राज्यको पक्षपातपूर्ण नीतिः चिनियाँ लगानीका सिमेन्ट उद्योगलाई विशेष संरक्षण, स्वदेशीलाई अंकुश

Advertisement

काठमाडौं । स्वदेशी लगानीका सिमेन्ट उद्योगहरुबाटै मुलुक सिमेन्टमा आत्मनिर्भर हुँदै गएको बेला सरकारले चिनियाँ ‘जायन्ट’हरुलाई नेपालमा सिमेन्ट उद्योगमा लगानी गर्न ढोका खोलिदियो । 

सरकारले चिनियाँ लगानीका ह्वाङसी शिवम र हुवासिन सिमेन्टलाई लगानी गर्न मात्रै दिएन, उनीहरुलाई विशेष संरक्षणसमेत प्रदान गर्दै आएको छ । तर नेपालमै संघर्ष गरेर व्यवसाय गर्दै सिमेन्ट उद्योग खोलेका स्वदेशी व्यवसायीहरु भने यतिबेला एकपछि अर्को चुनौतिको सामना गर्दैछन् । 

Advertisement

ह्वाङसी शिवम र हुवासिनले ठूलो परिमाणमा सिमेन्ट उत्पादन गरेर सस्तो मूल्यमा बिक्री गर्न थालेपछि स्वदेशी लगानीका सिमेन्ट उद्योगहरुलाई प्रतिस्पर्धा गर्न चुनौति बनेको छ । चिनियाँ लगानीका उद्योगहरु थपिँदा प्रतिस्पर्धा भई मूल्य सस्तो हुने बाहिर अडकल गरिए पनि परिस्थिति त्यस्तो छैन् । 

चिनियाँ लगानीका सिमेन्ट उद्योगहरुको एकाधिकार र चलखेल बढ्दै गएको छ । चिनियाँ लगानी तथा ठेक्काका परियोजनामा तिनै चिनियाँ सिमेन्ट उद्योगको मात्रै उत्पादन प्रयोग हुन्छ भने नेपाली लगानीका परियोजनामा पनि उनीहरु नै हावी हुन थालेका छन् आम उपभोक्तासम्म पनि चिनियाँ लगानीका सिमेन्टहरुले आफ्नो बिक्रीलाई तीब्रता दिएका छन् जसले गर्दा स्वदेशी लगानीका सिमेन्ट उद्योगहरु मुकदर्शक बन्नुपरेको छ । 

एक स्वदेशी सिमेन्ट उद्योगीले भने, ‘उहाँहरुलाई राज्यको विशेष संरक्षण छ । उनीहरुले माइनिङ स्किमअनुसार खानी खन्दा पनि हुन्छ । नखन्दा पनि हुन्छ । सरकारको मापदण्ड पालना गरे पनि हुन्छ । नगरे पनि हुन्छ । हामीले अलिकित तलमाथि गर्यौं भने अख्तियार नै लगाएर हुँदैनभएको नियमकानुनका आधारमा मुद्दा हालिन्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ वटा स्वदेशी सिमेन्ट उद्योगविरुद्ध विशेष अदालतमा दर्ता गएको एक अर्ब २४ करोड रुपियाँभन्दा बढीको मुद्दामा चिनियाँ लगानीका सिमेन्ट उद्योगको हात हुनसक्ने शंका गरे । 

स्वदेशी लगानीका सिमेन्ट उद्योग सबै धरासायी गर्न सकिए एकलोटी गर्न सकिनेमा ह्वाङसी शिवम र हुवासिन सिमेन्ट पहिलेदेखि नै रहेको देखिन्छ भन्दै उनले उनीहरुको संरक्षणमा चिनियाँ दूतावास आफै सक्रिय हुने तर नेपाली लगानीका सिमेन्ट उद्योगको संरक्षणको सट्टा सिध्याउन नेपालको राज्य संयन्त्र आफै सक्रिय रहनु साह्रै चिन्ताको विषय भएको गुनासो गरे । 

चिनियाँ लगानीका दुई सिमेन्ट उद्योगमा चिनियाँ लगानी भनिए पनि अर्बौं रुपियाँ नेपाली बैंकले ऋण लगानी गरेका छन् । तर उनीहरुले धेरैभन्दा धेरै नेपालीलाई रोजगारी दिने, संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर०मा आवश्यक खर्च गर्ने, नेपालको मिडिया उद्योगमा विज्ञापन गर्न खर्च गर्ने भन्दा पनि धेरैभन्दा धेरै नाफा लैजानमै बढी केन्द्रीत देखिन्छन् । 

जति आउने आए, अब विदेशी लगानी बन्द हुनुपर्छः थापा
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले सिमेन्टमा विदेशी लगानी आवश्यक छैन भन्दाभन्दै पनि चिनियाँ लगानीका उद्योगहरु खोल्न दिइएको बताए । उनले भने, ‘जति आउनु आए । आइसकेकाको विरोध के गर्नु । अब पूर्णरुपमा बन्द हुनुपर्छ ।’

थापाले स्वदेशी लगानीका सिमेन्ट उद्योगलाई निरुत्साहित गर्नेगरी गैरकानुनीरुपमा दर्ता गरिएको मुद्दाका विषयमा छलफल गर्न अर्थमन्त्रीसँग भेट्ने तयारी भइरहेको बताउँदै चिनियाँ लगानीका सिमेन्ट उद्योगलाई विशेष संरक्षण गर्ने र स्वदेशीलाई पक्षपात गर्ने काम बन्द गर्नुपर्ने बताए । 

उनले भने, ‘सबैलाई इक्वेल लेबर प्लेइङ ग्राउण्ड हुनुपर्छ । स्वदेशीको घाँटी निमोठ्ने, विदेशी लगानी भन्दैमा उसलाई विशेष संरक्षण र सुविधा दिने कुरा राम्रो होइन् । सबैलाई समान व्यवहार गर्नुपर्छ ।’ 

Advertisement

Advertisement