चो ओयुको शिखर चुम्ने बेला फर्किनुपर्यो, पाकेको खाना छोडेर हिंडे जस्तो भयोः शेर्पा

Advertisement

काठमाडौं । नेपाल तर्फबाट पहिलो पटक चो ओयु (८,१६८ मिटर) हिमालको आरोहण गर्ने प्रयास खराब मौसमका कारण रद्द भयो । खराब मौसमसँगै विन्टर एक्सपिडिसनको समय पनि सक्किएकाले आरोहण रद्द गर्नुपरेको सहभागी टोलीले बताउँदै आएको छ । 

आरोही टोली आधार शिविर हुँर्दै ७,९०० मिटर उचाइसम्म पुगे पनि खराब मौसमका कारण शिखर चुम्न भने सकेनन् । आरोहरणमा दुई वटा टोली सहभागी थिए । टोलीमध्ये ‘चो ओयु विन्टर नेपाल एक्सपिडिसन प्रजेक्ट’ आधार शिविर हुर्दै ७,९०० मिटर उचाइसम्म पुग्यो । त्यस्तै, पायोनियर एडभेन्चर ट्रेक्सको अर्को आरोही टोली ७,६५० को उचाइसम्म पुग्यो ।   तर शिखर चुम्न दुवैले सकेन् । 

Advertisement

‘चो ओयु विन्टर नेपाल एक्स्पडिसन प्रजेक्ट’ टोलीमा आरोही गाइड गेल्जेन शेर्पा, टासी शेर्पा, लाक्पा देण्डी शेर्पा, पेम तेन्जी शेर्पा, तेन्जीङ गेल्जेन शेर्पा, गेसमान तामाङ, विवस शेर्पा, कर्मा शेर्पा, फुरी कितार शेर्पा र पेम्बा दोर्जी शेर्पा थिए भने पायोनियर एडभेन्चर ट्रेक्सको टोलीमा आरोही गाइड मिङ्मा दोर्ची शेर्पा, पेम्बा ओङ्छु शेर्पा, पासाङ तेन्जी शेर्पा, मिग्मा दोर्ची शेर्पा, लाक्पा तेन्दु शेर्पा, फुर्वा कुसाङ शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, पासाङ दोर्जे शेर्पा, कामिरिता शेर्पा, दुक्पा छिरि शेर्पा, ल्हाक्पा गेलु शेर्पा थिए ।

राष्ट्रका लागि करौडौं आम्दानी गर्ने र आफ्नो ज्यान जोखिममा राखेर हिमाल आरोहण गर्ने आरोही शेर्पाहरूको भविष्यका बारेमा  सरकार र सरोकारवाला संघसंस्था भने गम्भीर हुन सकेको उनीहरुले गुनासो गर्दै आएका छन् । विश्व कीर्तिमानी आरोही लाक्पा देण्डी शेर्पा हिमालमा रगत , पसिना र समय लगानी गर्ने आरोहीहरूको अवकाश जीवन सुरक्षित नरहेको बताउँछन् । उनीसँग चो ओयु हिमाल आरोहण असफलको अनुभवबारे कर्पोरेट नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानी अंश । 

पहिलो पटक नेपालतर्फबाट चो ओयु हिमालको आरोहणका लागि जानुभयो ? के–कस्तो रहयो यात्रा ?
दुई तीन चोटी खराब मौसमका कारण फ्लाइटहरु अवरुद्द भयो । त्यसपछि हामी एयरपोर्टबाट सिधै गाडीमा जनवरी २६ तारिकमा बेस क्याम्पतर्फ लाग्यौं  र फेब्रुअरी १ मा हामी बेस क्याम्प पुग्यौं। त्यहा पुजा गरेर फेब्रुअरी २१ मा समिट गर्ने योजना गरेका थियौं । १४ दिनपछि चो ओयु हिमालको आरोहण गरिसक्ने योजना बनाए पनि २१ तारिखको बेलुकी १–२ बजेपछि तीब्र गतिमा हावा (जेट विन्ड्) आउने मौसम रिपोर्टले जनायो ।  त्यसपछि हामी आरोही टिमहरु फर्केर बेस क्याम्प आयौं । जेट विन्ड यति तीब्र गतिमा आउँछ कि, मान्छे नै उडाउँछ । 

यसअघि चीनतर्फबाट मात्रै हुँदै आएको चोयु हिमालको आरोहण नेपालतर्फबाट पहिलो पटक आरोहण र रुट निर्माण गर्न जाँदा कस्तो चुनौतीहरु भौग्नु पर्यो ?
नयाँ रुटमा पहिलो त ग्लेसरमा रुट पहिचान र खोजी गर्न पारी पुग्न हामीलाई पाँच घण्टा जति लाग्यो । त्यसपछि त्यही रुट हुदै तीन घण्टा लाग्यो । पहिलो पटकमा त यता र उता ग्लेसियरमा बाटो खोज्नैमा बित्यो । त्यसपछि ग्लेसियर पार गरेपछि २ घण्टाको  हिडाईपछि माथि भित्तामा क्याम्प १ पोइन्ट हुन्छ । त्यहाँबाट डोरी टाँगेर १२ सय जति मिटर लागेपछि क्याम्प १ पुगिन्छ । त्यसपछि त्यहाँबाट क्याम्प १ देखि अलिमाथि ह्यकिङ छ । त्यसपछि क्याम्प २ मा डोरी नै चाहिँदैन । ठूलो चौर छ । त्यहाँबाट क्याम्प ३ पुग्न एक हजार चार सय मिटर जति लाग्यो । क्याम्प ३ मा अलि पहिरो आइरहने रहेछ । अलिक डर लाग्दो नै छ । क्याम्प ३ बाट पनि सात हजार नौ सय मिटरसम्म हामीले अल्ली तेर्सोमा पहिलो दिनमै आठ सय मिटर डोरी टाग्यौं । त्यसपछि भोलि पल्ट एक हजार दुई सय मिटर डोरी टाँग्यौं । क्याम्प तीनबाट सात हजार नौ सय मिटर पुग्न २८ मिटर डोरी टाँग्नु पर्यो।

फेब्रुअरी २१ मा पहिलो पटक प्रयास गर्दा हामी सात हजार सात सय मिटरसम्म पुग्न सफल भएका थियौं। बेलुकी भएपछि मौसम खराब हुने भएपछि शिखर पुगेर त के गर्नु ? भनेर हामी आरोही टिम फकियौं । त्यसपछि बेस क्याम्प आएर केही दिन बास बस्यौं । मौसम नै खुलेन । त्यसपछि त मौसम फेब्रुअरी २८ मा मात्र राम्रो भयो । हामी २६ फेब्रुअरीमा बेस क्याम्पबाट सिधै क्याम्प २ र भोलि पल्ट २७ मा क्याम्प ३ मा जानुपर्ने । तर बेलुका ५ बेजेसम्म पनि हावा रोकिएन । क्याम्प ३ बाट बिहान १० बजे हिँडेको । हामी अगाडि गएर टाँगेको डोरीहरु सबै निकाल्नु पर्यो । हिउँले पुरेर त्यसले पनि धेरै समय लाग्यो ।  हामी बेलुका ५ बजे क्याम्प २ बाट हिँडेको २५ घण्टामा बल्ल सात हजार सात सय मिटरसम्म पुग्यौं र फर्केर बेस क्याम्पमा पुग्दा ३५ घण्टा लाग्यो । मौसम धेरै नै खराब थियो । 

आरोहण असफल हुँदा कस्तो अनुभव भयो ? 
शिखर नजिकै पुगेर फर्किनु पर्दा निकै नरमाइलो महशुस भयो । विन्टरको पर्मिट सकिनु, खराब मौसम, र आर्थिक सहयोगको अभावले पनि हामीलाई विन्टरमा चो ओयु हिमालको आरोहण सफल नहुनुको कारण हो । विन्टरको अन्तिम मितितिर प्रयोस गरेर नसकेपछि फेरि प्रयास गर्न स्परिङको अनुमति चाहिने थियो ।

समयमै हामीलाई आर्थिक सहयोग मिलेको भए विन्टरमै आरोहण गरिसक्ने रहेछौं भन्ने लाग्यो । यो स्प्रिङमा पनि चो ओयु हिमालको रुट निर्माणको लागि प्रयास गर्नुको कारण हामी त हिमाल चढेर आफ्नो परिवार, बालबच्चा पाल्नुपर्ने मान्छे । चो ओयु हिमाल मात्रै भनेर बसेर त भएनी ! देशको लागि भनेर मात्रै पनि भएन । अब स्प्रिङ एक्स्पेडिसनका लागि निस्कनु पर्छ भनेर हामी विन्टरको समिट सक्ने बित्तिकै निस्कियौं । 

फेरि कहिले चो ओयु हिमालको आरोहण गर्ने योजना छ ?
अब अक्टोबरमा मनास्लु हिमालको एक्स्पेडिसन सकेर फेरि चो ओयु हिमालको रुट निर्माणको लागि जाने योजना छ । त्यसको लागि फेरि हामीले आर्थिक सहयोग जुटाउनुपर्छ। नोभेम्बर महिनातिर चो ओयु आरोहण गर्नेछौं ।   

तपाईंले धेरै ओटा हिमालहरु चढिसक्नु भएको छ । ती हिमालहरुमध्ये यो हिमालको चाहीं कस्तो रह्यो अनुभव ?
म विन्टरमा पनि के टु एक्स्पडिसनमा क्याम्प ४ सम्म पुगेर आएको हो । के टु विन्टर एक्स्पडिसनको तुलनामा चो ओयु हिमालमा बिहान ७ बजे घाम लाग्छ भने के टुमा बिहानको ११ बजे पनि घाम लाग्दैन् । चो ओयुमा बिहान घाम लाग्ने भएकाले न्यानो हुन्थ्यो । तर हावा आएपछि एक्दमै चिसो । तीब्र हावाले हामीलाई धेरै धोका दियो । हावा बेस्सरी चल्ने । चलेपछि रोक्दै नरोकिने रहेछ । 
के टु हिमालमा पनि हावा त खतरा चल्छ । पालै उडाउने चल्छ । तर चो ओयु हिमालमा भने निरन्तर चलिरहने । एकछिन पनि नरोक्ने हावा चल्ने रहेछ । हावाको बेग निरन्तर चलेकोले धेरै पटक उचालेर फाल्दिएको थियो । 

मलाई जुत्ताले खुट्टामा घाउ बनाएकोले हिड्न अप्ठ्यारो भयो । शरीरमा पनि घामले गरेर इन्फेक्शन भएर हल्का बिरामी भए । हाम्रै आरोही टिममध्ये एक जनाको अक्सिजन रेगुलेटर मास्कको वासर फुटरको थियो र मैले उहाँलाई दिए । मैले चाहीं रेगुलेटर मास्क प्रयोग नगरी सात हजार पाँच् सय मिटरसम्म गए,। त्यसपछि फर्किएँ बेस क्याम्प । अक्सिजन बिना त्योभन्दा माथि जान जोखिम भयो।हिजोको दिनमा हामीले खोज्दै रुट निमार्ण गर्दै जानुपर्थ्यो भने, अब चाहीं थाहा भयो । समिट नजिकै पुगेर फर्किनुपर्दा हामीलाई पनि दुःख लागिरहेको छ । पाकेको खाना छोडेर हिडेको जस्तो भयो । अब फेरि प्रयास गरेर सफल हुने नै योजना छ । 

चो ओयु हिमालको रुट खोल्नु कारण के हो ? 
यसअघि चीनतर्फबाट मात्रै हुँदै आएको चो ओयुको आरोहण पहिलो पटक नेपालबाट खोल्न हामीले सक्दो प्रयास गर्यौं । नेपालबाट रुट खोल्न सके चीनतर्फबाट मात्रै हुँदै आएको आरोहण हाम्रोबाट पनि सुरु गर्न सक्छौं  । यसले नेपालमा विदेशी पर्यटक भित्र्याउन सहयोग मिल्ने छ । आरोहीहरुले विन्टर सिजनमा पनि काम पाउने छन्। सरकारलाई पनि आर्थिक रुपमा सहयोग मिल्ने छ। 

स्प्रिङको लागि ग्राहकको बुकिङ कस्तो छ ?
स्प्रिङमा म एभरेष्ट जान लागेको छु । धेरै बुकिङ पनि आउन थालेको छ । कोरोनाको संक्रमण दर कम भए अझै धेरै बुकिङ आउने थियो । फेरि अहिले रुस–युक्रेनबीचको युद्धले पनि नेपालमा यूरोपियन देशहरुबाट आउने क्लाइन्टहरु जस्तै रुसबाट पनि हिमाल एक्स्पेडिसनमा धेरै आउने गरेको थियो । तर दुई देशबीचको युद्धले पनि अझ क्लाइन्टहरु घट्ने पो हो कि ? भन्ने चिन्ता छ । त्यहाँ ट्रान्जिट भएर आउने क्लाइन्टहरुलाई पनि यसको असर परेको छ । नेपालमा आरोहणको लागि आउने मुख्य आरोहीहरु रुसबाट पर्दछ । अमेरिकन, भारतीय र बेलायती लगायतका देशबाट पनि बुकिङहरु आउन थालेको छ। 

Advertisement

Advertisement