सुनसरी–मोरङ औद्योगिक करिडोरमा १४ घण्टा अघोषित लोडसेडिङ, तालिका निकाल्न माग

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योगीहरुले उद्योग चलाउन समस्या भएकोे बताएका छन् । 

इटहरी र विराटनगरमा सञ्चिालित अधिकांश उद्योगमा विगत एक हप्ता अगाडिदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका छन् । प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताएता पनि एक सातादेखि वेलुका ६ बजे देखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने गरेको बताए । 

Advertisement

उद्योगीहरुले प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएका छन् । प्राधिकरणले एक साता अगाडि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंगलबारबाट नियमितरुपमा उद्योगहरुमा चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको उद्योगीहरुको गुनासो छ । 

सरकार तथा विद्युत प्राधिकरण आफैले ग्यासको खपत कम गरौंै खाना पकाउने विद्युतीय चुलो प्रयोग गरौ भन्दै प्रचार गर्ने तर उद्योगमा अप्रत्यासित रुपमा लोडसेडिङ गर्नु गलत भएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशीकान्त अग्रवालले  बताए । 

उनले सरकार र प्राधिरकण बाहिर एउटा प्रचार गर्ने भित्र उद्योगमा विद्युत कटौती गर्नु उद्योगको लागि राम्रो नभएको बताए । सरकारले उद्योगहरुमा तत्काल विद्युत उपलब्ध गराउनुपर्ने सञ्चालक अग्रवालको भनाई छ । रुस र युक्रेनको युद्धको कारण भारतका विद्युत आपूर्तिमा समस्या हुँदासम्म मात्रै भए उद्योगीले धान्न सक्ने तर लामो समयको लागि लोडसेडिङ भए उद्योगीले धान्न नसक्ने उनको भनाई छ । 

अग्रवालले भने, ‘हिजोसम्म हामीलाई थाहा भएकै कुरा हो । सरकारले खाना पकाउन ग्यास प्रयोग नगरौं । खाना पकाउन विद्युतीय चुलो प्रयोग गरौं भनेर व्यापक रुपमा विद्युत प्राधिकरणले प्रचारप्रसार गरेको थियो । अत्यासित रुपमा उद्योगमा लोडसेडिङ भएको छ । सरकारले उद्योगलाई कसरी विद्युत दिने भन्ने कुरामा योजना बनाउनु पर्छ । छोटो समयको लागि उद्योग चलाउन सकिन्छ । तर लोमो समय लोडसेडिङ भयो भने समस्या हुन्छ ।’

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका व्यवस्थापक महेश पोखरेलले स्पिनिङ उद्योगमा एक सातादेखि निरन्तररुपमा विद्युत आपूर्ति कटौती भएको बताए । उनले प्राधिकरणले कुनै जानकारी विना एक हप्तादेखि बेलुका ६ बजेपछि १४ घण्टा उद्योगमा लोडसेडिङ हुने गरेको बताए । उद्योगमा लामो समयदेखि विद्युत आपूर्तिमा पटक–पटक न्यून पावर ट्रिपिङ तथा विद्युतको भोल्टजका कारण उत्पादनमा समस्या आउने गरेको भन्दै पोखरेलले १४ घण्टा लोडसेडिङ हुँदा उद्योग सञ्चालनमा थप समस्या पैदा भएको गुनासो गरे । 

उनले सम्बन्धित निकायमा लोडसेडिङ तथा न्यन पावर भोल्टेजको समस्या राख्दा अहिलेसम्म पनि सुनुवाई नभएको बताए । पोखरेलले चार हजार कर्मचारी भएको उद्योग २४ घण्टा चलाउनुपर्ने भए पनि १४ घण्टा लोडसेडिङ हुँदा लागत बढ्दै गएको बताए । उनले उद्योगमा बस्ने कर्मचारीको लागि छुटै लाइनबाट विद्युत दिएकोमा त्यो विद्युत समेत कटौती गरिएको गुनासो गरे । उद्योगमा विगतमा जडान गरिएका पोखरेलले जेनेरेटर तथा डिजेलको व्यवस्थापन लोडसेडिङ अन्त्यपछि त्यतिकै भएकाले तत्काल सञ्चालनमा ल्याउन नसक्ने अवस्थामा रहेको जानकारी दिए । 

विराटनगरमा सन्चालित शिवम् प्लाष्टिक उद्योगका सञ्चालक निखिल अग्रवालले बैंकको व्याज, ढुवानीको लागत बढ्दै गएको अवस्थामा प्राधिकरणले उद्योगहरुमा १४ घण्टासम्म लोडसेडिङ गर्नु गलत भएको बताए । उनले १४ घण्टा उद्योगहरुले लोडसेडिङ भोग्नु पर्दा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । उद्योग १२ देखि १४ घण्टासम्म डिजेलमा चलाउन सकिने अवस्था नभएको भन्दै अग्रवालले सरकारले तत्काल उद्योगलाई विद्युत सहज रुपमा आपूर्तिको व्यवस्था गर्नुपर्ने बताए । 

अग्रवालले विद्युत प्राधिरकण आफै उद्योगीलाई ठूला ठूला उद्योग ल्याउनुस् जति पनि विद्युत दिन तयार छौ भन्ने तर प्राधिकरण आफै १२ देखि १४ घण्टा लोडसेडिङ गर्ने कुरा व्यवहारिक नभएको बताए । उनले उद्योगमा विद्युत अभावको कारण ५० प्रतिशत कच्चा पदार्थ कटौती गरेर उत्पादन भइरहेको बताए । ५० प्रतिशत मात्रै उत्पादन गरेर उद्योग चल्न नसक्ने अग्रवालको भनाई छ ।

अहिले देशैभरका उद्योगीहरुले उद्योगमा पूर्वजानकारी विना १४ घण्टा लोडसेडिङ भएको भन्दै विरोध जनाई रहेका छन । उद्योगीहरुले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने माग समेत गरिसकेका छन । 

तर प्राधिकरणले भने कुनै पनि प्रतिक्रिया दिएको छैन । रुस–युक्रेन युद्धको कारण भारत र नेपालको ऊर्जा क्षेत्रमा समस्या देखिइरहेको छ  । युद्धको कारण भारतमा विद्युत महँगो भएको छ । एक साता अगाडि नेपाली ३८ रुपियाँसम्म पुगेको प्राधिकरणले बताएको थियो । ३८ रुपियाँमा भए पनि भारतबाट विद्युत खरिद गरेर नेपाली उद्योगलाई विद्युत आपूर्ति गर्ने प्राधिकरणले बताए पनि उद्योगमा लोडसेडिङ नहटेको उद्योगीहरुले बताएका छन । अहिले नेपालले महँगो मूल्यमा पनि भारतबाट बिजुली आयात गर्न सकेको छैन ।

करिब साढे तीन सय मेगावाट बिजुली अभाव हुन थालेपछि प्राधिकरणले ठूला उद्योगहरूमा रातिमा बिजुली काट्न थालेको बताएको छ । पछिल्लो एक सातायता प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गर्न थालेपछि उद्योगीहरुले प्राधिरकणको चर्को आलोचना गरिरहेका छन् । 

विद्युतमा देखिएको ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, एकाएक विद्युत् आपूर्ति बन्द हुँदा करोडौं रुपियाँ पर्ने मेसिनमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार र कर्मचारीको तलब, ज्याला बढ्नेलगायतका समस्या देखिएको उद्योगीहरुको गुनासो रहेको छ ।  

विद्युत् आपूर्ति नियमित हुन नसक्दा सुनसरी–मोरङलगायत औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या आएको छ । प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विद्युत् प्राधिकरणले प्रतिबद्धता जनाएको थियो । तर अघोषित रूपमा बिजुली कटौती गरिरहेको उद्योगी व्यवसायीहरले बताएका छन् ।

Advertisement

Advertisement