एमाले जस्तो पार्टीले संसद अवरोध गर्न हुँदैन्ः सरकारका प्रवक्ता

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै सबै तहको निर्वाचन सम्पन्न गर्ने बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका कार्कीले बुधबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा संविधानमा व्यवस्था भएअनुसार नै स्थानीय तह, प्रदेश र संघको निर्वाचन हुने भन्दै संविधानमा व्यवस्था भए अनुसार सबै तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार लागिरहेको बताए ।

Advertisement

निर्वाचनका सम्वन्धमा बाझिएका कानुनहरु संशोधनका लागि कानुनविद्हरुसँग छलफल गरिसकेको पनि उनले बताए । कार्कीले संविधानले परिकल्पना गरेअनुसार नै स्थानीय तहलाई अझ बढि प्रभावकारी बनाउने गरी अघि बढन वर्तमान सरकार प्रतिवद्ध रहेको बताए ।

उनले भने, ‘स्थानीय निर्वाचनको हकमा, जसलाई हामी स्थानीय सरकार पनि भन्छौं । त्यो स्थानीय सरकारको हामीले परिकल्पना गरेका छौं । र मैले पहिला पनि भनेको छु र म फेरि पनि भन्न चाहन्छु– सिंहदरवारको अधिकार र सिंहदरवारले प्रदान गर्ने सेवा र सुविधा स्थानीय तहमै पु¥याउने जुन परिकल्पना संविधानले गरेको छ, त्यसलाई अझ प्रभावकारी बनाउने दिशामा यो सरकार प्रतिवद्ध छ । र सरकारले संविधानमा व्यवस्था भए अनुसार स्थानीय निर्वाचनको व्यवस्था गर्नेछ ।’

हाम्रो संविधान र कानुनमा केही अन्तरद्वन्द्वहरु देखिएका छन् भन्दै कार्कीले त्यसले केही द्विविधाहरु ल्याएको स्वीकार गरे । उनले भने, ‘यसमा केही दिन अगाडि सम्माननीय प्रधानमन्त्रीजीकै अध्यक्षतामा बसेको पाँच दलीय उच्च राजनीतिक संयन्त्रमा कानुनविद्हरुको पनि परामर्श भएको छ । उहाँहरुले पनि संविधान र कानुनसँग बाझिएको हदसम्मका जुन व्यवस्था छ, त्यसमा संविधान नै मान्यता प्राप्त हुने स्थापित मान्यता भएको हुनाले संविधानबमोजिम कानुनलाई हामीले मिलाएर अगाडि बढाउने उहाँहरुको सल्लाह छ । यसबारेमा छलफल चलिराखेको छ । म यहाँहरुलाई सरकारको तर्फबाट स्पष्ट गर्न चाहन्छु कि हामी संविधानले व्यवस्था गरे अनुसार नै स्थानीय सरकारको, प्रदेश सरकारको र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेछांै ।’

मन्त्री कार्कीले संसद अवरुद्ध नपार्न पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई आग्रह गरे । उनले एमालेजस्तो प्रजातन्त्रमाथि विश्वास गर्ने पार्टीले जनताको सार्वभौम अधिकार प्रयोग गर्ने थलो संसदलाई अवरुद्ध पार्न नहुने बताए ।

Advertisement

Advertisement