अब टेलिकम क्षेत्रमा लगानी गर्ने डिशहोमको रणनीति, प्रभु टिभीलाई रि–ब्राण्डिङ गरिँदै

Advertisement

काठमाडौं । केवल टेलिभिजन तथा इन्टरनेट क्षेत्रमा अर्बौं रुपियाँ लगानी गरिसकेको डिशहोम समूहले दूरसञ्चार कम्पनी (टेलिकम) क्षेत्रमा लगानी गर्ने रणनीतिका साथ अघि बढेको छ । सोही योजनाअन्तर्गत डिश मिडिया नेटवर्कले यस क्षेत्रमा आफ्नो पूर्वाधार तयार गर्न १५ अर्ब रुपियाँभन्दा बढी लगानी गरिसकेको छ । 

टेलिकम क्षेत्रमा लगानी गर्ने योजनाअन्तर्गत नै कम्पनीले फ्रिक्वेन्सीका लागि प्रभु समूहबाट प्रभु टिभीसमेत प्राप्ती गरिसकेको छ । कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले आफूहरुको अन्तिम लक्ष्य टेलिकम क्षेत्रमा प्रवेश गर्ने नै रहेको कर्पोरेट नेपालसँग स्वीकार गरेका छन् । उनले टेलिकम क्षेत्रमा सेवा प्रवाह गर्न लगानीसँगै आफ्नो भौतिक र प्राविधिक पूर्वाधार पनि बलियो बनाउनुपर्छ भनेर नै अहिले मेहनत गरिरहेको बताएका छन् । 

Advertisement

सोही समूहले अहिले डिशहोम फाइबरनेटको सेवा विस्तारलाई तीब्रता दिएको छ । डिशहोमको इन्टरनेट सुलभ र गुणस्तरीय हुनुका साथै डिशहोम टिभीका नियमित प्रयोगकर्ताहरुलाई १० एमबीपीएस इन्टनेट निःशुल्क दिएबाट पनि छोटो समयमा एक लाखभन्दा धेरै ग्राहक पुगेका छन् । 

अहिले नै पनि टेलिकम कम्पनी प्रतिस्पर्धीरुपमा चलाउनसक्ने क्षमताको विकास गरिसकेको डिशहोम समूह रणनीतिकरुपमा टेलिकममा ठूलो लगानी गर्ने उपयुक्त समयको पर्खाइमा रहेको छ । 

प्रभु टिभीको रि–ब्राण्डिङ
डिश मिडिया नेटवर्कले प्रभु टिभीलाई नयाँ ब्राण्डिङ गर्ने तयारी गरेको छ । प्रभु समूहबाट प्रभु टिभीलाई प्राप्ती गरेसँगै यसलाई नयाँ ढ्रगले अघि बढाउन लागेको कम्पनीका प्रवन्ध निर्देशक आचार्यले बताएका छन् । 

उनले अहिलेसम्म पहिला कै कनेक्शन निरन्तर रहे पनि रि–ब्राण्डिङ गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । डीटीएच प्रविधिबाट देशभर टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले प्रभु समूहबाट सिम टिभी र प्रभु टिभी पनि प्राप्ती गरेको थियो । उक्त समूहबाट प्राप्ती गरेको प्रभु नेट डिशहोम फाइबरनेटको रुपमा सञ्चालनमा आइसकेको छ । 

आचार्यले केही समयमा डिशहोमको नयाँ ब्राण्डको रुपमा प्रभु टिभीलाई रि–ब्राण्डिङ गरेर यसको बिक्री बढाउने बताए । रि–ब्राण्डिङ गर्दा प्रभु शब्द रहने छैन् । उनले नेपालमा अनधिकृतरुपमा रहेका विदेशी केवल टेलिभिजनका छाता हटाएर स्वदेशी कम्पनीको सेवा बढाउन आफूहरुले घाटै खाएर पनि सेवा विस्तारलाई जोड दिँदै आएको बताउँदै यसले मुलुकको राजश्व बढाउन, विदेशी संस्कृतिको अतिक्रमण कम गर्न निकै सहयोग पुगेको बताए । 
 

Advertisement

Advertisement