नेपाल आएको मास्टर सेफहरुको टोली, पोखरा, जनकपुर, बर्दिया हुँदै सगरमाथा आधार शिविरसम्म पुग्ने

Advertisement

काठमाडौँ। नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली हिजो बिहीबार नेपाल आइपुगेको छ । कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत साहसहितको टोली नेपाल आएको हो । 

‘नाउ नेपाल इज ओपन’ सन्देश दिन र नेपालको मौलिक खाना, संस्कृति, गन्तव्य प्रवर्द्धन र पर्यटन पुनरुत्थान अभियानका लागि साहसँग आएको टोलीले १२ दिन नेपालको भ्रमण गर्नेछ । 

Advertisement

साहसहितको टोलीसँग नेपाल भ्रमणको उद्देश्य र अनुभवबारे कर्पोरेट नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानीः

कोरोना महामारीपछि तपाईंको यो दोस्रो भ्रमण हो । यो भ्रमण केका लागि हो ?
म एक वर्षपछि नेपाल आउँदै छु। यसअघि नेपाल आउँदा कोरोना महामारीकै समय थियो। हाम्रो देश नेपाललाई पर्यटन क्षेत्रमा ब्रस्ट चाहिएको छ। मेरोतर्फबाट के गर्न सकिन्स पर्यटन क्षेत्रमा ? भनेर.... ‘नाउ नेपाल इज ओपन’ भन्नको लागि मेरो व्यक्तिगत सहयोग के हुनसक्छ ? भन्ने सोच बनाएर नेपालमा मास्टर सेफहरुलाई लिएर आएको छु । उनीहरुलाई लिएर नेपालको विभिन्न ठाउँ–ठाउँमा विभिन्न कार्यक्रमहरु जस्तै कुकिङ, स्पाइसेस हंटिङ र एभेरस्ट बेस क्याम्प हुँर्दै कालापथ्थरसम्म गएर कुकिङ गराउँने योजना छ ।

साथै, विश्वमा एउटा सकारात्मक सन्देश जाओस, हाम्रो नेपाल खुल्ला भइसकेको छ, हामीलाई यो सन्देश दिन पनि आवश्यक छ। नेपालमा पर्यटक आउँछ । हाम्रो मुख्य आयस्रोत भनेको पर्यटन हो । कोरोना महामारीका कारण पर्यटक नेपाल पहिले जसरी आउन सकेको छैन् ।,देशको लागि मैले योगदान कसरी गर्न सक्छु ? भनेर मैले योजना बनाएको हो । 

मास्टर सेफहरुलाई नेपाल जाउँ भन्दा सुरुमा उहाँहरुले कस्तो प्रतिक्रिया दिनुभएको थियो ?
नेपाल हाम्रो यस्तो देश हो, जसले पनि सुन्छ । ‘आइ वान्ट टू गो दियर’ भन्छ । मैले जब उनीहरुलाई मसँग यस्तो योजना छ, नेपाल जाने हो ? भनेर प्रश्न गर्दा उनीहरुले खुसी भएर ‘जानुपर्छ’ भन्यो। उनीहरुले हामीसँग कुनै पनि शूल्क नलिई आएका छन्, ‘फ्रि अफ् कस्ट’मा,  नेपालको माया र हाम्रो मायाको कारण । नेपालको प्रोत्साहनको लागि उनीहरुले नेपालको झन्डा भएको ज्याकेट पनि लगाएर आएका छन् । एकदमै उत्साहित छन् । साथै आफ्नो परिवार बालबच्चाहरु पनि साथमा लिएर आएका छन् ।

एभेरस्ट बेस क्याम्प हुर्दै कालापथर पनि जाने तपाईंहरुको योजना रहेछ । त्यहाँ के गर्ने योजना हो ?
कालापथरमा गएर उच्च उचाइको अनुभव लिने । नेपाली नयाँ वर्ष हामी त्यहाँ मनाउने छौं । पकाउनको लागि त्यहाँ के संभव छ ? के पकाउन सकिन्छ ? कस्तो अनुभव हुन्छ ? हामी त्यो अनुभव लिन चाहान्छौं । त्यहाँबाट हामी विश्वलाई सन्देश दिन चाहान्छौं र नेपाली नयाँ वर्षको शुभकामना दिन चाहान्छौं । साथै, नेपाल सुन्दर र खुल्ला छ भन्ने सन्देश दिने छौं । 

कति दिनको बसाई छ उनीहरुको नेपालमा ?
उनीहरु नेपालमा १२ दिन बस्छन । म चाहीं अरु केही दिन बस्ने छु । मास्टर सेफहरुलाई कलेजहरुमा लिएर कुरिनरीका विद्यार्थीहरुलाई मास्टर सेफ विजेताहरुबाट केही सिकाउने, सिक्न प्रेरित गर्न लागेका छौं । 

‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स रिम्याच २०२०’ का फाइनलिस्ट सेफ फिली आर्मिटेजले नेपालमा भव्य स्वागत गरिएकोमा खुशी प्रकट गरिन् । उनले भने, ‘हामीलाई नेपालमा यसरी स्वागत गरियो, त्यसरी मैले कहिल्यै पनि अनुभव गरेको थिएन् । त्यसको लागि नेपाली सबैलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । 

उनले आफूहरु नेपाली खाना खान पाउँदा, नेपाली संस्कृतिको अनुभव लिन पाउँदा र नेपालको सुन्दर शहर घुम्न पाउँदा निकै उत्साहित भएको बताइन् । 

अर्का शेफ बार्ट भान डेर लीले नेपालीको स्वागतबाट निकै रमाइलो महशुस गरेको बताए । उनले परिवारसँग नेपाल भ्रमण गर्दा शेफ र नेपालीहरुले गरेको स्वागत अविश्वसनीय रहेको बताए । बार्टले भने, ‘हामी नेपाली खाना, संस्कृति र सुन्दर देश नेपालको बारेमा सबै कुरा जान्न पाउँदा निकै उत्साहित छौं ।’

शेफ एलेक्स वेबले यो आफ्नो पहिलो नेपाल भ्रमण भएको बताउँदै यो अविश्मरणीय बनेको बताए । नेपाल आइपुगेको ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । नेपाली संस्कृति झल्कने पहिरनमा पञ्चेबाजासहित सेफ टोलीलाई स्वागत गरिएको थियो ।  

प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको निम्तोमा उनीहरु नेपाल आएका हुन् । कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत सेफ साहसहितको टोलीलाई नेपाल बोलाएर मौलिक खाना संंस्कृति र गन्तव्य प्रवर्द्धनमा सहभागी गराइने पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडालले बताए।  

उनले बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफलाई नेपाल भ्रमण गराई गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवर्द्धन गर्न पाटाले गरेको पहलले महामारीपछिको पर्यटन पुनरुत्थानमा विशेष सहयोग हुने बताए । 

मास्टर सेफहरुको टोली नेपालका विभिन्न स्थानमा पर्यटन प्रवर्द्धनमा सहभागी हुन, मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्न नेपालमा आमन्त्रण गरिएको भन्दै पाटा नेपाल च्याप्टरले १० दिनसम्म हुने कार्यक्रमका क्रममा पोखरा, जनकपुर, बर्दिया र सगरमाथा आधार शिबिरसम्म पुग्नेछन् । जनकपुरमा मिथिला खाना तथा रेसिपी विषयक कार्यक्रममा सहभागी हुनेछ । 

उनीहरुले यही अप्रिल ११ मा काठमाडौँमा हुने पाटा नेपाल च्याप्टरको ४५ औँ वार्षिक साधारणसभामा पनि सहभागी हुनेछन् । त्यसपछि उनीहरु १३ तारिखमा लुक्ला जाने र सगरमाथा आधार शिविर कालापत्थर भ्रमणको कार्यक्रम छ । लुक्लाबाट फर्केपछि १५ तारिखमा बर्दिया जाने कार्यक्रम छ । बर्दियामा थारु संस्कृति तथा खानासम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम राखिएको आयोजकले जनाएको छ । 

मास्टरशेफलाई नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हंटिङ कार्यक्रम आयोजना गरिनेछ । अप्रिल १७ मा सेफ एशोसिएशनको कुकिङ प्रतियोगितामा सहभागी भएर सेफ टोली फर्किनेछ । यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले प्रवर्द्धन् गरेको छ ।

Advertisement

Advertisement