नौ महिनामा ३३ अर्बको विदेशी लगानी प्रतिवद्धता स्वीकृत, कति लगानी भित्रिएला ?

Advertisement

काठमाडौं । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म उद्योगमा ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता स्वीकृत भएको बताएका छन् । 

उनले चालु आर्थिक वर्ष २०७८–७९ को चैत मसान्तसम्म विदेशी लगानीसँग सम्बन्धित १५५ वटा विभिन्न परियोजनाहरु प्रस्ताव भएर विदेशी लगानी स्वीकृत भइसकेको बताएका छन् । तर स्वीकृत भएका सबै प्रतिवद्धताको लगानी भने आउने गरेको छैन् । 

Advertisement

उद्योग विभागले चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई खर्ब ६६ अर्ब रुपैयाँ बराबरको कुल प्रस्तावित विदेशी तथा स्वदेशी लगानीको उद्योग दर्ता गरेको छ । गत आर्थिक वर्षमा सोही अवधिमा विदेशी तथा स्वदेशी लगानीमा एक खर्ब ३९ अर्ब रुपियाँ बराबरको विदेशी तथा स्वदेशी लगानीका उद्योग दर्ता भएको विभागले बताएको छ । तिवारीले उद्योग विभागमा दर्ता प्रक्रियालाई नियाल्दा क्रमशः उद्योग दर्ता गर्ने, विदेशी लगानी स्वीकृत गर्ने क्रम बढिरहेको बताए । 

उनले बिस्तारै उद्योगहरु आफ्नो क्षमतामा सञ्चालन हुने र नियमित उत्पादनतर्फ अग्रसर भइरहेको दाबीसमेत गरे । तिवारीले स्वदेशी लगानीका उद्योगहरु चालु आर्थिक वर्षमा अहिलेसम्म २१६ वटा उद्योग विभागमा दर्ता भएको बताए । तिवारीले उद्योगहरुले उत्पादन क्षमता बढाउने, पूँजी वृद्धि गर्ने, स्थानान्तरण गर्ने लगायतका उद्योग प्रशासनसँग सम्बन्धित कामहरु पनि उद्योग विभागमा वृद्धि भइरहेको बताए । 

उनले, ‘कोरोना भाइरसको असर सबै क्षेत्रमा परेको छ । उद्योगधन्दा, लगानी क्षेत्रलाई पनि यसले ठूलो नोक्सान पु¥याएको छ । विस्तारै अब हामी यसबाट बाहिर निस्किँदै छौँ । उद्योग विभागको हिसावले हेर्दा अहिले उद्योग दर्ता गर्ने, विदेशी लगानी स्वीकृत गर्ने क्रम बिस्तारै बढ्दो छ । कोभिडको बेलामा उद्योगधन्दाहरु पूर्ण क्षमतामा चल्न नसकेका, धेरै उद्योगहरु बन्द भएका अध्ययन प्रतिवेदन पनि सार्वजनिक भइसकेका छन् । अहिले त्यसको अप्रेशनमा आइसक्दा पूर्ण क्षमतामा कति चले ? रोजगारी फेरि कति बढे ? भन्ने हिसावले पूरा अध्ययन त अहिले भएको छैन । तर अब बिस्तारै उद्योगहरु आफ्नो क्षमतामा सञ्चालन हुने र नियमित उत्पादनतर्फ अग्रसर भएको देखिन्छ । किनभने हामीसँग आएको रिपोर्ट, प्रतिवेदने पनि त्यो देखाउँछ ।’ 

तिवारीले थपे, ‘विदेशी लगानी पनि कोभिडको सन्दर्भमा यो वर्ष हामीले हालसम्म करिव ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता र त्योसँग सम्बन्धित भएर १५५ वटा विभिन्न परियोजनाहरुमा प्रस्ताव भएर विदेशी लगानी स्वीकृत भइसकेको अवस्था छ । अन्य स्वदेशी लगानीका विभिन्न उद्योगहरु पनि यो आर्थिक वर्षमा अहिलेसम्म २१६ वटा उद्योगहरु हामीले दर्ता गरिसकेका छौँ । विभिन्न अरु उद्योगहरुले उत्पादन क्षमता बढाउने, पूँजी वृद्धि गर्ने, स्थानान्तरण गर्ने लगायतका उद्योग प्रशासनसँग सम्बन्धित कामहरु अहिले भइरहेका छन् । कोभिडपछि बिस्तारै हामी अघि बढीरहेका छौँ ।’

महानिर्देशक तिवारीले हालसम्म उद्योग विभागमा दर्ता भएका उद्योगहरुमध्ये ५९ प्रतिशत इनर्जी बेशमा रहेको र लगभग २२ प्रतिशत उद्योग म्यानुफ्याक्चरिङ क्षेत्रमा रहेको बताए । उनले विदेशी लगानीका उद्योगहरुमा पनि एक तिहाई उद्योगहरु सर्भिस सेक्टरमा र म्यानुफ्याक्चरिङ क्षेत्रमा करिव २३ प्रतिशतमात्र रहेको बताए । तिवारीले उत्पादनमुलक उद्योगहरुको हिस्सा अपेक्षाकृत रुपमा उद्योगको संरचनाभित्र बढाउन नसकेको पनि बताए । 

Advertisement

Advertisement