गणतन्त्र दिवसको दिन भारतीय दूतावासले छ करोड ३५ लाख नगद र कम्बल बाँड्यो

काठमाडौं । भारतको ७३औं गणतन्त्र दिवसको दिन बुधबार बिहान काठमाडौंस्थित भारतीय दूतावासले भारतीय गोर्खा सेनाका मृतक सैनिकको परिवारलाई छ करोड ३५ लाख रुपियाँ नगद र कब्बल वितरण गरेको छ । 

भारतीय दूतावासभित्र गणतन्त्र दिवस मनाउने क्रममा वीर नारी र मृतक सैनिकका नजिकका नातेदारलाई नगद र कम्बल वितरण गरेको हो । कार्यक्रममा भारतीय राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुका साथै भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । 

दूतावासले नेपालमा भारतको ७५ बर्ष मनाउन भारतीय सहयोगमा कार्यान्वयन भएका विभिन्न जिल्लामा ७५ वटा विकास परियोजना यसै बर्ष उद्घाटन गर्ने पनि जनाइएको छ । साथै, विभिन्न संस्था र स्थानीय निकायलाई ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्ने योजना पनि रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।