स्पेनिस ला लिगा: एट्लेटिकोले जित्दा सेभिया बराबरीमा रोकियो

Advertisement

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले पूनरागमन जित निकाल्दा दोस्रो स्थानको सेभिया बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३–२ गोलले हरायो । सेभियाले सेल्टा भिगोसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

एट्लेटिकोले दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै रोमाञ्चक जित निकालेको हो । एट्लेटिकोको जितमा म्याथिअस कुन्हा, एन्जल कोरेआ र मारियो हर्माेसोले गोल गरे । भ्योलन्सियाका युुनुस मुसाह र ह्युगो डुरोले गोल गरेका थिए ।

Advertisement

खेलमा सुरुवाती अग्रता भ्यालेन्सियाले लिएको थियो । २५औं मिनेटमा युनुस मुसाहले गोन्कालो गुइडेसको पासमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए । ४४औं मिनेटमा ह्युगो डुरोले टोनी लाटोको पासमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा खेलमा फर्किएको एट्लेटिकोले ६४औं मिनेटमा पहिलो गोल फर्काएको थियो । म्याथिअस कुन्हाले यान्निक कारास्कोको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा एन्जल कोरेआले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । लगत्यै मारियो हर्माेसोले म्याथिअस कुन्हाको पासमा गोल गर्दै एट्लेटिकोलाई रोमाञ्चक जित दिलाए ।

घरेलु मैदानमा ६५ प्रतिशत बल पोसेसन राख्दै भ्यालेन्सियालाई कडा दबाब दिएको एट्लेटिकोलाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । पहिलो हाफमा २–० ले पछि परेको एट्लेटिकोले अन्तिममा जित निकालेरै छाड्यो ।

एट्लेटिकोका एन्जल कोरेआ ‘म्यान अफ दिन म्याच’ भए । जितसँगै २१ खेलबाट ३६ अंक बनाएको एट्लेटिको चौथो स्थानमा यथावत छ । पराजित भ्यालेन्सिया २९ अंक सहित नवौं स्थानमा छ ।

यसैगरी अर्को खेलमा दोस्रो स्थानमा रहेको सेभियालाई उसैको मैदानमा रोक्न सेल्टा भिगोका फ्रान्को  सर्वीले ३७औं र इगो आसपासले ४०औं मिनेटमा गोल गरे । पहिलो हाफमै दुई गोलले पछि परेको सेभियाले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । ७१औं मिनेटमा पुपु गोमेजले गोल गर्दै सेभियालाई खेलमा फर्काउने प्रयास गरे । ओलिभर टोरेसले ७४औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि थप गोल नहुँदा सेभिया अंक बाँड्न बाध्य भयो । बराबरीसँगै दोस्रो स्थानमा यथावत रहेको सेभियाको २२ खेलबाट ४६ अंक छ । सेभिया शीर्षस्थानमा रहेको रियल म्याड्रिड भन्दा तीन अंकले पछाडी छ ।

एक खेल कम खेलेको रियलको ४९ अंक छ । सेभियालाई रोकेको सेल्टा भिगो २७ अंक सहित ११औं स्थानमा छ । ला लिगाकै अन्य खेलमा भिल्लारियलले मालोर्कालाई ३–० र काडिजले लिभान्तेलाई २–० गोलले पराजित गरेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement