‘म्यानपावर कम्पनी र दलाल अलपत्र पार्यो भने सिधै ९८२३३५६७०४ र ९८२३३५६७०६ मा फोन गर्नु’

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानूनबमोजिम कारबाही गर्ने दावी गरेका छन् । 

बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका उनले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानूनबमोजिम कारबाही गर्ने बताएका हुन् । 

Advertisement

श्रेष्ठले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरुले विभिन्न देशमा पु¥याई नेपाली युवाहरुलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरे । उनले ठगीमा परेकाहरुले आफ्ना गुनासोहरु सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन पनि आग्रह गरे । 

मन्त्री श्रेष्ठले दलालहरुबाट ठगिने क्रमलाई रोक्नका लागि मन्त्रालयले विभिन्न समयमा छड्के, अनुगमन, नयाँ–नयाँ गन्तव्यहरुको खोजी, श्रम सम्झौता र विभिन्न देशका कुटनीतिक नियोगहरुसँगको भेटघाटको क्रमलाई तीव्रता दिएको बताए । 

उनले दलालहरुले सरकारले प्रतिवन्ध गरेका देशहरुमा आकर्षक रोजगारी लगाइदिने भन्दै प्रलोभन देखाएर लाखौँ रुपियाँ ठगिरहेको भन्दै त्यसतर्फ सचेत भई यस्ता काम हुन नदिन मन्त्रालयमा सम्पर्क गरेर सहयोग गर्न पनि आग्रह गरे । 

मन्त्री श्रेष्ठले भने, ‘म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइसकेपछि श्रमिकहरुको हकहितको लागि असाध्यै जिम्मेवार तरिकाले लागेको छु । यसै सिलसिलामा हामीले विभिन्न छड्के अनुगमनदेखि लिएर विभिन्न नयाँ नयाँ गन्तव्यहरुको खोजी कार्यदेखि लिएर, श्रम सम्झौता गर्नेदेखि लिएर विभिन्न देशका कुटनीतिक नियोगदेखि सबैसँग भेटघाटको क्रमलाई तीव्र बनाएका छौँ ।’

उनले  यही क्रममा क्रममा केही दिनदेखि यूएईमा अलपत्र परेका कामदारहरुको विषयमा पनि सरकारको तर्फबाट गम्भीर ध्यानाकर्षण भएको भन्दै पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पु¥याई दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अफ्ठ्यारोमा परेको भनेर आफूलाई दिनहुँ कयाँै गुनासो आउने गरेको बताए । 

श्रेष्ठले भने, ‘विभिन्न सञ्चारमाध्यमबाट होस् वा मेरो आफ्नो मोबाइलमा फोन गरेर यी गुनासोहरु आउने गरेका छन् । नेपाली युवाहरु रोजगारी पाउने आशामा दलालहरुलाई लाखौँ रकम तिरेर भिजिट भिसामा जानेहरु ठगीमा पर्ने, अलपत्र पर्ने तथा सरकारले रोजगारीका लागि प्रतिवन्ध लगाएका मुलुकहरुमा लैजाने तथा मानव तस्कहरुको सञ्जालमा समेत पर्ने देखिएको छ ।’

आकर्षक रोजगारी लगाइदिने भन्दै भिजिट भिसामा यूएई पु¥याएर अलपत्र पार्ने काममा म्यानपावर कम्पनी, कन्सलटेन्सी, ट्राभल सञ्चालक र विभिन्न दलाल तथा विचौलियाहरु संलग्न रहेको भन्दै उनले उनीहरुबारे उजुरी पनि आएको बताए । वैदेशिक रोजगार ऐनविपरित भिजिट भिसाको रुपमा श्रमिकहरुलाई अलपत्र बनाउने नाममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको श्रेष्ठको भनाई छ । 

तत्काल यो समस्या समाधान गर्न र यसलाई कसरी निर्मुल बनाउन सकिन्छ ? भनेर गृह, परराष्ट्रसहितका मन्त्रालयका प्रतिनिधि सम्मिलित एउटा अधिकार सम्पन्न कार्यदल गठन गरिएको जानकारी दिँदै उनले यसरी अलपत्र पारेको, ठगीमा परेको, विविध समस्या तथा अप्ठ्यारोमा परेको भए त्यस्तो कार्यमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन उनीहरुबारे जानकारी गराईदिन पनि आग्रह गरे । 

श्रेष्ठले भने, ‘त्यसका लागि मेरो सचिवालयको मोबाइल नम्बर ९८२३३५६७०४ र ९८२३३५६७०६ मा सिधा सम्पर्क गरी गुनासा, आफूलाई परेका समस्याहरु, टिपाउन सक्नुहुनेछ । र अन्त्यमा प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानको लागि पनि हार्दिक आग्रह गर्दछु ।’

Advertisement

Advertisement