हाम्रो दलको राजनीतिले तरंग पैदा गरिरहेको छ, राष्ट्रियसभामा सबै सिट सत्ता गठवन्धनले जित्छ’

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधव नेपालले सत्तारुढ दलहरुबीच एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग बिस्तृत छलफल गरिरहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताए ।

नेता नेपालले बुधवार भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तरुढ गठबन्धनहरुले जित्ने दाबी पनि गरे । उनले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो दलको राजनीतिले तरंग पैदा गरिरहेको छ । अहिले हामी ५ दलीय गठबन्धनमा छौँ । ५ दलीय गठबन्धनका सबै दलहरु मिलेर राष्ट्रियसभाको चुनावमा हामीले १९ जना उम्मेदवार खडा गरेका छौँ । आजबाट खाली रहेका राष्ट्रियसभा सदस्यहरुको १९ सिटका लागि ९ बजेबाट मतदान शुरु भइसकेको छ । ३ बजेसम्म मतदान हुनेछ । र सातै वटा प्रदेशमा हुने चुनावमा हाम्रो पार्टीबाट ५ जनालाई उम्मेदवारी दिएका छौँ । मोआवादी ५ जना, काँग्रेस ६ जना, राष्ट्रिय जनमोर्चा १ र जनता समाजवादीको २ जना गरी यसरी हामीले उम्मेदवार तयार गरेका छौँ । ती उम्मेदवारहरुको आज फैसला पनि हुनेछ । हामीलाई आशा छ । १८ वटा स्थानमा हामी नै हामी विजयी हुनेछौँ । त्यो परिणामले पनि तरंग पैदा गर्नेछ ।’

नेता नेपालले स्थानीय निकायको निर्वाचनबारे बोल्दै भने, ‘तपाईंहरु सुनिरहनु भएको छ कि स्थानीय तहको चुनाव कहिले गर्ने, संघीय चुनाव कहिले गर्ने ? प्रदेशसभाको चुनाव कहिले गर्ने ? यस बारेमा व्यापक बहस भइरहेको छ । यो बहसको सन्दर्भमा हाम्रो धारणा संविधानलाई सर्वोपरि राखेर, कानून अनुरुप नै चुनाव सम्पन्न हुनुपर्छ । यसो गर्दा एकै पटकमा तीन वटा नै तहको निर्वाचन गर्न सकियो भने राम्रो हुन्छ । किनभने एउटा चुनाव गराउँदा झन्डै ५ अर्ब रुपियाँ खर्च हुन्छ । यो भन्दा पहिला ५ चरणमा चुनाव भएको थियो । त्यसमा झन्डै २५ अर्ब रुपियाँ खर्च भएको थियो । यदी एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्बमा चुनाव सकिन्छ । उम्मेदवारको पनि खर्च कम हुन्छ । त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ ।’

अध्यक्ष नेपालले राष्ट्रियसभाको १९ सिटको जितले अन्य तहको चुनावमा पनि तरंग पैदा गर्ने बताउनु भयो ।