नेपाली भूमिबाट ब्रिटिस सैनिक क्याम्प तत्काल हटाउन माग

Advertisement

काठमाडौं । गोर्खा सैनिकहरुको लागि लड्दै आएका गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले नेपाली भूमिबाट ब्रिटिस सैनिक क्याम्प हटाउन माग गरेको छ । 

बिहीबार पत्रकार सम्मेलन गर्दै गेसोले नेपालको सार्वभौमसत्तामाथि ठाडो अतिक्रमण गरेको भन्दै तत्काल ब्रिटिस क्याम्प हटाउनुपर्ने माग गरेको हो । गेसोका संरक्षक पदमबहादुर गुरुङले नेपाली भूमिबाट तत्काल ब्रिटिस क्याम्प नहटाएसम्म सार्वभौमसत्ता नरहने टिप्पणी गरे । 

Advertisement

गत चैत्र ९ गते आफू नेपाली भूमिमा ब्रिटिस सैनिक क्याम्प हटाउनेबारे निवेदन दर्ता गर्न सर्वोच्च अदालत गएको पनि गुरुङले सुनाए । अदालतले आफूहरुको जायज मुद्दा दर्ता गर्न नमानेको गुनासो गर्दै उनले भने, ‘नेपालको संविधानविपरित नेपाल, भारत ब्रिटिशको बीचमा गोप्यरुपमा त्रि–पक्षीय सन्धी भएको रहेछ । अदालतमा गएपछि मात्र रहस्योघाट्न भयो ।  नेपाल, भारत र ब्रिटिशको बीचमा त्रिपक्षीय सम्झौता भएको छ । यो मुद्दा दर्ता गर्न मिल्दैन भनेपछि हामी आश्चर्यमा पर्यौं ।’

गुरुङले बेलायतले नेपालीहरुलाई युद्धमा प्रयोग गर्ने तर युद्ध सकिएपछि नेपाल–भारतको बोर्डरमा ल्याएर छाड्ने गरेको सुनाउँदै नेपाली युवाहरुले पटक–पटक बेलायतको पक्षमा युद्ध गर्दा पनि नेपालीलाई केही सुविधा नदिएको बताए । 

अधिवक्ता बेलबहादुर गुरुङले देशमा धेरै परिवर्तत भए पनि बेलायत र नेपालको सन्धी पुनरावलोकन नगरेको भन्दै सरकारसँग गुनासो गरे । नेपालले आफ्ना युवा शक्तिलाई विदेश पठाउने गरेको भए पनि कुनै पुनरावलोकन नगरेर युवाहरुलाई दुरुपयोग गरेको गुरुङको भनाई छ । 

उनले थपे, ‘यसलाई युवा तस्करी भन्न मिल्नपर्ने हो ।’ बेलायतमा नेपाली युवाहरुले रगत बगाएर बलिदान गरे पनि त्यसको बदलामा केही नपाएको गुरुङले दुखोसो पोखे ।  

युवाहरुको यस्तो विषयलाई लिएर सर्वोच्च अदातलमा जाँदा पनि मुद्दा दर्ता नभएको भन्दै उनले आक्रोस पोखे । गुरुङले भने, ‘न्यायापालिकाले हामीहरुको जायज माग सुनुवाई भएन । त्यसमा हाम्रो आपत्ति छ । बाबुआमा नेपालमा बसेका छन्, छोराहरु कहाँको युद्धमा लडिरहेका छन् ? पैसा मात्र ठूलो कुरा होइन् ।’ 

डा. सुरेन्द्र केसीले गेसोले उठाएको मुद्दालाई सर्वोच्च अदालतले दर्ता नगर्नु निकै गम्भीर विषय भएको बताए । दोस्रो विश्वयुद्धमा दुई लाख नेपालीले ब्रिटिशको पक्षबाट युद्ध गरेको स्मरण गराउँदै उनले विश्वयुद्धमा तीमध्ये करिब सात हजार नेपालीले सहादत प्राप्त गरेको बताए । 

केसीले भने, ‘नेपाल सरकारले यो विषयमा औपचारिक आवाज ननिकाल्नु दुःखद् हो ।’ विश्वभर ६२ लाख नेपाली युवायुवतीहरु विभिन्न काम गरिरहेको उनले सुनाए । केसीले तीन हजार भन्दा केही बढि मात्रै नेपाली अहिले ब्रिटिश सेनामा कार्यरत रहेको भन्दै उनले यो त सामान्य कुरा भएको सुनाए । 

केसीले भने, ‘३५ सय भनेको कुनै औचित्यको संख्या होइन् । पाकिस्तान, चीन, रसिया, नेटोसँग नेपालको कुनै दुश्मनी नभए पनि युवाहरु लड्नुपर्ने बाध्यता छ ।’ 

विश्वभरका सबै राष्ट्रहरुलाई नेपालले एउटै आँखाले हेर्ने गरेको उल्लेख गर्दै उनले नेपालको ब्रिटिशसँग विशेष सम्बन्ध रहेको जिकिर गरे । लाहुरेहरुको घरपरिवारले लगाएको सुकिलोमुकिलो देखिने गरेपनि उनीहरुको वास्तविक पीडा भने अर्कै केसीको भनाई छ । 

सुरुवातमा जनजातिका छोराहरुमात्रै लाहुरे बन्ने किताबमै प्रस्ट लेखिएको भए पनि पछि अन्य जातिहरुको पनि ब्रिटिश सेनामा सहभागिता बढ्दै गएको उनले सुनाए । केसीले नागरिकले कतिपय विषयमा असन्तुष्टि राखे पनि सरकारले आफ्नो किसिमले समस्याको समाधान गर्ने प्रतिवद्धता जनाउनुपर्छ भन्दै सरकारले ब्रिटिश सरकारसँग वार्ता गरेर गेसोले उठाएको समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए । 

यो विषय ब्रिटेनले नबुझेको हो भने नेपालले बुझाउनपर्ने उनले बताए । केसीले सरकारलाई ब्रिटिशसँग अविलम्ब वार्ताको लागि आवश्यक कदम चाल्न पनि आग्रह गरे । नेपालीहरुले बेलायतमा गरेको दुःखको क्षतिपूर्ति दिनुपर्ने भन्दै उनले उक्त समस्या सधैंका लागि सुल्झाउन सरकारसँग आग्रह गरे ।

Advertisement

Advertisement