गभर्नरमाथिको कारवाही असफलः के अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा देलान ?

Advertisement

काठमाडौं । वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने प्रयास सर्वोच्च अदालतले असफल बनाइदिएसँगै अर्थमन्त्री जनार्दन शर्मा नैतिक संकटमा परेका छन् । 

उनीमाथि राजीनामा दिन नैतिक दबाब बढेर गएको छ । आफूलाई निलम्बन गर्ने निर्णयविरुद्ध अधिकारी अदालत गएसँगै आफ्नो पक्षमा आदेश नआउने संकेत पाएपछि शर्मा निराश र तनावमा रहेको उनका सहयोगीहरुले बताउँदै आएका थिए । 

Advertisement

गभर्नर निलम्बन प्रकरणमा आफूलाई फँसाउने काम भएको भन्दै मन्त्री शर्माले दुखेसो पनि पोख्दै आएका थिए । आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री नभई गृहमन्त्री बनाउने इच्छा राख्दा प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई अर्थमन्त्री बनाएर ल्याएपछि प्रचण्ड उनीदेखि सशंकित रहँदै आएका थिए । 

गभर्नर निलम्बन प्रकरणमा भने आफ्नै पार्टीदेखि सत्तारुढ गठवन्धनका मन्त्रीहरुले समेत गलत सुझाव दिएर फँसाएपछि उनी अहिले नैतिक संकटमा परेका छन् । यसअघि गभर्नर तिलक रावललाई हटाउने निर्णय अदालतले उल्ट्इदिएपछि  तत्कालिन अर्थमन्त्री महेश आचार्यले पदबाट नैतिकताका आधारमा राजीनामा दिएका थिए । त्यो किसिमको नैतिकता उनले प्रदर्शन गर्ने संभावना कमै देखिन्छ । 

गभर्नर अधिकारीलाई सरकारले गरेको निलम्बन कार्यान्वयन नगर्न मंगलबार सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सरकारलाई सहयोग नगरेको र गोप्य सुचना चुहाएको आरोपसहित अर्थमन्त्री शर्माले दुई दिनअघि (चैत २४ गतेको) मन्त्रिपरिषद बैठकबाट निर्णय भएको देखाएर अधिकारीलाई निलम्बन गरेका थिए । उनीमाथि छानविन गर्न भन्दै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानविन समिति पनि बनाइएको थियो । अर्थमन्त्रीको उक्त निर्णयको चर्को आलोचना पनि हुँदै आएको थियो भने आयात व्यापारमा लाग्दै आएका व्यापारीहरु भने खुशी भएका थिए । 

Advertisement

Advertisement