सगरमाथा चुचुरोमा पुगेर विश्व कीर्तिमान कायम गर्ने तयारीमा फरक क्षमताका सागर सुनार

Advertisement

फरक क्षमताका सागर सुनार (विश्वकर्मा) विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा लागेका छन् । केवल ३ फुट ७ ईञ्च मात्र उचाई रहेका २८ वर्षीय सागरले सगरमाथाको सफल आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने सोच बनाएका छन् । 

सागरले यही आउँदो अप्रिल पहिलो हप्ता एभरेष्ट बेस क्याम्प जाने तयारीमा लागेका छन् । अप्रिलको १२ तारिख एभरेष्ट बेस क्याम्प जाने तयारीमा रहेका सागर अहिले पासाङ ल्हामु स्पोर्टस क्लामिङ केन्द्रमा आवश्यक तयारी गरिरहेका छन्। उनीसँग कर्पोरेट नेपालकी फुर्पा शेर्पाले गरेको छोटो कुराकानीः 

Advertisement

तपाईंमा सगरमाथा आरोहण गर्ने सोच कसरी आयो ?
म दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्न लागेको हुँ। दिदी उर्मिला र विश्वकीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाकी श्रीमती कान्छीमाया शेर्पा साथी भएकाले उहाँहरुले मलाई प्रेरणा जगाउनुभयो र सगरमाथा चढ्ने निर्णयमा पुगेको हुँ। म १८ पटक सगरमाथा चढेर ९ फरक फरक विधामा विश्व रेकर्ड राख्न सफल पेम्बा दोर्जे शेर्पाको टोलीसँग सगरमाथा चढ्ने तयारीमा छु। हामी जस्ता होचो फरक क्षमता भएका व्यक्तिहरुलाई समाजले हेने दृष्टिकोण एकदम नराम्रो....। उनीहरुको प्रतिनिधित्व गर्दै म सगरमाथा चुचुरोसम्म जान चाहान्छु। अबको कही दिन हप्तामा सगरमाथा आरोहण गर्ने विश्वास लिएको छु। 

विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर देशको झण्डा फहराउँदै विश्व रेकर्ड राख्ने मेरो चाहना छ । हामी होचा र फरक क्षमता भएकालाई समाजले नराम्रो नजरले हेर्छ । हेलाँ गर्छ । हेप्छ । म सगरमाथा चढेर त्यहाँबाट विश्वलाई त्यो दृष्टिकोण परिवर्तन गर्न सन्देश दिन चाहन्छु। हामी किन थिचिने ? किन मिचिने ? म जस्ता अरु फरक क्षमता भएकाहरुका लागि मनोबल पनि बढोस्। हामी पनि के कम छौं र ? र, जलवायु परिवर्तनबारे पनि सन्देश दिने योजना छ। अबका पिंडीले... अहिले पो हामीले हिमालहरु देखेका छौं । हामी पछिका मान्छेले हिमाल पनि थियो र ? भन्ने अवस्था नआओस् । हिउँ पनि धेरै पग्लिएर गइरहेको छ ।  

कस्तो छ त आरोहणको तयारी ?
पहिलो दिन त धेरै गाह्रो भयो तयारी गर्दा । त्यस्तो कठिन व्यायामहरु गर्नुपर्ने । गर्नै नसक्ने । त्यसमाथी नसाको रोगी । यही कुराहरु अल्ली जोखिम हुन्छ कि ? भन्दै मैले आफ्नो मनोबल बलियो बनाएर सगरमाथा पुग्ने अठोट लिएको छु।

तपाईं फरक क्षमताको मानिस । यसरी हिमाल चढ्ने सोच पहिला कहिल्यै आएको थियो ? 
पहिला त थिएन् । जब सामाजिक सञ्जाल चलाउन थालियो, म जस्ता व्यक्तिहरुले पनि धेरै साहसिक कुराहरु गरिरहेको देखेपछि मलाई पनि केही गर्नुपर्छ भन्ने भाव पैदा हुन्थ्यो । विदेशीहरुले धेरै कुरा गरेको छ । फरक क्षमता भएका व्यक्तिहरुले विभिन्न कुराहरु गरेको छ । त्यो कुराहरुले केही गर्नुपर्छ भन्ने चाहना र आत्मबल बढ्यो । त्यसमा दिदीले पनि प्रेरणा दिनुभयो । अहिले मलाई जसरी पनि सगरमाथा चढेरै छोड्छु भन्ने आत्मबल बढेर गएको छ । मैले यसअघि अक्टोबर ३० तारिखमा दोलखाको रामदुङ पिक (५९२५ मिटर)को आफ्नै व्यक्तिगत खर्च र परिवारको सहयोगमा सफल आरोहण गरेको छु । मैले तीन दिन लगाएर उक्त हिमाल आरोहण गरेको हो । यो मेरो अनुभव पनि हो । 

रामदुङ पिकको आरोहणपछि कस्तो महशुस गर्नुभयो ?
एकदम खुःसी लागेको थियो। गर्व महशुस गरें। मैले आँटेको कुरा गरे भने भयो। पीडापछिको सफलताले त्यो पीडाहरु भुलायो। 

सगरमाथाको सफल आरोहणपछिको योजना के छ ?
होचो र फरक क्षमता भएकाहरुको एउटा संस्था खोल्ने योजना छ । नेतृत्व लिएर उहाँहरुमा आत्मबल बढाएर, हामीले पनि चाहेको कुराहरु गर्न सक्छौं भन्ने सन्देश दिने इच्छा छ । मलाई हेनुस्, र तपाईंहरुले पनि आफ्नो आत्मबल बढाउनुहोस् भन्ने चाहना छ । भोलिको दिनमा म एउटाले गर्दा हजारौंको मनोबल बढ्छ भने किन नगर्ने ? म जस्तो होचो व्यक्तिले मात्र होइन, हामीभन्दा फरक क्षमता भएका व्यक्तिहरुको पनि मनोबल बढाउनु जरुरी छ । 
गरे के हुँदैन् र ? कुनै पनि कुरा असम्भव छ भन्ने हुन्न । सगरमाथाको सफल आरोहण गर्न सके पछि एउटा संस्था खोल्ने छु । र म जस्तै व्यक्तिहरुलाई सहयोग गर्ने योजना छ । 

सागरको जन्म कास्कीको मादी गाउँपालिका वडा न. ११ सैमराङस्थित तेसा गाउँमा २०५० सालमा भएको थियो। बिरामी भएको कारणले उनले गाउँमा कक्षा ५ सम्म मात्र अध्ययन गर्न सके । सागर २१ वर्षको उमेरमा काठमाडौं भित्रिएका थिए। त्यसपछि उनी सुन पसलमा काम गर्न थाले । बीचमा न्यूरोसम्बन्धी बिरामी भएपछि सागरले त्यो काम पनि छोडे। टाउकोको नसा च्याप्पिएकोले निहुरिएर काम गर्न नसक्ने भएपछि सागर घरमै बस्न थाले । अपरेशन भएपछि अहिले उनको अवस्था अलि ठिक भएको छ । 

सगरमाथाको आरोहण गर्न एक करोड ७५ हजार रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ। आर्थिक अवस्था कमजोर भए पनि सगरमाथाको आरोहण गरेर छाड्ने सोचले उनलाई आफ्नै मादी गाउँपालिकाले संस्थागत रुपमा सहयोग गर्ने भएको छ। 

Advertisement

Advertisement