अनधिकृतरुपमा सय एमबीपीएसभन्दा बढी क्षमताको इन्टरनेट प्याकेज बिक्री गर्दै आईएसपीहरु

Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले अनधिकृतरुपमा सय एमवीपीएसभन्दा बढी क्षमताको इन्टरनेट प्याकेज बिक्री गर्दै आएको देखिएको छ । 

आईएसपीहरुले अहिले प्रयोग गर्दै आएको ओएनयू (फाइभजी राउटर)बाट सय एमबीपीएसभन्दा बढी क्षमताको इन्टरनेट बिक्री गर्न नसकिने भन्दै पनि कम्पनीहरुले अनधिकृतरुपमा सय एमबीपीएसभन्दा बढीको इन्टरनेट प्याकेज प्रवद्र्धन गर्दै आएका छन् । 

Advertisement

तर डिशहोमले प्रयोग गर्दै आएको ह्वावेका राउटरले हजार एमबीपीएसभन्दा बढी क्षमताको इन्टरनेट धान्ने भएकाले उसलाई भने तीन सय र छ सय एमबीपीएसको प्याकेज बिक्री गर्न अनुमति दिइएको नेपाल दूरसञ्चार प्राधिकरण स्रोतले बतायो । तर प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले भने डिशहोमलाई मात्रै बढी क्षमताको प्याकेज बिक्रीको अनुमति दिएको बारे अनविज्ञता प्रकट गरे । उनले कसैलाई पनि सय एमबीपीएसभन्दा बढी क्षमताको इन्टरनेट बिक्री नगर्न भनिसकेको बताउँदै अटेर गरे कारवाही गर्ने बताए । 

डिशहोमका बिक्री महाप्रवन्धक रमेश सापकोटाले पनि आफूहरुलाई मात्रै सय एमबीपीएसभन्दा बढी क्षमताको प्याकेज बिक्री गर्न प्राधिकरणले लिखितरुपमा नै अनुमति दिए पनि अरुलाई नदिएको बताउँदै यस विषयमा प्राधिकरणले केही दिन अघि सबै आईएसपीहरुलाई बोलाएर पनि सचेत गराइसकेको बताए । 

प्राधिकरण स्रोतले अहिले आईएसपीहरुले बिक्री गर्ने फाइभजी राउटरले सय एमबीपीएसभन्दा बढी इन्टरनेट नधान्ने भएकाले ग्राहकलाई बढी क्षमताको प्याकेज बिक्री गरेर ठगी गर्ने काम कसैले पनि गर्न नमिल्ने बतायो । बजारमा कतिपयले हजार एमबीपीएसको समेत कुरा गर्ने र प्रोमोशन गर्ने काम गरिरहेको देखेकाले सबै आईएसपीलाई बोलाएर कुरा गरिएको बताउँदै उनले अटेर गरिए कारवाही हुने बताए । 

प्रवक्ता पौडेलले सय एमबीपीएसभन्दा बढी क्षमताको प्याकेज स्वीकृतिका लागि आईएसपीहरुले पठाएको तर आफूहरुले स्वीकृति नदिईकन थप प्रश्नहरु गरेको बताउँदै प्रश्नमा राउटरको अवस्था, दररेटको आधार, ब्याण्डविथको अन्तर्राष्ट्रिय अवस्थाहरुबारे सोधिएको तर जवाफ नआएको बताए । 

यता डिशहोमले आफ्नो ओएनयू (अप्टिकल नेटवर्क युनिट) सिक्सजी राउटरका लागि प्राधिकरणबाट अनुमति पनि लिएकाले तीन सय र छ सय एमबीपीएस क्षमताको इन्टरनेट प्याकेज बिक्री गर्न रोक नलागेको बताएको छ । 

सापकोटाले भने, ‘हामीले प्राधिकरणको स्वीकृति पनि लिएको र ह्वावेबाट सिधै आयात पनि गरेकाले प्राधिकरणले रोक नलगाएको हो । डिशहोमको राउटरले हजार एमबीपीएस अर्थात एक जीवीसम्मको प्याकेज सर्पोट गर्नसक्छ ।’ उनले आईएसपीहरुलाई बोलाएको छलफलमा पनि डिशहोमको राउटरले मात्रै सय एमबीपीएसभन्दा बढीको इन्टरनेट सर्पोट गर्ने, अरुकोले नगर्ने विषयमा कुरा भएको र आफूहरुको ओएनयूकै आधारमा प्राधिकरणले स्वीकृति पनि दिएको बताए । 

Advertisement

Advertisement