पशु हाटबजारमा देखिन छोडे गोरु

Advertisement

बाँके । जानकी गाँउपालिकाको पशु हाटबजारमा गोरु पाइन छोडेको छ । हाट बजारमा छिमेकी जिल्ला बर्दिया, सुर्खेत, दाङ, कैलाली र काठमाडौंबाट समेत व्यापारीहरु पशु किनमेल गर्नका लागि आउने गरे पनि पछिल्लो समय राँगा र भैँसी मात्रै बजारमा भेटिन थालेका हुन् । 

पहिला राँगा, भैँसी र गोरु बराबरको संख्यामा बजारमा देखा परे पनि अहिले २–३ वर्षको अन्तरमा गोरुको संख्या शुन्य भएको स्थानीय व्यापारीहरु बताउँछन् । २०४५ सालदेखि जानकी गाँउपालिका वडा नं.३ को रमवापुरमा पशु हाटबजार लाग्दै आएको छ । 

Advertisement

हाट बजारमा पशु व्यापारी, किसान र होटल व्यापारीहरु राँगा, भैँसी किन्नका लागि जाने गर्दछन् । राँगा र भैँसी पहिलाकै संख्यामा देखा परेपनि गोरु देखा पर्न छाडेको उनीहरुको भनाई छ । स्थानीय श्रीपशु हाट बजार व्यवस्थापन समितिका अध्यक्ष सुदीपकुमार बर्माले राँगा र भैँसीको मासु बिक्री गर्न मिल्ने तर गाई गोरुलाई हिन्दुहरुले पुजा गर्ने भएकाले काटमारमा रोक लगाएका कारण गोरुको संख्या कम हुँदै गएको बताए । हाट बजार २०४५ सालदेखि लाग्न शुरु गरे पनि २०६९ सालमा दर्ता गरेर नयाँ रुपले व्यवस्थापन गरेर सञ्चालन गरेको उनले बताए । यहाँ हरेक हप्ता शनिवार मेला लाग्छ । 

लकडाउनमा केही समय बजार नलागेपछि घाटा लागेको बताउँदै पशु व्यापारी प्रेमनारायण सोनकरले आफूलाई पशु व्यापार नै मन पर्ने गरेको बताए । उनले बजारमा अहिले उल्लेख्य मात्रामा भैँसी र राँगाको व्यापार भएको तर गोरुको व्यापार हुन छोडेको बताए । 

त्यस्तै अर्का पशु व्यापारी कुमार यादवले २०५० सालदेखि पशु हाट बजारमा क्रेता र बिक्रेता बनिरहेको बताए । पशु हाट बजारले धेरै सहजता प्रदान गरेको पनि उनले बताए । 

त्यस्तै स्थानीय पशु व्यापारी आमिरखा सोनकरले पहिला सर्लाहीदेखि व्यापारीहरु गोरु किन्न आउने गरेको भए पनि अहिले आउन छोडेको बताए । गोरु किनमेल गर्नका लागि छिमेकी देश भारतबाट आउने गरेका व्यापारीहरु पनि आउन छोडेको उनले बताए । 

सोनकरले भने, ‘किसानहरुले खेत जोत्नका लागि गोरुलाई प्रयोग गरे पनि मेलामा देखा पर्दैनन् । अवश्यक परेको मानिसहरुले गाँउबाटै गोरु किनमेल गरिरहेका हुन्छन् ।’ गोरु बिक्री हुन छोडेपछि बेच्न ल्याउने मानिसहरुले आसपासमै छोडेर जाने गरेको पनि उनले बताए । 

एकतिर पशु हाटबजारमा गोरु देखा नपर्नु र अर्कोतिर बजार क्षेत्रमा त्यही गोरु छाडा रुपमा छोडिदिँदा दुर्घटना हुने गरेको व्यापारीहरु बताउँछन् । छाडा गोरुलाई धेरै गाँउपालिका तथा नगरपालिकाहरुले रेखदेख गरिरहे पनि पछिल्लो समय बजारमा गोरु देखिन छोडेको व्यापारीहरु बताइरहन्छन् । 

Advertisement

Advertisement