दाताको पैसा भए छुट्टै कुरा, प्राधिकरण आफ्नो पैसाले ट्रान्सफर्मर किन्न किन विदेश जान्छ ?

Advertisement

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ट्रान्सफर्मर उत्पादक कम्पनी नेपाल इकरात इन्जिनियरिङ कम्पनीका प्रवन्ध निर्देशक कुशकुमार जोशीले ट्रान्सफर्मर खरीदका लागि अन्तर्राष्ट्रिय बोलपत्र गर्ने कुरा गलत भएको बताएका छन् । उक्त कम्पनीले ‘निक’ ब्राण्डको ट्रान्सफर्मर उत्पादन गर्छ । 
 
कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, ‘यदि दाताको पैसाले ट्रान्सफर्मर किन्ने हो भने उसको खरीदसम्वन्धी शर्तहरु लागू हुन्छ । त्यो कुरामा हामीले हाम्रै नेपालको किन्नुपर्छ भन्न मिल्दैन । भन्दैनौं पनि । प्राधिकरणले आफ्नो पैसाले ट्रान्सफर्मर किन्ने कुरामा किन इन्टरनेशनल बिडिङमा जानुपर्ने हो ? कस्को दबाब हो ? हामीले बुझ्न सकेको छैन् ।  

जोशीले थपे, ‘अर्को कुरा प्राधिकरणले खाजेभन्दा गुणस्तरीय ट्रान्सफर्मर नेपालमै उत्पादन हुन्छ । नेपालको पैसा नेपालमै बस्छ । नेपालीकै छोराछोरीले रोजगारी पाउँछन् । नेपालकै राजश्व बढ्छ । नेपालको पैसा विदेशीलाई बुझाउन कुनै जरुरी छैन् । कुन चाहीं देशको सरकारले आफ्नो उत्पादन हुँदाहुँदै विदेशबाट ट्रान्सफर्मर खरीद गरेको छ ? इण्डियाले टेण्डर गर्दा हामीलाई भाग लिन दिन्छ ? चाइनाले गर्दा हामीलाई दिन्छ ? हामीलाई मात्रै उनीहरुलाई किन दिनुपर्ने ? विदेशी मुद्राको संचिति घटाएर हामीले मात्रै बाहिरबाट खरीद गर्नुपर्ने कुनै जरुरी छैन् ।’ 

Advertisement

स्वदेशी उत्पादन १५ प्रतिशत महंगो भए पनि सरकारी निकायहरुले स्वदेशी नै किन्नुपर्नेसम्वन्धी निर्देशिका कार्यान्वयन स्वदेशी उद्योगीहरुको लामो समयदेखि दबाब दिँदै आए पनि सरकारी निकायले अटेर गर्दै आएका थिए । तर अदालतले आदेश दिएपछि उक्त निर्देशिकाको आंशिक कार्यान्वयन हुन थालेको छ । सोही निर्देशिकाको व्यवस्थाअनुसार प्राधिकरणले गर्ने टेण्डर प्रक्रियामा स्वदेशी ट्रान्सफर्मर उद्योगहरु आंशिकरुपमा छनौट हुन थालेका छन् । तर अझै पनि प्राधिकरणले ठूलो मात्रामा चिनियाँ ट्रान्सफर्मरहरु आयात गर्दै आएको छ । 

चिनियाँ गुणस्तरहीन ट्रान्सफर्मर खरीदमा करोडौं करोडको भ्रष्टाचार हुने गरेको तथ्य यसअघि पनि पटक पटक सार्वजनिक हुँदै आएका छन् । यस्तो भ्रष्टाचारमा प्राधिकरणकै कार्यकारी निर्देशकसमेत जेल गएका उदाहरणसमेत छन् । तर प्राधिकरणका अधिकारीहरुले अभै पनि सार्वजनिक खरीद ऐन र नियमावलीलाई देखाएर ट्रान्सफर्मर खरीदमा अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गर्दै आएको छ । चिनियाँ ट्रान्सफर्मर ल्याउन त्यहाँका कम्पनीहरुको बिचौलिया (एजेन्ट) लिएर बसेकाहरु टेण्डर खुल्नासाथै सक्रिय हुने गरेको देखिन्छ । 

नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षसमेत भएका जोशीले विदेशी ट्रान्सफर्मर खरीदमा चलखेल हुन्छ वा हुन्न ? भ्रष्टाचार हुन्छ कि हुन्न ? त्यो आफूहरुको नभई सरकार र सरकारका सम्वन्धित निकायको चासोको कुरा हो भन्दै भने, ‘हाम्रो चासो भनेको सरकारको तोकेको मापदण्डअनुसार जुनसुकै वस्तु तथा सेवा नेपालमै उत्पादन भइरहेको छ भने नेशनल पक्र्योरमेन्टमा इन्टरनेशनल बिडिङमा जानुपर्छ भन्ने तर्कसंगत कुरा नै होइन् ।’ 

यसअघि प्राधिकरणबाहेक अन्य क्षेत्रमा बिक्री हुँदै आएको निक ट्रान्सफर्मर विगत दुई बर्षदेखि प्राधिकरणले आंशिकरुपमा किन्न थालेको हो । स्वदेशी उद्योगीहरुको चर्को दबाबपछि १५ प्रतिशत महंगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने कानुनी प्रावधान लागू गर्न सरकारी निकाय तथा संस्थानहरु बाध्य भएको जोशीले अनुभव सुनाए । 

स्वदेशी उत्पादन बढाउने र प्रयोग गर्ने कुरालाई कुनै उद्योगको फाइदा कि भनेर डराएर हेर्ने नेतादेखि कर्मचारीसम्मको सोचले नै आयात बढेर गएको उनको गुनासो छ । ‘विदेशी मोटाउनुभन्दा स्वदेशको एउटा उद्योगीले दुई पैसा कमाउँदा के बिग्रिन्छ ?’ जोशीले प्रश्न गरे । 

स्वदेशी उत्पादन बढाउने र प्रयोग गर्ने कुराले रोजगारी बढ्ने, आयात प्रतिस्थापनमा सहयोग पुग्ने, विदेशी मुद्राको संचितिमा सहयोग पुग्ने, नेपालीलाई काम गर्न विदेश जानैपर्ने बाध्यता कम गर्ने हो, राष्ट्रिय पुँजीको विकास हुने भन्दै उनले प्राधिकरणले चाहे जस्तो मात्रै होइन्, विश्वस्तरका ट्रान्सफर्मर बनाउन नेपाली उद्योग सक्षम रहेको बताए । 

यो बर्ष आठ हजार ट्रान्सफर्मर खरीदका लागि पटक पटक टेण्डर गरेकोमा पाँच हजार पाँच सय निकले पाएको थियो भने बाँकी चिनियाँ कम्पनीले पाएको थियो । न्यून गुणस्तरको बनाउने भएकाले चिनियाँ कम्पनीले निकै सस्तोमा बिड गर्ने बताउदै जोशीले तर उनीहरुले जसरी स्वदेशी कम्पनीले प्रतिस्पर्धा गर्न नसक्ने बताए । 

उनले भने, ‘हाम्रो भनाई चाहीं के हो भने एनसीपी गरोस । राष्ट्रिय कम्पनीहरु मात्रै प्रतिस्पर्धा गर्नेगरी टेण्डर गरोस् । त्यो भयो भने नेपालकै कम्पनी कस्ले राम्रो गर्ने भनेर काम गर्छ । हाम्रोमा एकसयले काम गरेको थियो । अहिले साढे तीन सयले काम गर्न थालेको छ । त्यसरी परिवर्तन ल्याउने हो । विदेशी सामान आयात गरेर हाम्रा युवा दाजुभाईलाई विदेश पठाएर परिवर्तन आउँदैन् ।’ 

नेपालमा उत्पादन लागत नै बढी भएकाले पनि चिनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न कठिनाई रहेको जोशीको भनाई छ । उनले चिनियाँ ट्रान्सफर्मरमा गुणस्तरको समस्या भए पनि नभए पनि उनीहरुले भनेको समयमा आपूर्ति गर्न नसक्ने भएकाले पनि स्वदेशी उद्योगलाई प्राधिकरणले रोज्नु जरुरी रहेको बताए । 

निकले प्राधिकरण किन्न नमान्दा पनि स्थानीय बजारमा हरेक बर्ष दुई हजार ट्रान्सफर्मर बिक्री गर्दै आएको थियो भने भुटानलगायतका देशमा निर्यात पनि गर्दै आएको थियो । 

निकको उत्पादन क्षमता बार्षिक १८ हजार युनिट रहेको छ । प्राधिकरणले अहिले बार्षिक करिव १० हजार युनिट ट्रान्सफर्मर खरीद गर्ने लक्ष्य लिएको छ । कमसल चिनियाँ ट्रान्सफर्मरका कारण धेरै ठाउँमा लोड नधान्ने र प्राधिकरणले सास्ती भोग्नुपर्ने अवस्था रहेकोले चिनियाँभन्दा स्वदेशी ट्रान्सफर्मर नै बढी उपयोगी रहेको महशुस प्राधिकरणका कर्मचारीले पनि गर्न थालेका छन् । यसअघि प्राधिकरणले १४ हजार ट्रान्सफर्मर चिनियाँ कम्पनीसँग किन्दा समयमा नआएका कारण उसले निकै सास्ती भोग्नुपरेको थियो । 

मागेको बेलामा स्वदेशी कम्पनी निकले ट्रान्सफर्मर दिएकाले प्राधिकरणले निकै सहज महशुस गरेको जोशीले सुनाए । उनले भने, ‘स्वदेशी उद्योगसँग लिँदा समयमा दिन पनि सकिने भयो । छिटो गर भन्न पनि पाइयो । कुनै कुरामा कम्प्लेन गर्नुपर्यो भने चिनियाँसँग भन्दा आफ्नो उद्योगसँग सजिलो पनि भयो । धेरै कुरा छ ।’ 

जोशीले थपे, ‘त्यही सजिलोको कारण उसले स्वदेशी उद्योगबाट मात्रै किन्न नखोजेको पनि होइन् । तर हरेक देशको नियम कानुन हुन्छ आफ्नो हित गर्ने । आफ्नो जनताको हित हेर्ने । आफ्नो उद्योगको हित हेर्ने । नेपालमा ट्रान्सफर्मर उत्पादन नै नहुने भए पो बाहिरको किन्ने । बाहिरी कम्पनीहरुबीच प्रतिस्पर्धा गर्ने । तर त्यो होइन् । नेपालमै ट्रान्सफर्मर उत्पादन हुन्छ । त्यो पनि प्राधिकरणले खाजेको गुणस्तरमा । किन प्राधिकरणको आफ्नो पैसा बाहिर पठाउनुपर्यो ? भन्ने हाम्रो कुरा हो । निक कै किन्नुपर्छ भन्ने पनि छैन्, नेपालकै अर्को उद्योगले प्रतिस्पर्धी ढंगले दिन्छ भने यसको किन्दा पनि हुन्छ । सबै देशको त्यही हो नीति । हाम्रो मात्रै इन्टरनेशनल बिडिङ हुनुपर्छ भन्ने गलत सोचाई हो ।’ 

उनले नेपाल सरकार र सरकारी निकायले खरीद गर्ने कुरामा विदेशी कम्पनीसँग समेत प्रतिस्पर्धा गर्नुपर्छ कुनै बाध्यता नरहेको दोहोर्याउँदै स्वदेशी उद्योगको संरक्षण गर्न, आयात कम गरी निर्यात बढाउन नीति नलिने नेपाल मात्रै रहेको बताए । नेपालमा ट्रान्सफर्मर उत्पादक कम छन भनेर विदेशीलाई रकम बुझाउन ट्रान्सफर्मर आयात गर्नु तर्कसंकत नहुने जोशीको भनाई छ । देशभित्रैबाट किन्न थाल्ने हो भने अरु नयाँ लगानीकर्ताले पनि उद्योग खोल्ने अवसर मिल्ने जोशीले बताए । 

Advertisement

Advertisement