नेप्से चार दिनमा १५५ अंकले घट्यो, सवा चार अर्बमा खुम्चियो कारोबार

Advertisement

काठमाडौँ । शेयर बजार निरन्तर घटिरहेको छ । गत साताको अन्तिम दिन विहीबार ३३ अंकले बजार उकालो थियो भने यो साता बजार निरन्तर ओरालो झर्ने क्रममा छ । चार दिनमा बजार १५५.३० अंकले तल झरेको छ । 

नेप्सेका अनुसार आज पनि बजार ३८.४५ अंकले घटेको हो । १.३७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७७६.६१ अंकमा झरेको छ । 

Advertisement

आज २३३ कम्पनीका ९३ लाख ५८ हजार ७ सय कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लख ५४ हजार ४२.१७ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार ओरालो लागिरहँदा आज सबै समूह राताम्मे भए । जीवन बीमा समूह सबैभन्दा बढी २९८.१७ अंकले घटेको हो । 

बजार घटेको दिन आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । आज पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ५.५९ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । अपिको १६ करोड ७७ लाख ५७ हजार ४ सय ३४.२० रुपियाँ बराबरको कारोबार भएको हो ।  

साताको पहिलो दिन १०.८३ अंकले बजार घट्दा ७ अर्ब ३ करोड ५ लाख ८ हजार २ सय ६२९७ रुपियाँ, दोस्रो दिन सोमबार १००.१० अंकले बजार घट्दा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७.५७ रुपियाँ र हिजो मंगलबार ५.९२ अंकले बजार घट्दा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७.०२ रुपियाँ बराबरको कारोबार भएको थियो । 

गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार थियो । 
 

Advertisement

Advertisement