परिमार्जनसहित आएको बाल बीमाको माग निकै बढ्यो, समिति भन्छ– आकर्षक प्रतिफलले नै हो

Advertisement

काठमाडौं । पछिल्लो समय बाल बीमामा निकै आकर्षण बढेको बीमा कम्पनीहरूले बताएका छन् । विकृति फैलिएको भन्दै बीमा समितिले अघिल्लो आर्थिक वर्षमा रोक लगाएको बाल बीमामा अहिले पुनः आकर्षण देखिएको हो । 

बीमा समितिका अध्यक्ष सूर्य सिलवालले विगतमा रोक्का गरिएको बाल बीमामा आवश्यक केही कुरा हेरफेर गरेर पुनः लागू गरिएको बताउँदै बाल बीमामा आकर्षण बढ्दो भनेर नै उक्त हेरफेर र सुधार गरिएको बताए । 

Advertisement

त्यस्तै, समितिका निर्देशक पुजन ढुंगेलले बाल बीमा तत्कालका लागि भन्दा पनि भविष्यमा आकर्षक प्रतिफल पाइने भएकाले आकर्षण थपिएको बताइन् । उनले कर्पोरेट नेपालसँग भनिन्, ‘हरेक प्रोडक्टको आ–आफ्नो विशेषता हुन्छ । बाल बीमा अहिले गर्दा भविष्यमा अभिभावक र बालबच्चा दुवैलाई सहयोगी हुने किसिमले निर्माण भएको हुन्छ ।’

यता एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मीप्रसाद (एलपी) दासले पछिल्ला केही दिनको तथ्यांक हेर्दा बाल बीमा पोलिसिको बिक्री दर राम्रो रहेको बताए । 

उनले भने, ‘पछिल्लो चार दिनमा मात्रै २५ सय वटा बाल बीमा पोलिसि बिक्री भएको छ । थोरै दिनमा पनि धेरै पोलिसि बिक्नुले ग्राहकले यो प्रोडक्ट आवश्यक ठानेका छन् भन्ने बुझ्न सकिन्छ ।’ 

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि बाल बीमा प्रोडक्ट राम्रै बेचिरहेको छ । उक्त कम्पनीका सीईओ सुरेश खत्रीले भने, ‘बाल बीमाको बिक्री राम्र्ै छ । मलाई प्राप्त तथ्यांक तुलना गर्दा बाल बीमातर्फ आकर्षण बढेको छ । यो बीमाको सम्बन्ध बालबालिकाको भविष्यसँग पनि जोडिने भएकाले पनि होला, अल्ली बढी आकर्षण बढेको ।’

यसअघि बीमा समितिले केही जिल्लामा बाल बीमाका कारण आपराधिक क्रियाकलाप घट्न पुगेको भन्दै बाल बीमा रोकेको थियो । बालबालिकाको बीमा गर्ने र  सो बीमावापत मोटो रकम दावी गर्न पाइन्छ भन्ने आपराधिक सोच बनाएर बालबालिकाको हत्यासम्म गर्ने घटना देखिन थालेपछि समितिले यो बीमा रोक्न बाध्य भएको थियो । 

यस्ता आपराधिक गतिविधि नहोस भन्ने ढंगले बीमा पोलिसिमा समितिले केही सुधार गरी पुनः बिक्री गर्न अनुमति दिएपछि अहिले जीवन बीमा कम्पनीहरुले बाल बीमा बिक्री गर्दै आएका छन् । बीमा क्षेत्रका जानकारहरुले हत्या गर्ने काम बाल बीमाले नभई आपराधिक मानसिकताले हो भन्दै अधिकांश अभिभावकले रूचाएको बाल बीमा बन्द गर्न नहुने सुझाव दिँदै आएका थिए । 

नेपाल लाइफ लगायतका कम्पनीले बाल बीमा खोल्न अनुरोध गरेसँगै समितिले केही शर्त तोकेर समितिले बाल बीमा पोलिसि बिक्री गर्न बाटो खोलिदिएको थियो । 

बाल बीमा गर्दा भविष्यमा बालबालिकाको शिक्षा, स्वास्थ्य, विवाह तथा अन्य आवश्यकतामा साथ दिने भएकाले समितिले बाल बीमा आवश्यक रहेको प्रतिक्रिया दिएको छ । समितिले बीमालाई नै आधार बनाएर कुनै आपराधिक क्रियाकलाप घटेमा सम्वन्धित व्यक्तिले नै जिम्मा लिनुपर्ने बताएको छ । 

बाल बीमामा बीमा गरेको केही दिनमा नै बालबालिकाको मृत्यु हुन पुगेमा बीमांक तत्कालै दिनुपर्ने व्यवस्था छ भने बोनस बीमा अवधि पूरा भएपछि मात्रै दिने व्यवस्था छ ।

Advertisement

Advertisement