सहकारीमार्फत युवा उद्यमशीलता बढाउन नेशनल युथ फोरमको आयोजना

Advertisement

काठमाडौं । मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरुको भनाइ छ ।

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनल युथ फोरमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेकाले अब आर्थिक र मानसिक सन्तुष्टिको समृद्धि आवश्यक रहेको औंल्याए । देशमा राजनीतिक परिवर्तन आइसकेकाले अब युवाहरुले आर्थिक समृद्धितर्फ उन्मुख हुनुपर्ने बताएका हुन् ।

Advertisement

मन्त्री पौडेलले विदेशमा जाँदा मात्र राम्रो हुने, विदेशमा मात्र सफलता हासिल हुने भन्ने खालको मानसिकता अन्त्य गर्दै नेपालमै संभावनाहरु खोज्नुपर्ने बताए । उनले भने,‘देशमा ढिला भए पनि विकास हुँदैछ । पूर्वाधार निर्माण भइरहेको छ । दिगो विकासको लक्ष्य अघि बढाइएको छ । अब समृद्धिका लागि युवाहरुले स्वदेशमै संभावना देख्नुपर्छ ।’

सहकारीलाई देशको संविधानले तीन खम्बे अर्थनीतिमा समेटेकाले दिगो विकास लक्ष्यका साथ समूहगत रुपमा युवाहरु लाग्न पनि उनले आग्रह गरे । सहकारीमा लागेका युवाहरुलाई प्रोत्साहित गर्दै मन्त्री पौडेलले लगानी गर्न नडराउन आब्हान गरे । अर्थतन्त्रका आधार स्वीकार गरिएको सार्वजनिक, निजी, सहकारी क्षेत्रले एक आपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष एवम संविधान सभा सदस्य ओमदेवी मल्लले सहकारीमार्फत नेपाली युवाहरु अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्दै गएकाले सहकारी मुलुक समृद्धिका आधार स्तम्भ भएको बताइन् । अन्तर्राष्ट्रिय सहकारी महासंघमा पनि युवाहरुको सहभागिता बढ्दै गएको जानकारी दिंदै उनले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्नुपर्ने बताइन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयका सचिब रामप्रसाद थपलियाले देशको सबै तहको विकास र समृद्धिका लागि सहकारी मोडेल महत्वपूर्ण हुने बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरुलाई उद्यमशिलता जोड्नसके समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने धारणा राखे ।

सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले अब सहकारीबिना उत्पादन क्षेत्र अघि बढ्न नसक्ने भन्दै उत्पादन वृद्धिका लागि सहकारी क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरे । उनले युवाहरुलाई आफ्नो अधिकारका लागि सक्रिय हुन समेत सुझाव दिए ।

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ् सुब्बाले सहकारी क्षेत्रको अबको फोकस उद्यमशीलता भएको बताइन । सुब्बाले अभियानलाई दिगो र मर्यादित बनाउन युवाहरुको सक्रिय सहभागिता आवश्यक भएको बताइन् । उनले सहकारी क्षेत्रमा करिब ३० प्रतिशत युवा सहभागिता रहेको आँकडा प्रस्तुत गर्दै युवा सहभागिताले नै सहकारीलाई मर्यादित र प्रविधिमैत्री बनाउने दाबी गरिन् ।

सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालले सबै क्षेत्रमा सहकारीले काम गर्न पाउने गरी कानुनी व्यवस्था गर्न आग्रह गरे । राष्ट्रिय सहकारी महासंघ युवा समन्वय उपसमितिका संयोजक तथा संचालक सागर ढकालले युवाहरुलाई उद्यमशिल बनाउनका लागि सहकारी उपयुक्त मोडल भएको बताए । सहकारीमार्फ धेरै युवाहरुले पुँजी संकलन गरेर व्यवसाय गर्न सक्ने भएपनि अहिलेसम्म राज्यले त्यो वातावरण नबनाएको दुखेसो गरे ।

शनिबारसम्म चल्ने सम्मेलनमा देशभरका युवा सहकारीकर्मीहरुको सहभागिता रहेको छ । राष्ट्रिय सहकारी महासंघको युवा समन्वय उपसमितिको आयोजनामा भएको सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल गरिने छ । यसैगरी युवा उद्यमीहरुको अनुभव आदानप्रदान कार्यक्रम समेत राखिएको संयोजक सागर ढकालले जानकारी दिए ।
 

Advertisement

Advertisement