बैंकमा पैसा राख्ने ब्याज खाने कहिल्यै उँभो लाग्दैन्ः  सुरेन्द्र पाण्डे

Advertisement

झापा । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालीहरुमा जागिर खाने, ब्याज खाने र भाडा खाने चलन रहेको बताउँदै यो बानी सुधार नभएसम्म हाम्रो जीवन उँभो नलाग्ने बताएका छन् । 

‘झापा सहकारी सम्मेलन’मा सोमबार उनले, ‘हामी नेपालीहरुमा जागिर खाने, ब्याज खाने र भाडा खाने चलन छ । यसको अन्त्य नगरेसम्म हाम्रो जीवनस्तर र देश उँभो लाग्दैन । जागिरले जीवन चलाउन सकिएला । तर भविष्यलाई जोगाउन सकिँदैन ।’ 

Advertisement

साथै, पाण्डेले उत्पादनयोग्य जमिन बेचेर बैंंकमा पैसा राख्ने र त्यसको ब्याजबाट जीवन चलाउने पनि उँभो नलाग्ने बताए । नेपालमा धेरै भ्रष्टाचार भयो भन्नेमा आफू सहमत नभएको तर्क गर्दै उनले भ्रष्टाचार मुलुकको पहिलो समस्या नभएर वेरोजगार जनशक्ति देशको पहिलो समस्या रहेको बताए । 

पाण्डेले प्रविधिको परिवर्तनले ल्याएको अर्थतन्त्रको प्रणालीलाई आत्मसाथ गर्दै नयाँ सोच र चिन्तनका साथ सहकारीहरुको समन्वयमा नयाँपनको सुरुवात गर्नुपर्ने बताए । उनले भने, ‘उद्योगको स्वरुपमा परिवर्तन गरी समाजको आवश्यकतालाई सम्बोधन गर्न हाम्रो सोच र दृष्ट्रिकोण 
बदलौं ।’  

नौ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न दुई दिने सम्मेलनमा वित्तीय तथा सहकारी क्षेत्रका विज्ञले कार्यपत्रहरु पेश गरेका थिए । झापा जिल्ला सहकारी संघको आयोजना र अर्ब क्लवमा रहेका ११ वटा सहकारीको सहआयोजनामा सम्पन्न सम्मेलनमा झापाका तीनसय बढी सहकारीका पाँचसय सहकारीकर्मी सहभागी थिए । 

सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुअघि संघले यस वर्ष सम्मान तथा पुरस्कृत गर्ने संस्था र व्यक्तिको नाम सार्वजनिक गरेको थियो । जसमा २५ हजार ५५५ रुपियाँ राशीको झापा सहकारी सम्मान पुरस्कार राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष दीपकप्रकाश बास्कोटालाई प्रदान गरिने छ । त्यस्तै, १० हजार ५५५ रुपियाँ राशीका पूर्वसञ्चालक सम्मान र उत्कृष्ट सञ्चारकर्मी पुरस्कार क्रमसः हरिकिशोर आचार्य र लक्ष्मण ढकाललाई प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा सिम्रिक साकोस, उत्कृष्ट कृषि सहकारीमा लगनशील कृषि सहकारी संस्था, उत्कृष्ट बचत कारोबारमा नेपाल बहुउद्देश्यीय र उत्कृष्ट कर्जा कारोबारमा फाल्गुनन्द साकोसलाई पुरस्कारस्वरुप नगद १० हजार ५५५ रुपियाँ प्रदान गरिनेछ ।

यसैबीच, उत्कृष्ट महिला व्यवस्थापकमा हिमाञ्चल साकोसकी अरुणा राई र उत्कृष्ट पुरुष व्यवस्थापकमा विराट बहुउद्देश्यीयका रुद्र सिटौलालाई नगद पाँच हजार ५५५ रुपियाँसहित पुरस्कृत गरिने संघले जानकारी दिएको छ । उनीहरुलाई संघको साधारणसभामा पुरस्कार प्रदान गरिनेछ । 

सम्मेलनको नौ बुंँदे घोषणा यस्तो छः 
१. सहकारी क्षेत्रलाई नीति, विधी र प्रविधिमैत्री बनाउन हामी प्रतिवद्व छौं ।
२. सहकारी अभियान र संस्थाबीच अन्तरसम्बन्ध विकास गर्न हामी प्रतिवद्ध छौं ।
३. सहकारी व्यवसायलाई उत्पादन, बजारीकरण र उद्यमशिलताको श्रृंखलाउन्मूख गराउन समन्वयकारी भूमिका खेल्न हामी प्रतिवद्ध छौं ।
४. संस्थामा संस्थागत विकास वित्तीय ब्यवस्थापन एवम् सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन हामी प्रतिवद्ध छौं ।
५. विद्यमान सबै तहगत सहकारी ऐन, कानूनहरु कार्यान्वयन गर्न तथा सो कानूनमा ब्यवस्था भएका सन्दर्भ ब्याज दर लगायतका ब्यवस्थालाई सहकारी मैत्री बनाउन पहल गर्न हामी प्रतिवद्ध छौं 
६. राष्ट्रिय अर्थतन्त्रमा सहकारीबाट भएको योगदानको वास्तविक तथ्याड्ढ पहिल्याउन तथा राष्ट्रिय गणनामा समावेश गर्न निरन्तर पैरवी गर्न हामी प्रतिवद्ध छौं ।
७. संस्थाको कारोबारको सूरक्षाको पूर्ण प्रत्याभूति गर्न गराउने दिशामा सहकारी अभियान र संस्थालाई अग्रसर गराउन हामी प्रतिवद्ध छौ ।
८. सदस्यसँग नियमित समन्वय गरी तरलताको समस्या समाधानका लागि नियमित बचत र ऋणको कारोबार गर्न गराउन हामी प्रतिवद्ध छौं ।
९. सदस्य, सञ्चालक, ब्यवस्थापन र सुपरिवेक्षण समितिलाई सहकारी तालिम प्रशिक्षण नियमित सञ्चालन गरी क्षमता अभिबृद्धि गरी प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्न हामी प्रतिवद्ध छौ ।

Advertisement

Advertisement