खाने तेलको मात्रै मूल्य बढेको हो, चामलको छैन्ः गुप्ता, चुनाव नजिकिएसँगै चन्दा माग्न सुरु

Advertisement

काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले पछिल्लो समय खाने तेलको मूल्य बढेको भए पनि चामलको मूल्य नबढेको दावी गरेका छन् । 

शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले खाने तेलको मूल्य बढेको भए पनि चामलको मूल्य नबढेको बताएका हुन् । गुप्ताले चामलको मूल्य एक महिना अगाडि जुन मूल्य थियो अहिले पनि त्यही मूल्य रहेको बताए । कुनै व्यवसायीले चामलको मूल्य बढाएर बेचेको भए सरकारलाई तत्काल अनुगमन गर्न उनले आग्रह गरे । 

Advertisement

गुप्ताले नेपालमा अहिलेसम्म एउटा पनि तेल उद्योग नभएको बताए उनले भएका केही तोरीको तेल उद्योग समेत बाहिरबाट अन्य तेल आयात गरेर बेच्ने गरेको दाबी गरे । तेल पनि विदेशबाट नै आयात गर्नुपर्ने अवस्था भएकाले मूल्य वृद्धिको मार खेप्नु परेको गुप्ताको भनाई छ । 

उनले भने, ‘अहिले चामल दालको मूल्य बढेको अवस्था छ भन्नु भएको छ । म अनुरोध गर्न चाहान्छु । चामलमा अहिले कुनै पनि मूल्य बढेको छैन । पहिला चामलमा जुन मूल्य थियो त्यो २ प्रतिशत भन्दा बढी मूल्य नबढेको जानकारी गराउँछु । कुनै व्यवसायीहरुले १० तथा २० प्रतिशत बढाउनु भएको छ भने सरकारले अनुगमन गर्नुपर्छ । दाल र तेलमा मूल्य बढेको अवस्था छ । तेलमा बढी मूल्य बढ्नुको कारण १० वर्ष पहिला हामी घरमा उत्पादन भएको तोरीको तेल प्रयोग गर्ने गथ्यौ । अहिले सबैले भटमास सनफ्लावरको तेल आयात गरेर प्रयोग गर्न थालेका छौं । अहिले देशमा तेल उत्पादन गर्ने एउटा पनि उद्योग नभएको जानकारी गराउँछु ।’ 

गुप्ताले थपे, ‘युक्रेन विश्वको सबै भन्दा बढी तेल निर्यात गर्ने देश हो । त्यहाँबाट हामीले आयात गरेर तेल प्रशोधन गरेर बिक्री गछौं । हामी आफ्नो तोरीको तेल उत्पादन गरेर किन प्र्रयोग नगर्ने । नेपालमा भएका तोरी तेलका उद्योगहरुले समेत अरु तेल आयात गरेर प्याकिङ गरेर बेच्नुपर्ने बाध्यात्मक अवस्था छ । किनकी तोरीको तेल बिक्री नै हुँदैन ।’

चुनाव नजिदै जाँदा राजनीतिक दल र अन्य संगठनले चन्दा माग्न थालेको गुप्ताले बताए । उनले चन्दा माग्ने र डर देखाउने क्रम बढेकाले सरकारले आगामी दिनमा औद्योगिक सुरक्षा बल बढाउन माग गरे । सरकारले अघि उद्योगीलाई थाहै नदिई सुरक्षाबल हटाएको भन्दै अध्यक्ष गुप्ताले यसलाई निरन्तरता दिनुपर्ने बताए । 

Advertisement

Advertisement