‘अन्तरिक्ष शान्ति’सम्मको परिकल्पना त्यसै गरेका होइनरहेछन् हाम्रा ऋषिमुनिहरुले

Advertisement

यही फाल्गुन १२ गते बिहीबार, तदअनुसार २४ फेब्रुअरी २०२२ का दिनदेखि विश्वको आणविक शक्ति सम्पन्न मध्येको एक देश रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । यस युद्धअघि र पछिका दिनमा पाश्चात्य देश अमेरिकासहितका अनेकौँ शक्तिशाली देशका नेताहरुले वाकयुद्ध पनि निरन्तर गरिरहेका छन् । तर भौतिक युद्ध न रोकिएको छ, न त रोकिने संकेत देखिएको छ । 

युद्ध हुनुमा अनेकौँ कारण होलान् । कसैले अमेरिकासहित देशहरुको पक्षसहित यस युद्धमा रुसको कमजोरी देखिरहेका होलान, कसैले रुसको दृष्टिकोणसहित युक्रेनको उत्तेजक भूमिका दोषी देखिरहेका होलान् । आखिर जे जस्तो विश्लेषण गरे पनि युद्ध शुरु भयो । अहिले चलिरहेको छ । लाखौँ लाख मानिस विस्थापित भइसकेका छन् । हजारौँले ज्यान गुमाएका छन् । हजारौँ बालबालिकाको अवस्था भयावह बनेको छ । अन्धकारमा धकेलिएको छ । चाहे जे जस्तो कारणबाट युद्ध भएको भए पनि विश्वका महाशक्ति राष्ट्रहरुको पक्षधरता र द्वन्द्वात्मक सक्रियताका कारण यो युद्ध भएकोमा दुई मत छैन् ।

Advertisement

युद्ध शुरु भएको तेस्रो दिन (२७ फेब्रुअरी) संभावित पाश्ताच्य देशहरुको दबाबलाई स्थिर राख्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना उच्च रक्षा तथा सैनिक अधिकारीहरुलाई आणविक हतियार तयारी अवस्थामा राख्न निर्देशन दिए । युद्ध शुरु भएदेखि नै अहिलेसम्म अमेरिकी राष्ट्रपति जो बाइडनले रुसका राष्ट्रपति पुटिनलाई ‘युद्ध पिपासु’ देखि अनेकौं विशेषणले सम्बोधन गरिसकेका छन् । तर युद्ध रोकिनुभन्दा विश्व ध्रुबिकृत हुँदै गएको देखिएको छ । यसले तत्काल विश्वका महाशक्ति राष्ट्रहरु आणविक युद्धमा होमिने अवस्था नभए पनि विश्वमा कुनै पनि बेला उनीहरु आफ्नो हित र स्वार्थ रक्षाका लागि आणविक युद्धमा होमिनसक्ने अवस्था नकार्न सकिन्न ।

त्यसो त दोस्रो विश्वयुद्धको अवधिमा विश्वको आणविक अस्त्रसम्पन्न राष्ट्र अमेरिकाले एशियाली मुलुक जापानको हिरोसिमा र नागासाकीमा सन १९४५ को अगष्ट ६ र ९ मा आणविक बमद्वारा आक्रमण गरेको थियो जसमा दुई लाख २० हजारभन्दा बढि मानिसहरु मारिएको तथ्यांक छ । यस आक्रमणसँगै भयानक दोस्रो विश्वयुद्ध रोकिन पुगेको इतिहास छ । विश्वका सामरिक विशेषज्ञहरुले अब तेस्रो विश्वयुद्ध भएमा यो पृथ्वी नै मानव बस्नयोग्य नरहने गरि ध्वंश हुनसक्ने विश्लेषण गरिरहेका छन् । आज विश्वमा आणविक हतियारको विकास र परीक्षण एक अघोषित प्रतिस्पर्धाको विषय बनिरहेको छ । यो तीब्रतम गतिमा अघि बढिरहेको देखिन्छ ।

अन्तरिक्षमा पनि शान्तिको आवश्यकता बोध
धार्मिक–आध्यात्मिक जगतले सदैव हिंसा, युद्ध र नरसंहारको विपक्षमा वकालत र माहोल बनाउँदै आएको छ । यसको आधारस्तम्भ संसारकै सर्वाधिक पूरानो सभ्यता ‘वैदिक सनातन संस्कृति’बाट प्रादुर्भाव भएको हो । संसारकै सर्वाधिक पूरानो धार्मिक ग्रन्थ वेदमा हाम्रा ऋषिमुनि विद्वान वैज्ञानिकहरुले यस पृथ्वीमा मात्र शान्ति कायम गर्ने आवश्यकता मात्र नभई अन्तरिक्षसम्ममा हुने सम्भावित द्वन्द्व र त्यसको रोकावटका लागि शान्तिको परिकल्पना गरेको पाइन्छ । आजभन्दा हजारौँ हजार बर्षअघि भौतिक स्वरुपमा लेखिएको विश्वकै पहिलो पुस्तक ‘वेद’मा यस विषय लिपिबद्ध हुनुले हाम्रा ऋषिमुनि विद्वान वैज्ञानिकहरु कति हदसम्म दुरदर्शी थिए भन्न सकिन्छ । आज २० औँ र २१ औँ शताब्दीको चरणमा देखापरेको यस अवस्था र अझ वृद्धि हुने अशान्तिको लहरप्रतिको आँकलनमा हाम्रा ऋषिमुनिहरु कुन हदसम्म विश्लेषण गर्नसक्ने तहमा थिए भन्ने कुरा यसबाट स्वतः सिद्ध हुन्छ । 

चार वेदमध्ये युजुर्वेदअन्तर्गत शुक्ल युजुर्वेदमा भनिएको छ:
ॐ द्यौः शान्तिरन्तरिक्ष शान्तिः पृथ्वीशान्ति रापः शान्ति रोषधयः शान्तिः ।
वनस्पतयः शान्ति र्विश्वेदेवाः शान्ति ब्रह्म शान्तिः सर्ब शान्तिः शान्तिरेव शान्तिः सामाशान्तिरेधि ।।

यस मन्त्रमा भनिएको छ– द्युलोक शान्ति, अन्तरिक्षमा शान्ति, भूलोकमा शान्ति, जलमा शान्ति, वनस्पतिमा शान्ति, ब्रह्माण्डमा शान्ति, सर्वजगतमा शान्ति र समग्र संसारमा शान्ति होस् । परमात्माको कृपाले व्यक्ति–व्यक्तिको हृदयदेखि सर्वजगतमा शान्ति कायम होस् । 

योभन्दा संसारको शान्ति र मानव कल्याणका लागि अभिव्यक्ति विशिष्ट मुलमन्त्र सायदै कहीं कतै होला जुन हाम्रा ऋषिमुनि विद्वान वैज्ञानिकहरुले दिनु भएको हो । यो मुलमन्त्र संसारमा शान्ति कायम गर्ने मुलमन्त्र हो । यस मन्त्रमा भनिए झै आज संसारको जल, थल, आकाशदेखि अन्तरिक्षसम्म अशान्तिको बादल मडारिरहेको सन्दर्भमा शान्तिको लहर कायम गर्नुपर्ने अवस्था आएको छ । विश्व शान्तिका लागि हजारौँ हजार बर्षअघि गरिएको परिकल्पना आजका दिनमा र अझ भोलीका दिनसम्म अझ सार्थक रहिरहनेमा कसैको दुई मत रहन सक्दैन् ।

‘बसुधैव कुटुम्बकम्’ को सिद्धान्तको तत्वबोध
बृहद् दृष्टिकोणमा यो संसार एउटै परिवार हो भन्ने सन्देश हाम्रै सभ्यताको दृष्टिकोण हो । सबैले आ–आफ्नो उन्नति प्रगतिसहितको स्वार्थमा यात्रारत रहनु मात्र यात्रा होइन् कि बृहत्तर हितका लागि यो संसारलाई नै परिवार मानेर कदमहरु चाल्नुपर्ने आवश्यकता बोध हाम्रै ऋषिमुनि विद्वान बैज्ञानिकहरुले गर्नु भएको हो । यसको तत्वबोध आज संसारमा चुनौति बनेर खडा भएको जलवायु परिवर्तन, मौसम परिवर्तन, वातावरणको असन्तुलन, जल प्रदुषण, वायु प्रदुषण, ध्वनी प्रदुषणलगायतका विषय वस्तुले यसको महत्वलाई दिन प्रतिदिन पुष्टि गरिरहेकै छ । 

महोपनिषद्मा भनिएको छ –
अयं नीजः परोवेति गणना लद्यु चेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।।

हो, आ–आफ्ना राष्ट्र प्रमुखहरुलाई आ–आफ्ना देशका नागरिकको हित हेर्नुपर्ने पहिलो दायित्व होला नै । तर सँगसँगै आफ्नो हित र अरुको पनि हितलाई एकै रुपमा साझा बनाएर अघि नबढेमा संसारमा कुनै एक देशलाई मात्र असजिलो हुने नभई सबैलाई असजिलोको भुमरीले घुमाउने निश्चित छ । के आज देखिएको जलवायु प्रदुषण, वायु प्रदुषण, जल प्रदुषण, मौसम परिवर्तन कुनै खास एक देशका मात्र समस्या हुन् ? यदि होइनन् भने संसारका सबै देशहरुलाई साझ परिवार मानेर समस्या समाधान गर्नुपर्ने होइन् र ?

श्रीलंका संकट र विश्व जगत 
हाम्रै दक्षिण एसियाली देश श्रीलंका अहिले चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । कतिसम्म भने पेट्रोलियम पदार्थ किन्न नसकेर १३ घण्टाभन्दा बढिको लोडसेडिङ भएको छ । कागज किन्न नसकेर परीक्षा रोकिएका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको मूल्य चरम विन्दुतर्फ निरन्तर छ । त्यहाँका सर्वसाधारण आक्रोशको बेग बोकेर सडकमा ओर्लिएका छन् । उनीहरुमाथि लाठी बर्साइएको छ । शान्ति सुरक्षा कायम गर्न निषेधाज्ञाको सहारा लिइएको छ ।

अस्पतालहरुमा पूर्वनिधारित शल्यक्रियाहरु रोकिएको छ । श्रीलंकाली जनतामा भविष्यप्रतिको घोर निराशासहित वर्तमान अन्धकारमा धसिइरहेका छन् । श्रीलंकाको वर्तमान अवस्थाबारे विश्लेषकहरुले आ–आफ्नै दृष्टिकोणसहित विश्लेषण गरिरहेका पनि छन् । कसैलाई लागेको छ– श्रीलंकाले चीनसँगको ऋणले यो अवस्था आयो । कसैलाई लागिरहेको छ– भारतसँग श्रीलंकाले सम्बन्ध दूरी बढाउँदा यो अवस्था आयो । चाहे जे जसरी यो अवस्था आएको भए पनि श्रीलंकाको यो अवस्था मानवीय संकटको अवस्था हो । र यो पनि यथार्थ हो कि श्रीलंकाको यो अवस्था विश्वका महाशक्ति राष्ट्रहरु वा महाशक्तिउन्मोख राष्ट्रहरुबीचको टकरावको परिणती पनि हो । देशको अवस्थाले गर्दा पूर्वनिर्धारित शल्यक्रिया पर सरेको सूचना पाएका ती श्रीलंकाली परिवारको पिर र व्यथा विश्वका अन्य देशका नागरिकको झै हुन्छ । श्रीलंकाली नागरिकको आँखाबाट बहने आँशु विश्वका अन्य देशका नागरिकको झै नुनिलो नै हुन्छ । तर विश्व समुदाय श्रीलंकाको यस अवस्थामा पर्यवेक्षकको भूमिकामा दर्शकदीर्घामा उभिएको छ । 

जसरी कुनै पनि एक जंगली पशुलाई गोही वा सिंहको वथान वा बाघको बथानले आक्रमण गर्दा अन्य पशुहरु भाग्छन् र अलि पर गएर आक्रमणबाट बच्न संघर्षरत पशुलाई रमिते बनेर हेर्छन्, श्रीलंकाको हकमा यस्तै भइरहेको छ । 

त्यसैले होला हाम्रा ऋषिमुनि विद्वान वैज्ञानिकहरुले मानवताको हद बुझाउन बृहदारण्ढकोपनिषद्मा लेख्नु भयो–
ॐ असतोमा सद्गमय ।
तमसोमा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।।

मानवजाती र विश्व कल्याणका लागि हाम्रा ऋषिमुनिहरुले कुनै एक देशका कुनै एक–एक नागरिकलाई मात्र होइन् संसारका हरेक मानव र प्राणीलाई शान्ति र कल्याणको मुल मन्त्रहरु दिनुभयो । र पुकार गर्न सिकाउनु भयो– हे ईश्वर असत्यबाट सत्यको मार्गमा लैजानुहोस् । अन्धकारबाट उज्यालोतर्फ लैजानुहोस् । मृत्यु र मृत्युको भयबाट जीवन तथा अमृतको मार्गमा लैजानुहोस् ।

र हरेक मन्त्र तथा अनुष्ठान तथा यज्ञको अन्तमा मुल शब्द दोहो¥याईरहने व्यवस्था गर्नु भयो– ॐ शान्तिः शान्तिः शान्तिः ।।

यो विश्वमा शान्तिको अपेक्षा नगर्ने को होला र ? यदि सहज अवस्थामा कोही कसैलाई यसको तत्वबोध नभएको पनि हुन सक्छ । तर यतिबेला युक्रेनमा आफू र आफ्ना परिवारको जीवन रक्षाका लागि संघर्षरत ती तमाम नागरिकलाई शान्तिको आवश्यकता छ । आफू र आफ्ना परिवारको जीवन रक्षाका लागि महंगीको चपेटाबीच संघर्षरत श्रीलंकाली नागरिकलाई यसको आवश्यकता छ । त्यसैले विश्व भ्रातृत्व, भगिनीत्व र वसुधैवकुटुम्बकम्को व्यवहारिक अर्थको खाँचो छ । आउनुस् हामी सबै मिलेर यो सन्देश संसारभर पु¥याऔँ र हजारौँ हजार बर्षअघि विश्व शान्तिको मुल मन्त्र रच्ने हाम्रा ऋषिमुनि विद्वान वैज्ञानिकहरुप्रति नमन व्यक्त गरौँ ।

(लेखक पन्त युवा ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् तथा हस्तरेखाविद् हुन् । सम्पर्क ९८१३६३७२३८)

Advertisement

Advertisement