बोनस दर निर्धारण गर्ने हक एक्चुरीलाई मात्रै हुन्छ, चलखेल संभव छैन्ः भोजराज शर्मा

Advertisement

काठमाडौं । बीमा विज्ञ भोजराज शर्माले बीमा कम्पनीहरूको बोनस दर निर्धारणमा एक्चुरीको मात्रै हात हुने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बोनस दर निर्धारणमा नियामक र कम्पनीले चलखेल गर्ने कुनै सम्भावना नरहने दाबी गरे ।

शर्मा भन्छन्, ‘बोनस भनेको एउटा शुद्ध एक्चुरियल कुरा हो । एक्चुरीले कम्पनीको सरप्लस लायबलिटि सबै निकालेपछि कम्पनीको भविष्यको जोखिमांकन गर्छन् । उनीहरूले गरेको जोखिमांकनको आधारमा नै कुनै पनि कम्पनीको बोनस दर निर्धारण हुन्छ ।’

Advertisement

एक्चुरीले प्रक्षेपण गर्ने बोनस दरमा बीमा कम्पनी र समितिले हेरफेर गर्न मिल्ने कुनै अवस्था नरहने उनको तर्क छ । बीमा कम्पनीले भविष्यमा कति जोखिम धारण गर्न सक्छन ? भन्ने आधार पत्ता लगाई सोहीअनुसार बोनस दर निर्धारण हुने शर्माले बताए ।

तर बोनस दर निर्धारणमा एउटा अंक गलत भएमा त्यसले बीमा कम्पनी आफै कमजोर हुने उनको भनाई छ । शर्माले कम्पनीले जानीजानी आफू कमजोर हुने काम नगर्ने दावी पनि गरे ।

कम्पनीले आगामी १० वर्ष, २० वर्षको जोखिमको अध्ययन गर्दै आफ्ना विभिन्न किसिमका रिजर्भ तयार गर्नुपर्छ । त्यसरी पैसा रिजर्भमा राखेपछि बाँकी रहेको सरप्लसबाट मात्रै बोनस निर्धारण हुन्छ । नब्बे प्रतिशत रकम पोलिसि होल्डरले पाउँछन् भने बाँकी रहेको १० प्रतिशत रकम शेयर लगानीकर्ताका लागि छुट्याइन्छ । खुद नाफाबाट कर, महाविपत्ति कोषका लागि पहिले छुट्याएर मात्रै बोनस दरको निर्धारण हुने उनले बताए ।

निर्जीवन बीमाभन्दा जीवन बीमामा त्यस्ता प्रोभिजन अझ बढि अनिवार्य राख्नुपर्ने उनले बताए । शर्माका अनुसार जीवन बीमाको विभिन्न कोष बढ्दै जाँदा बीमितले पाउने बोनस पनि राम्रो हुँदै जान्छ । बोनस दर निर्धारणमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको बीमा अभिकर्ताका अगुवाहरुले दावी गर्दै आएको बेला शर्माको फरक भनाई आएको हो ।

विज्ञ शर्माले बोनस दरमा चलखेल हुने कुरा कुनै पनि हालतमा सत्य नरहने भन्दै बोनस आफैमा प्राविधिक विषय भएकाले सही बोनस दर घोषणा गर्नको लागि बीमा कम्पनीले नै ठूलो लगानी गर्ने बताउँछन् । बीमा समिति र कम्पनी दुवैको एक्चुरीमार्फत काम हुने भएकाले त्यसका कुनै शंका मान्नु नपर्ने उनले बताए ।

नेपाल बाहिरका एक्चुरीले कडा नियम कानुनका साथ हेर्ने भएकाले बोनस निर्धाण त्यति धेरै सहजै हेरफेर नहुने उनले बताए । शर्माले नियामकले त्यसरी बोनसमा चलखेल गर्न नमिल्ने प्रतिक्रिया बताए ।

कुनै फण्डमा कसैले केही चलखेल गरेको छ भने त्यसलाई बोनसमा नै चलखेल भएकोे हिसाबले भन्न नहुने भन्दै शर्माले उदाहरणसहित भने, ‘बीमा समितिले बीमा कम्पनीलाई कुनै आकर्षक गिफ्ट नलिनु भन्ने निर्देशन दियो भने बजारमा यति धेरै कम्पनी छन्। अब कुनै कम्पनीको एउटा शाखामा कसैले सानो गिफ्ट दियो भने त्यसले नै पूरा बीमा बजार नै ध्वस्त बनायो भन्न त मिल्दैन् ।’

Advertisement

Advertisement