व्यापार घाटा ४६.६ प्रतिशतले बढ्यो, छ महिनामै १० खर्बको आयात, भारतमाथि निर्भरता बढ्दो

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६ दशमलव छ प्रतिशतले बढेको छ । यस अवधिमा व्यापार घाटा आठ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । गत बर्ष सोही अवधिमा यस्तो घाटा पाँच दशमलव आठ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा निर्यातको तुलनामा आयात ११ दशमलव ९ प्रतिशत बढि हुन पुगेको छ । यस अवधिमा कुल आयात ५१ दशमलव एक प्रतिशतले बढेर नौ खर्ब ९९ अर्ब ३४ करोड रुपियाँ पुगेको छ । अघिल्लो बर्ष सोही अवधिमा यस्तो आयात चार दशमलव आठ प्रतिशतले घटेको थियो । यस अवधिमा भारतबाट भइरहेको आयातमा ३७ दशमलव पाँच प्रतिशतले, चीनबाट भइरहेको आयातमा ५१ दशमलव पाँच प्रतिशत र अन्य मुलुकबाट भइरहेको आयातमा ९८ दशमलव दुई प्रतिशतले बढेको छ । 

Advertisement

भारतमा नेपालको सबैभन्दा ठूलो व्यापार निर्भरता छ । गत बर्ष चीनतर्फबाट खासै धेरै सामान नआएकाले यस बर्ष त्यसतर्फबाट भएको आयातमा केही बढी देखिएको हो । समीक्षा अवधिमा आयात वृद्धिमा सबैभन्दा ठूलो भूमिका पेट्रोलियम पदार्थले खेलेको छ । त्यस्तै, औषधि, पाम तेल, यातायातका साधन तथा पार्टपुर्जाको पनि ठूलै भूमिका छ । 

सोही अवधिमा कुल वस्तु निर्यात ९५ दशमलव पाँच प्रतिशतले बढेर एक खर्ब १८ अर्ब ८५ करोड पुगेको छ । यद्यपि आयातमा उच्च वृद्धि भएकाले निर्यातमा वृद्धि हुँदा पनि यसको आकार न्यून छ । अघिल्लो बर्ष सोही अवधिमा यस्तो निर्यात छ दशमलव एक प्रतिशतले बढेको थियो । निर्यातको तुलनामा आयात उच्च भई नेपालको बैंकिङ क्षेत्रमा तरलता संकुचनको अवस्था सिर्जना भएपछि राष्ट्र बैंकले आयातमा केही कडाईसमेत गरेको अवस्था छ । 
 

Advertisement

Advertisement