैँमा खराब होइन । त्यसलाई कसरी पढिन्छ ? कसरी व्यवहारिक रूपमा लिइन्छ ? भन्नेमा भर पर्छ । अझै विध्यार्थीको कुरा गर्दा अभिभावकको सवाल आउँछ । अभिभावकको ग्यान र चेतनाको सवाल आउँछ । घरमा पढ्ने बानीको विकास भएको वातावरण छ भने स्वभाविकरूपमा राम्रा किताबको छनौट गर्न अभिभावकले प्रेरित गर्छन् । आफूलाई कस्तो बनाउने भन्ने आफ्नै छनोटमा भर् पर्ने कुरा हो ।

कोरोना महामारीले पुस्तक प्रकाशनमा कस्तो प्रभाव पार्यो ? तपाईंहरूले के कस्ता समस्या भोग्नु पर्यो ?
कोरोना महामारीको तेस्रो–चौंथो भेरियन्टसम्म आइपुग्दा यो क्षेत्रमा पनि अरू क्षेत्रमा जस्तै प्रभाव पर्यो नै । फेरि यस्तो महामारीको अवस्थामा सबैका रोजगारी र आयअर्जन गुम्ने भएकोले हाम्रो क्षेत्र प्राथमिकतामा पर्दैन् । रोजीरोटीको सवाल आउँछ । पुस्तक पसलहरू बन्द भए । बजारमा बिक्री घट्यो । कोरोनाअघि १०औं हजारप्रति किताब बिक्री हुने लेखकका किताब २–३ हजारमा खुम्चिए । समग्र क्षेत्रलाई नै नकारात्मक प्रभाव पारेको छ नै । कोरोना अघिको समय र बजारमा फेरि फर्कनलाई १ दशक नै लाग्न सक्छ ।

प्रकाशकको हिसाबले हेर्दा यस क्षेत्रमा जोडिन चाहनेलाई कस्तो सन्देश छाड्न चाहानुहुन्छ ? सरकारले गर्नुपर्ने नीतिगत सहयोग केही छन् कि ?
मुनाफा कमाउँछु भनेर यो क्षेत्रमा आउनु त मुर्खता नै हो । त्यस्तो हुने भए त ठूलठूला व्यवसायिक घरानाले यो क्षेत्रमा लगानी गर्थे होला । खासमा भन्ने हो भने साहित्यको विकासका लागि सरकारले प्रज्ञा प्रतिष्ठान र सरकारी प्रकाशन गृहमार्फत धेरै काम गर्न सक्छ । हाम्रो भाषा, धर्म, संस्कृति, इतिहास, भूगोल, राजनीतिलगायतका विषयमा अझै खोज–अनुसन्धान हुन सकेको छैन् । तिनको लागि गरिनुपर्ने कामहरू निजी प्रकाशनगृहबाट सम्भव छैन् । अझै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने हो भने यसको अनुवाद हुनु जरुरी छ । त्यसको लागि पनि निजी क्षेत्रको प्रयासले खास काम गर्दैन । नीतिगतबाटै यसबारे सोचिनुपर्छ ।

यो क्षेत्रमा कहाँबाट आफ्नो यात्रा आरम्भ गर्नु भएको थियो ? आगामी दिनमा कहाँसम्म पुग्ने योजना छ ?
कुनै प्रकाशन गृहका निम्ति किताब लेखिरहेको थिएँ । ती प्रकाशकले समयमा किताब निकालिदिएनन् । त्यसपछि मैले साथीहरूसँग मिलेर प्रकाशन गृहको सुरुवात गरेको थिएँ २०७१ सालमा । पहिलो पुस्तक विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको ‘संसारलाई साढे पाँच फन्को’ भन्ने थियो, जुन नेपाली साहित्य बजारमा ५०औं हजार प्रति बिक्री भएर बेस्ट सेलर बन्यो । म साहित्यको विध्यार्थी भएकैले आफ्नो प्यासनका कारण पनि यो अवस्थामा आइपुग्न सहज भएको हो । नेपाली साहित्यलाई समृद्ध बनाउन सकभर राम्रा साहित्यिक किताब प्रकाशन गर्न मन छ । अन्तर्राष्ट्रिय बजारमा पुग्नका निम्ति हामीले हाम्रो प्रकाशन युकेबाट सुरु गरिसकेका छौँ । विभिन्न फर्म्याट र शैलीमा हाम्रा पुस्तक प्रकाशन हुने क्रममा छन् । नेपाली साहित्यका प्रतिष्ठित किताब अंग्रेजीमा अनुवाद गरी विश्व बजारमा पुर्याउने कामको पनि सुरुवात भैसकेको छ ।

व्यवसायिक हिसाबले हेर्दा प्रकाशनमा नाफाको अवस्था कस्तो छ ? मासिक वा वार्षिक रूपमा कतिको नाफा आर्जन हुँदै आएको छ ?
यो क्षेत्रमा कम्तिमा १० वर्ष लगानीको समय हुन्छ जस्तो मलाई लाग्छ । हामी मुनाफाको अवस्थामा पुगेका छैनौं । केवल लगानी गरिरहेका छौँ । नाफा हुने भए यो क्षेत्रमा देशका ठूला व्यवसायिक घरानाले पनि लगानी गर्थे होलान् ।

पुस्तकको क्षेत्रबाट राज्यलाई हुने आर्थिक योगदानको अवस्था कस्तो छ ?
पुस्तक क्षेत्रले राज्यलाई वार्षिकरूपमा करोडौँ रुपियाँ राजस्व तिरिरहेको छ । साथै, नागरिकलाई चेतनशील बनाउँदै ग्यान निर्माणको बाटोमा निरन्तर सहयोग गरिरहेछ । वास्तवमा साहित्य क्षेत्रमार्फत हाम्रो देशको मुहार देखिँदै आएको पनि छ ।