घ्यू तेलको मूल्य २१ प्रतिशतभन्दा धेरैले बढ्यो, दाल र गेडागुडीको नौ प्रतिशतभन्दा बढी

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा मूल्यवृद्धि बढेर पाँच दशमलव ६५ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको पुससम्मको मुलुकको आर्थिक अवस्थामा मूल्यवृद्धि बढेर पाँच दशमलव ६५ प्रतिशत पुगेको हो । गत बर्ष सोही अवधिमा यस्तो मूल्यवृद्धि तीन दशमलव ५६ प्रतिशत मात्रै थियो । 

पुसमा सबैभन्दा बढी ध्यू र तेलको मूल्य बढेको छ । खाने तेलको मूल्य २१ दशमलव २२ प्रतिशतले बढेको छ भने दाल र गेडागुडीको मूल्य नौ दशमलव २२ प्रतिशतले बढेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि चार दशमलव ९२ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि छ दशमलव २३ प्रतिशत छ । 

Advertisement

विशेषगरी पेट्रोलियम पदार्थमा भएको उच्च मूल्यवृद्धिले गर्दा पनि खाद्यान्नको मूल्यवृद्धिमा भूमिका खेलेको हो । व्यवसायीले भने खाने तेलको कच्च पदार्थ आयातमै मूल्यवद्धि भएकाले नेपालमा पनि भाउ बढेको दावी गर्दै आएका छन् । 

समीक्षा अवधिमा काठमाडौं उपत्यकाको मूल्यवृद्धि पाँच दशमलव २८ प्रतिशत छ भने तराईको छ दशमलव १५ प्रतिशत, पहाडको पाँच दशमलव ३४ प्रतिशत र हिमालको पाँच दशमलव २२ प्रतिशत रहेको छ । यी सबै क्षेत्रमा गत बर्ष पुसमा पाँच प्रतिशत मूल्यवृद्धि कतै पनि पुगेको थिएन् । 

समीक्षा अवधिको थोक मुद्रास्फीति आठ दशमलव ०८ प्रतिशत छ । अघिल्लो बर्ष सोही अवधिमा जम्मा छ दशमलव १८ प्रतिशत थियो । 

Advertisement

Advertisement