विदेश बसेका नेपालीलाई लगानी गर्न दिँदा सबै उतै लान्छन् कि भनेर हाम्रो नेतृत्व डरायोः थापा

Advertisement

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताउँदै त्यसका लागि स्वदेशी पैसाले मात्रै नपुग्ने भएकाले विदेशी सहयोग पनि लिनुपर्ने बताएका छन् । 

गैरआवासिय नेपालीहरुको सम्मेलनमा आइतबार उनले नेपालमा अबको आठ, दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताए । नेपालको कृषि बजारमुखी हुने र मानिसहरुलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको बताउँदै थापाले आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने बताए । बाह्य लगानी भित्राउनुपर्ने उनको जोड थियो । 

Advertisement

थापाले पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि विकास हुनुपर्ने बताए । उनले भने, ‘हाम्रो कृषि बजारमुखी हुने, हाम्रो मानिसहरुलाई एक्सपोर्ट गरेर बाहिर पठाउने, सामान इम्पोर्ट ल्याएर चलाउने । यो धन्दा मात्रै चलाइ राखेर हामीले जति कुरा गरे पनि हाम्रो अर्थतन्त्रको चरित्र जस्ताको तस्तै राखेर हाम्रो देशको अवस्था बदलिनेवाला छैन । यसलाई बदल्ने कुरा हो । यसलाई बदल्ने कुराको सन्दर्भमा एउटा डिर्पाचर हामीलाई चाहिएको छ । कृषिको क्षेत्र उद्योगमा नगएर सेवामा गएको छ । अब ८–१० वर्ष ठूलो लगानी हामीलाई पूर्वाधारमा चाहिएको छ । कनेक्टिभिटी हाम्रो लागि एकदमै ठूलो, महत्वपूर्ण च्यालेन्ज हो । हामीसँग भएको स्रोत, आन्तरिक स्रोत सम्पूर्ण रुपमा परिचालन गर्दाखेरी पनि बाहिरको स्रोत नल्याइकन, बाहिरबाट स्रोत परिचालन नगरिकन हाम्रो पूर्वाधारलाई हामीसँग अहिले स्रोतको अभाव छ ।’

थापाले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताए । गैरआवासीय नेपालीहरुको लगानीसँग नेपालीहरु डराउनु नहुने उनले बताए । उनीहरुलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने थापाको भनाई छ । 

उनले भने, ‘हामी नेपालभन्दा बाहिर बसेका पहिलो पुस्ताका नेपालीलाई जसरी नागरिकता दिन डरायौँ । पासपोर्ट दिन डराएका हुन्छौ । जसरी तपाईंहरुलाई अधिकार दिन डराएका हुन्छौँ । त्यसैगरीकन कता–कता तपाईंहरुको लगानीसँग पनि होइन बाहिरबाट आएर कमाएर फिर्ता पो लिएर जान्छन् कि ? यहाँ भएको हाम्रो जल, जमिन सबै चलाउँछन् पो कि ? भने जस्तो हामी भारतसँग वा चीनसँग, अमेरिकासँग, युरोपसँग मात्र होइन । आफ्नै दाजुभाइहरुसँग, आफ्नै दिदीबहिनीहरुसँग कहीँ न कहीँ मनमा त्यो संकुचन राखेर बसेका छौँ, जसको कारणले गर्दाखेरी हामीले हात खोल्नुपर्ने हो । त्यो हात नखोलेर हाम्रो मुट्ठी कसिएको अवस्था छ । यो विषयको सन्दर्भमा नेपालको लिडरशिपले त्यो कन्फिडेन्स राख्नैपर्छ । र यसका केही नयाँ ढंगले हाम्रो साझेदारी गर्नैपर्ने हुन्छ ।’

Advertisement

Advertisement