देउवाको निर्माण व्यवसायीलाई सल्लाह– एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्ने हिम्मत गर्नुस्

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारणसभा उद्घाटनमा उनले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताए । 

उनले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन हिम्मत गर्न आग्रह गरे । अमेरिकी कानूनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेण्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने देउवाको भनाई छ । 

Advertisement

नेपाल प्रतिस्पर्धामा भाग लिएर सफल भए नेपालीहरु खुशी हुने उनले ,बताए । देउवाले भने– ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेण्डर हुन्छ । नेपालकाले पनि हिम्मत गरे हुन्छ यो । यो एमसीसीको बिडिङमा सफल हुनुस् । सबभन्दा पहिले हामी खुशी हुनेछौँ । अन्तर्राष्ट्रिय विडिङ हुने हुनाले अमेरिकालाई बाध्यता छ अमेरिकन कानूनले अन्तर्राष्ट्रिय विडिङ गराउनुपर्ने हुनाले जुनसुकै मुलुकका पनि यसमा आउन सक्छन् । चीनका होस् । भारतको होउन् । नेपालकै हुन सक्छन् ।’

प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताए । निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखिएका समस्याहरुको नीतिगत, कानूनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताए । 

निर्माण व्यवसायलाई अझै व्यवसायिक र प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको उनले बताए । प्रधानमन्त्री देउवाले भने,  ‘निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिवद्ध छ । मुलुकमा कृषि पछि सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने निर्माण क्षेत्रको स्वच्छ र प्रतिस्पर्धी बिकासबाट मुलुकको दु्रत आर्थिक विकास सम्भव हुने कुरालाई मध्यनजर गरी यस क्षेत्रमा देखिएका समस्याहरुको नीतिगत, कानूनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक छ ।’

देउवाँले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने बताए । उनले निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि, तथा निर्माण सामग्रीहरुको आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिए । देउवाले भने, ‘पूर्वाधार लगायतका निर्माण क्षेत्रमा गरिने खर्चलाई दिर्घकालीन रुपमा अनुमोदन गराउनका लागि, अनुमानयोग्य बनाउनका लागि साथै बजेटलाई पनि समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता छ । निर्माण व्यवसायीहरुको मौद्रिक क्षमताले मुलुकको विकास योजना मात्रै सबै सपना पुरा गर्न सम्भव नदेखिएकोले बदलिदो समय अनुसार निर्माण व्यवसायीको क्षमता अभिवृद्धि, आधुनिकीकरण, यान्त्रिकीकरणका लागि जोड दिनुपर्दछ । यो व्यवसायमा पूर्ण प्रतिस्पर्धाको स्थिति सिर्जना गर्नु आवश्यक छ ।’

Advertisement

Advertisement