'शक्ति राष्ट्रहरुको सामरिक राडारमा नेपाल परिसक्यो, त्यसको ‘हिट’ सम्हाल्न हामीलाई सहज छैन्'

Advertisement

नेपालले अमेरिकी संस्था एमसीसीसँग गरेको अनुदान सहयोगसम्वन्धी सम्झौता लामो बहस र विवादपछि अनुमोदन गरेको छ । यस विषयलाई छिमेकी चीन र भारतको पनि निकै चासोको रुपमा हेदै आएको देखिन्छ । शक्ति राष्ट्रहरुबीचको व्यापार तथा सामरिक द्धन्द्धसँगै पछिल्लो समय विश्व राजनीतिमा आएको उतारचढाव, रुस–युक्रेन युद्धसँगै कतै अर्को विश्व सुरु त हुने होइन् ? भन्ने त्रास बढिरहेको बेला नेपालमा पनि नेपालबाट उच्चस्तरीय भ्रमण हुन लागेका छन् । यिनी विषयमा वरिष्ट कुटनीतिज्ञ एवं पूर्वमन्त्री रमेशनाथ पाण्डेसँग कर्पोरेट नेपालले गरेको कुराकानीको सम्पादित अंशः 

भर्खरै अमेरिकी परियोजना एमसीसी पास भएपछिको अवस्थामा आजबाट चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । तपाईंले यसलाई कसरी हेर्नुभएको छ ? 
अहिले विश्व परिस्थिति जुन ढंगबाट नाटकीय रुपमा परिवर्तन भइरहेको छ, दोस्रो विश्व युद्धपछि जुन शक्ति संरचना बन्यो, त्यसलाई शित युद्धको अन्त्यले समाप्तै गरिदिएर एउटा विल्कुलै पृथक खालको एक ध्रुवीय विश्वको निर्माण गरेको थियो । त्यो अहिले आएर अशक्त भएको छ । र, विश्व बहुध्रुवीय व्यवस्थाको बाटोमा गएको छ । यो बहुध्रुवीय विश्वमा दुई वटा ध्रुव चाहीं करिव करिव निश्चित भइसके । एउटा अमेरिका । अर्को चीन । यी दुई शक्ति राष्ट्रको बीचमा प्रतिस्पर्धा, सहयोग बेस्करी बढेर गएको छ । दुई वटाबीचको द्धन्द्ध बढिरहेको छ । त्यो सँगसँगै एकअर्कामाथिको परस्पर निर्भरता पनि बढेर गएको छ । त्यसले जटिल अवस्थामा विश्व पुगेको छ । हिजो शित युद्धको समयमा त्यो बेलाका नायक नेपालबाट टाढा थिए । त्यस परिस्थितिमा हामीले हाम्रो अन्तर्राष्ट्रिय सम्वन्धको सञ्चालन एक किसिमले गर्यौं जसले हामीले अत्यन्तै लाभ हासिल भएको थियो । 

Advertisement

अहिले फरक भयो । अहिलेको नयाँ द्धन्द्धमा सहभागी दुईमध्ये एउटा हाम्रो छिमेकी छ जुन छिमेकीको जमिनसँग जोडिएको नेपाल मात्रै छ दक्षिण एशियामा । यस कारण नेपालको सामरिक अवस्थाको संवेदनशीलता पनि ह्वात्तै बढेको अवस्था छ । यस्तै, विश्व शक्ति बन्न अग्रसर भइरहेको भारत पनि छ भारत जसको आर्थिक सम्पन्नता विश्वकै सातौं अवस्थामा छ । उ तेस्रो शक्ति बन्न प्रयत्नशील छ । उसको परम्परागत हैसियत नेपालमा थियो, त्यो हैसियन कम हुँदै गएको छ । भारत त्यो हैसियतलाई पूर्ववतरुपमा अवस्थामा फर्काउन प्रयत्नशील छ । यसरी नेपालमा अमेरिका, चीन र भारत तीनवटै देशको रुची बढेको छ । संलग्नता बढेको छ । तीन वटा शक्तिको सामरिक राडारमा नेपाल परिसकेको हुनाले, त्यसको ताप, त्यसको हिट नेपालीहरुले महशुस गर्न थालिसके । हालका घट्नाहरुले त्यो तापलाई सम्हाल्न हाम्रो निम्ति सरल छैन् भन्ने संकेत दिइसक्यो । 

यस अवस्थामा चीनको परराष्ट्रमन्त्री नेपाल आउनु भनेको अनौठा मान्नु उचित हुन्न । दुई वटा देशको बीचमा उच्चस्तरीय किन सम्वाद भएन भन्ने प्रश्न आवश्यक छ । चीनका परराष्ट्रमन्त्रीको भ्रमणलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थिति जुन परिवर्तन भएर गएको छ, त्यसको पृष्टभूमि र भारत र चीनको बीचमा जुन द्धन्द्ध बढेर गएको छ, नेपाल र चीनको बीचमा जुन सम्वादहिनताको अवस्था सिर्जना भएको थियो, त्यसको पृष्टभूमिमा यो भ्रमणलाई हेर्नु उचित हुन्छ । यो अचानक भएको भ्रमण पनि होइन् । यसलाई अर्को दृष्टिबाट हेर्न जरुरी पनि छैन् । हामीले पूरक भ्रमणको तालिकालाई हेर्यौं भने प्रष्ट हुन्छौं । चीनका परराष्ट्रमन्त्री पाकिस्तानमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा नेपाल पनि आउन लाग्नुभएको हो । यहाँबाट उहाँ भारत जानुहुन्छ । नेपालका लागि मात्रै पनि आएको होइन् । 

नेपाल आएर चीन नगई भारत जाने कुरालाई अर्थपूर्णरुपमा हेर्न सकिन्न ?
भारतसँग चीनको आफ्नै किसिमको सम्वन्ध छ । आफ्नै किसिमको सहयोग आदानप्रदान छ । आफ्नै किसिमको द्धन्द्ध पनि छ । दुई पक्षीय व्यापारमा चीन धेरै अगाडि छ भारतभन्दा । दुई देशबीचको आर्थिक सम्वन्ध असाधारणरुपमा बढेर गएको छ । तर सामरिक प्रतिस्पर्धा छ । सीमामा विवाद छ । नेतृत्वको विवाद छ । त्यो भएको हुनाले यो सहयोग र द्धन्द्ध अविश्वास र समझदारी सँगसँगै हुर्किरहेको छ । यो अविश्वास घटाउन र समझदारी बढाउन दुवै देशबाट भ्रमण भइरहेको हुन्छ । चिनियाँ विदेशमन्त्रीको भारत भ्रमण स्वाभाविक हो । 

भर्खरै नेपालले अमेरिकी संस्था एमसीसीसँगको सम्झौता पास गर्यो । तर चीनसँग भएको बीआरआईसम्वन्धी सम्झौता कार्यान्वयन हुन सकिरहेको छैन् । यो भ्रमणमा चीनले चासो राख्ने देख्नुहुन्न ? 
यहाँका कथित पर्यवेक्षकहरुमा साँधुरो सोचाई छ । जो आयो, त्यहीमय भइदिने । जुन विषय आयो, त्यही विषयलाई नै उचाल्दिने । यो गलत हुन्छ अन्तर्राष्ट्रिय सम्वन्धमा । चीन र नेपालको बीचमा मुख्य प्रश्न के हो भने चीनको नेपालमा केही जायज सुरक्षा चासोहरु छ जसलाई नेपाल सरकारले राम्ररी सम्बोधन गरोस् उसको चाहना छ । चीनको त्यो चासोमा नेपाल सरकारले जिम्मेवारीपूर्वक सम्बोधन गर्न सक्यो भने वा सक्छ भन्ने प्रत्यार चीनलाई भयो भने चीन र नेपालबीचको सहयोग र विश्वास बढेर जान्छ । दुर्भाग्यवस केही समयदेखि नेपालको त्यो सम्बोधन गर्नसक्ने क्षमतामा र नेपालको गम्भीरतामा प्रश्न उठिरहेको छ । त्यसले चीनको चासो बढेर गएको छ । चासो बढेको हुनाले सहयोगका क्षेत्रहरु रोक्किएर बसेको छ । नाकाहरु सुचारु हुन सकेको छैन् । यो ठिक कुरा होइन् । मेरो विचारमा नेपालले आफ्नो परराष्ट्र नीतिको बारेमा गम्भीरतापूर्वक आजको स्थिति र अब बन्न लागेको विश्व परिस्थितिलाई समेत ध्यानमा राखेर एउटा परिवर्तन दिनु आवश्यक हुन्छ ।

कस्तो खालको परिवर्तनको कुरा गर्नुभएको हो ?
परिवर्तन गर्दा त्यसको मूल्य पद्दतीमा विचार गर्नुपर्छ । अहिलेसम्म चलनचल्तीको भाषामा भन्दा नेपालले भारत र चीन दुवैसँग समदुरीको सम्वन्ध राख्नुपर्छ भन्ने राजनीतिक वृत्तमा चलेको भनाई हो । मेरो विचारको जुन किसिमको परिस्थिति निर्माण भइराखेको छ यो क्षेत्रमा र विश्वमा, जुन किसिमको भूमिका परिवर्तन भइरहेको छ, हैसियत परिवर्तन भइरहेको छ भारत र चीनको विश्व परिवेशमा र जुन किसिमबाट नेपालमा भारत, चीन र अमेरिकाको सामरिक रुची बढेर गएको छ, यो बेलामा यस्तो खालको सोचाई राख्न हुन्न । हामी हाम्रो परराष्ट्र नीतिको प्राथमिकता भारत र चीनसँगको सम्वन्धलाई गर्नुपर्छ । यी दुई देशसँग समदुरी होइन्, समनिकटतालाई जोड दिनुपर्छ । समनिकटतालाई निर्देशक सिद्धान्त मानेर भारत र चीनसँगको विश्वासको सम्वन्ध बढाउनुपर्छ । तर दुर्भाग्यवस विश्वासको सञ्चिति घटेर गएको छ । त्यो घटेको हुनाले धेरै किसिमको विकृति देखा परेका छन् । अहिले रुस–युक्रेन युद्धले जुन किसिमको परिवर्तन विश्वमा ल्याएको छ, यसमा सबै बलिया निर्धा देश साना ठूला देश त्यो बन्न लागेको परिवर्तनसँग आफ्नो रि–एडजसमेन्टको प्रयासमा लागेका छन् । हामी पनि त्यो परिवर्तनमा सामेल पनि छौं । 

सरकार परिवर्तनसँगै हाम्रो परराष्ट्र नीति पनि परिवर्तन भए जस्तो देखिन्छ । किन यस्तो भइरहेको छ ? 
सरकार वा व्यक्ति परिवर्तनसँगै परराष्ट्र नीति परिवर्तन हुने भन्ने कुरा गलत हो । कुनै पनि देश जति शक्तिशाली भए पनि परराष्ट्र नीति कहिल्यै परिवर्तन हुँदैन् । कारण के हो भने परराष्ट्र नीतिको मुल ध्येय राष्ट्रको हित गर्ने, राष्ट्रको स्वार्थ हेर्ने हो । राष्ट्रको हित र स्वार्थ कहिले पनि परिवर्तन हुन्न । त्यो गर्नुपर्ने विधि र दिनुपर्ने प्राथमिकतामा परिवर्तन हुन्छ । विधि र प्रक्रिया भनेको मुल सिद्धान्त होइन् । यसका निम्ति देशको परराष्ट्र नीति स्थायी हुन्छ । नेपालले परराष्ट्र नीति प्रारम्भ गरेदेखि अनन्त कालसम्म एउटै सञ्चालन गरिरहन्छ । त्यो हो नेपालको राष्ट्रिय स्वार्थ र हितलाई हेर्नु । 

नेपालको राजनीतिक पद्दतीलाई लिएर चीन र भारतको नेपालसँग एक खालको दृष्टिकोण, पश्चिमाहरुको एक खालको दृष्टिकोण जस्तो देखिएको छ अहिले । छिमेकीहरुले नेपालको राजनीतिक पद्दतीप्रति असन्तुष्टि जनाएको वा हेरफेर चाहेको देख्नुहुन्छ ? 
छिमेकीले नेपालको राजनीति परिवर्तन गर्न खोजेको निष्कर्ष निकाल्नु अतिशोयक्ति हुन्छ । वास्तविकलता के हो भने हामीले बेलाको बोली बुझ्न छोड्यौं । हामीमा बेलाको बोली बुझ्ने ल्याकत घट्दै गयो । हामीले परराष्ट्र नीतिलाई, भारत र चीनसँगको सम्वन्धलाई र कुटनीतिलाई गम्भीरतापूर्वक लिन सकेनौं । एउटा उदाहरण बताउँ दुवै छिमेकीहरुमा एउटा आधारभूत परिवर्तन भएको छ । त्यो के हो भने चीनमा माओपछि सर्वशक्तिमान राष्ट्रपतिको रुपमा देखापरेका छन् । उहाँको दुई सफल कार्यकाल पूरा हुन लागेको छ । तेस्रो कार्यकालका लागि निर्वाचित हुने बेला भएको छ । यता भारतमा दोस्रो पटक निर्वाचित भइसकेपछि नरेन्द्र मोदी एक मात्रै राष्ट्रिय नेताको रुपमा स्थापित भएका छन् । उहाँको प्रतिस्पर्धीको रुपमा कोही पनि देखा परेको छैन् राजनीतिमा, संसदमा, प्रशासनमा र प्रान्तीय विधायिकाहरुमा । सबैतिर उहाँको एकाधिकार छ । यति शक्तिशाली नेता भएको दुई छिमेकी देशको सदभावना हासिल गर्न, विश्वास आर्जन गर्न, त्यसबाट नेपालको राष्ट्रिय हित गर्न सबैभन्दा सजिलो बेला हो । त्यो बेलामा हामी चुकेका छौं ।

नरेन्द्र मोदी पहिलो पटक सत्तामा आउने बित्तिकै उहाँ र चिनियाँ राष्ट्रपतिबीच चीनमा भेटघाट भयो । त्यहाँ दुई नेताबीच के समझदारी भयो भने सम्वन्ध विस्तार गर्दै लैजाने र त्यसमा भारत र चीन प्लस वान मिलेर गर्ने । त्यो भएपछि नेपालको नेतृत्वले त्यसलाई अथ्र्याउन सकेन् । बुझ्ने कोशिस गरेन् । त्यसलाई सम्बोधन गर्ने ल्याकत देखाउन सकेन् । र परराष्ट्र मामिलामा आवश्यक हुने जुन गम्भीरता हो, त्यो देखाउन सकेन् । परिणाम के भयो भने त्यो कुरा त्यसै सेलाएर गयो । लगत्तै भारत र चीनको संयुक्त वक्तव्य आयो जसमा नेपाली भूमि लिपुलेक उपयोग गर्नेबारे समझदारी बन्यो । नेपाललाई वास्तासमेत गरिएन् । त्यो समझदारी बनेपछि पनि नेपालको नेतृत्व ब्युँझिएन् । नब्युँझिएकाले त्यो समस्या बनेर आयो जसको समाधानमा कुनै प्रयास देखाइएको छैन् । यसरी दुई छिमेकीसँग सम्वन्ध राखेर असल परिणामको आशा गर्नु उचित हुन्न । 

चीनले त पहिलेदेखि नै खुलेर चासो देखाउन्नथ्यो । तर पछिल्लो समय नेपालमा अमेरिकी चासो बढ्दै जाँदा भारतसमेत मौन बसेको जस्तो देखिन्छ । यसलाई चाहीं कसरी हेर्नुभएको छ ? 
पहिलो कुरा त मौन बसेको र नबसेको भन्ने कुरा छ, त्यो राजनीतिक भाषा हो । कुटनीतिक भाषा होइन् । कुटनीतिमा मौन बस्नु, चुप लाग्नुको पनि अर्थ हुन्छ । बोल्नुको पनि अर्थ हुन्छ । बोल्दा कुन अर्थमा बोलिएको छ ? के के शब्द मिलेर वाक्यांश बनेको छ ? त्यसलाई राम्ररी केलाएर हेरेर मात्रै बुझ्न सकिन्छ । जे भनिएको छ, त्यसको ठाडो अर्थ लगाएर कुटनीतिक भाषा बुझिन्न । भारत चुप लागिरहेको छ वा चीन बोलिरहेको छ भन्ने कुरालाई हल्कारुपमा परिभाषित गर्न उचित हुन्न । 

चिनियाँ विदेशमन्त्री नेपाल हुँदै इण्डिया जाने, यस क्रममा नेपालको राजनीतिमा केही प्रभाव देखिने वा भनौं नेपालका कम्युनिष्टहरु एक हुने आदि कुनै संभावनाहरु देख्नुुहुन्छ ? 
नेपालको सबैभन्दा ठूलो दुर्भाग्य के हो भने हाम्रो राजनीतिक स्वामित्व नेपालीको हातबाट फुत्किँदै गएको छ । हाम्रो राजनीति अप्रिय भएको बेलामा उत्तेजित भएर बोल्न जानेका छौं । तर त्यसलाई सम्हालेर राजनीतिलाई आफ्नै मुट्ठीमा राख्ने ? भन्ने कुरामा हाम्रो ध्यान छैन् । हामी हाम्रो स्वार्थबाट परिचालित भएका छौं । हाम्रोमा प्रत्येक नेताको परराष्ट्र नीति आफ्नो कुटनीति भएको छ । प्रत्येक समूहको आफ्नो कुटनीति आफ्नो परिभाषा भएको छ । विश्वका कुनै पनि देशमा परराष्ट्र नीति सरकारको हुन्न । देशको हुन्छ । त्यो नीतिलाई सरकारले सञ्चालन गर्छ । सरकार भन्नाले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई जनाउँछ । यी दुई वटाको जानकारीविना सरकारमा भएका नभएका कसैले पनि विदेशीसँग सम्वन्ध राख्ने, विदेशीलाई बचन दिने, पत्र पठाउने, विदेशीसँग कारोबार गर्न मिल्दैन्  । तर नेपालमा भइरहेको छ । सामान्य अनुशासन पनि पालना भएको छैन् । त्यो पालना नभएकोले कस्को मुखबाट को बोलिरहेको छ ? बुझ्न गाह्रो छ । त्यसको नजिता मुलुक कमजोर भएर गएको छ । मुलुक अपत्यारिलो भएको छ । नेपालको सबैभन्दा ठूलो कमजोरी के हो भने विश्व समुदायले खासगरी दुई छिमेकी र अमेरिकाले नेपालको राष्ट्रिय नीतिमा अन्तिम बोली कस्को हो ? कस्ले बोलेको पत्यारिलो हुन्छ ? बुझ्न सकिने अवस्था छैन् । त्यसले गर्दा नेपालप्रति अविश्वास बढेर गएको हो । 

प्रधानमन्त्री पनि लगत्तै भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ । यो भ्रमणमा एजेण्डाहरु के के हुनसक्छन् । तपाईंका सुझाव के छन् ? 
नेपालको प्रधानमन्त्रीले विदेश जाँदा उपसचिव, सहसचिव र सचिवस्तरबाट टुंगिने कुराहरु लिएर जान हुँदैन् । त्यो स्तरबाट टुंगिन नसकेको कुरा परराष्ट्रमन्त्रीस्तरबाट र त्यसबाट पनि टुंगिन नसके, उच्चस्तरीय समझदारी बनाउनुपर्यो भने मात्रै प्रधानमन्त्रीले कुरा गर्ने हो । मुलतः प्रधानमन्त्रीले दुई देशबीच पत्यार बढाउने सहयोग र समझदारी विस्तार गर्ने र केमेष्ट्रि राम्रो बनाउन भूमिका खेल्ने हो । लामो समयदेखि नेपालका नेताहरुको सम्वन्ध भारतको यस्तो पार्टीसँग मात्रै भयो, जुन पार्टी अहिले बिलाएर गएको छ । जुन पार्टी आज भारतमा सत्तामा छ, त्यो लामो समयसम्म सत्तामा बस्ने अवस्थामा छ । उसँग समझदारी बढाउन प्रधानमन्त्रीले भूमिका खेल्नुपर्छ । नेपाल र भारतका बीचमा गम्भीर समस्याहरु खडा भएका छन् । अधिकांश समस्या इतिहासले छोडेर गएका बोझ हुन् । त्यसलाई समाधान गर्न दुई देशले जुन संयन्त्र तय गरिसकेको छ, त्यो किन सक्रिय भइरहेको छैन् ? प्रधानमन्त्रीले त्यसको कारण पत्ता लगाउन प्रयास गर्नुपर्छ र समस्या हटाउन पहल गर्नुपर्छ । दुई वटा प्रधानमन्त्रीहरुको बीचमा विश्वासको सम्वन्ध बन्यो, सदभावना भयो भने साना समस्या समाधान गर्न सजिलो हुन्छ । 

अर्को हेक्का राख्नुपर्ने कुरा के हो भने नेपालमा जहिले पनि भारतसँगको सम्वन्ध, आजकाल चीन र अमेरिकासँगको सम्वन्ध जनस्तरमा विवादास्पद हुँदै गएको छ । त्यो राम्रो होइन् । आम मानिसमा यस किसिमको अनुभूति भयो भने त्यसले नै जनमतलाई निर्देशित गर्न थाल्छ जसले मुलुकलाई सही बाटो हिंड्न दिँदैन् । यसका निम्ति प्रधानमन्त्रीले भ्रमणका क्रममा ध्यान दिनुपर्यो कि विगत सात–आठ बर्षमा दुई देशको बीचमा जुन किसिमबाट सम्वन्ध विस्तार हुनुपर्ने हो, किन भइरहेको छैन् ? अविश्वासको कारण के हो ? सहयोगले छलाङ मार्नुपर्ने थियो, त्यो नहुनुको कारण के हो ? भएका समस्याहरुलाई समाधान गर्न नसक्नुको कारण के हो ? उहाँले राम्ररी गृहकार्य गरेर जानुपर्छ । तर झिनामसिना कुराहरु लिएर गएर उहाँले यो अवसर खेर फाल्नुभएन् । 

तपाईं पनि एउटा परिपक्व कुटनीतिज्ञ । तपाईंसँग केही परामर्श भएको छ त ? 
नेपालमा कस्तो राम्रो अवस्था आएको छ भने नेपालका नेताहरु सर्वगुणसम्पन्न हुनुहुन्छ । उहाँहरुलाई सरस्वतीको पनि बरदानको आवश्यकता पर्दैन् । सबै विद्यामा उहाँहरु पोख्त हुनुहुन्छ । उहाँहरु भागवत गीतादेखि आधुनिक अस्त्रसम्म, बायोलोजिकल आरफेयरदेखि धनुरविद्यासम्म सबै विषयमा ज्ञाता हुनुहुन्छ । यस्तो ज्ञाता भएका मानिसहरुलाई कसैको सल्लाहको आवश्यकता पर्दैन् । तर उहाँहरुको ज्ञानले मुलुकलाई अस्जिलोमा पार्दै लगेको छ । त्यो ज्ञानलाई सजिलो पार्न प्रयोग गरिदिनुभयो भने मुलुकको हित हुन्छ । 

Advertisement

Advertisement