नेपाल टेलिकमको आम्दानी ८.३६ प्रतिशतले वृद्धि, कोभिडपछि गुणस्तर बढेको दावी

Advertisement

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म सञ्चालन आय एक अर्ब ४८ करोडले बढाउन सफल भएको छ । कम्पनीको गत बर्ष सोही अवधिमा १७ अर्ब ७२ करोड रुपियाँ कुल सञ्चालन आय गरेकोमा यस बर्ष सोही अवधिमा ८.३६ प्रतिशतले वृद्धि गरी १९ अर्ब २० करोड रुपियाँ पुर्याउन सफल भएको छ ।

त्यस्तै, कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन अर्ब २८ करोड रुपियाँ खुद मुनाफा गरेकोमा यस बर्ष सोही वअधिमा तीन अर्ब ८९ करोड रुपियाँ बनाउन सफल भएको छ । कम्पनीको अर्निङ विफोर इन्ट्रेष्ट (इबिआईटीडीए) गत पुससम्म आठ अर्ब ६१ करोड रुपियाँ रहेकोमा सोही अवधिमा यो बर्ष नौ अर्ब ३८ करोड रुपियाँ पुगेको छ । 

Advertisement

टेलिकमले दोस्रो त्रैमासमा आफ्नो वित्तिय अवस्था सकारात्मक रहेको जनाएको छ । सकारात्मक हुनुमा फोरजी आयोजनाको कार्यान्वयनबाट मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुनु हो । 

त्यस्तै, टूजी र थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत पहुँच विस्तार गरिएको कारणले पनि ग्राहक संख्या बढ्न पुगेको र सूचक सकारात्मक बन्न सहयोग पुगेको कम्पनीको भनाई छ । 

टेलिकमले एफटीटीएच सेवामा पनि ग्राहकको आकर्षण बढेको र इन्टरनेट तथा टेलिफोन सेवाका आईपिटीभीका ग्राहकहरु बढेर फिक्ड नेटवर्कबाट हुने आय पनि सकारात्मक देखिएको जनाएको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को खोपले मानिसहरुमा सकारात्मक प्रभाव पर्दा आफ्नो व्यवसायमा पनि सहजता आएको भन्दै कम्पनीले कोरोना महामारीलाई लक्षित गरी टेलिकमले कम मूल्यमा डाटा प्याकेज उपलब्ध गराएको, त्यसबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहे पनि सेवाहरुको गुणस्तर अभिवृद्धि हुँदा ग्राहकको आकर्षण वृद्धि भएको तर्क गरेको छ । 

कोरोना महामारीले अन्तर्राष्ट्रिय यात्रा असहज हुँदा अन्तर्राष्ट्रिय कल घटे पनि नेपालमा संचालित अनलाईन कक्षा, घरबाटै गरिने व्यवसायीक कामले आफ्ना सूचकहरुमा सकारात्मक संकेत देखिएको टेलिकमले जानकारी दिएको छ । 

Advertisement

Advertisement