क्यान इन्फोटेक यस बर्ष असफल, अवलोकनकर्ताको न्यून उपस्थितिले व्यवसायी निराश

Advertisement

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’ यस बर्ष भने नाम मात्रको भएको छ । 

मेलामा अपेक्षाभन्दा निकै न्यून उपस्थितिले गर्दा उत्साहका साथ सहभागी व्यवसायीहरु पनि निराश देखिन्छन् । आयोजकको कमजोर व्यवस्थापन र प्रचारप्रसारको कमीले गर्दा उपस्थिति न्यून भएको उनीहरुको भनाई छ । 

Advertisement

बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेक निरन्तरताका लागि मात्रै आयोजना भएको जस्तो देखिएको छ । अघिल्लो मेलामा मानिसहरुको भीड लाग्ने यो मेलामा यस पटक भने पातलो उपस्थिति देखिन्छ । क्यान इन्फोटेक मेला र नाडा अटो शो मानिसहरुको सबैभन्दा बढी भीड लाग्ने प्रदर्शनीको रुपमा चिनिदै आएका थिए । 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका नयाँ नयाँ विकास क्यान इन्फोटेकमार्फत प्रदर्शनी गरी त्यसको प्रवर्द्धन गर्ने, यस क्षेत्रमा नयाँ संभावना र भएका समस्याहरुको पहिचान गर्ने उद्देश्यले हरेक बर्ष यो मेला आयोजना हुने गरेको छ । तर यो वर्षको मेलामा प्रिन्टर र ल्यापटप तथा गेम पार्लरभन्दा अन्य कुनै नयाँ प्रविधिको प्रदर्शनीमा देखिएको छैन् । 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने भनिए पनि यस बर्ष त्यो खालको अन्तरक्रिया हुन नसकेको सहभागी व्यवसायी बताउँछन् । यस पटकको मेलामा खासै नयाँ प्रविधिहरु प्रदर्शनी नदेखिएको अवलोकन गर्न आउनेहरुले पनि गुनासो गरेका छन् । 

प्रदर्शनी अवलोकन गर्न आएका पवन श्रेष्ठले क्यान इन्फोटेकमा नयाँ प्रविधि भन्दा पनि ल्यापटपहरु मात्रै धेरै राखिएको बताए । उनले मोवाइल आइटम, गेम पार्लर र डिजिटल भुक्तानीसम्बन्धी सफ्टवेयर धेरै रहेको बताए । 

अहिलेको नयाँ नयाँ सफ्टवेयर मेलामा धेरै भएकाले आफूहरुले यस्सबारे नजान्ने बताउँदै श्रेष्ठले क्यान इन्फोटेक प्रवेश शुल्क महँगो भएअनुसार बालबालिका र विद्यार्थीहरुलाई मात्रै भएको तर बुढापाकाहरुको लागि काम नभएको बताए । 

अर्को अवलोकनकर्ता समर थापाले प्रदर्शनी हेर्न आए पनि खासै नयाँ केही पनि नभएको बताए । अवलोकनकर्ता गणेश थापाले पछिल्लो समय नेपाल नयाँ सूचना प्रविधिमा विकास गर्दै गएकाले आवश्यक सबै प्रविधिहरु अवलोकनमा पाएको बताए । प्रदर्शनीमा हेर्नेभन्दा पनि आईटी क्षेत्रका विद्यार्थीहरुको लागि निःशुल्क सिक्ने अवसर भएको बताए । 

कोरोना महामारीका कारण पटक पटक स्थगित भएर अहिले आयोजना गरिएको क्यान इन्फोटेक मेलामा अपेक्षाकृत अवलोकनकर्ता नआउँदा खल्लो भएको नेपाल क्लियरिङ हाउसका एक कर्मचारीले बताए । 

उनले भने, ‘अहिले ग्राहकहरु आउन त आउँनु भएको छ । हिजो अस्तिभन्दा आज बढ्नु भएको छ । तर हामीले अपेक्षा गरेभन्दा निकै कम छ ।’ उनले क्यान मेलामा उत्पादनहरु बेच्ने मात्रै उद्देश्य नभई ती उत्पादनहरुको जानकारी पनि सर्वसाधारणलाई गराउने हो भन्दै अवलोकनकर्ता अपेक्षाभन्दा न्यून हुँदा आफूहरुले सोचेअनुसार कम्पनीका उत्पादनहरुबारे जानकारी दिन नसकेको बताए ।

क्लियरिङ हाउसले व्यक्तिगत तथा संस्थागत रुपमा सेवाग्राहीलाई सरल, सहज र छिटो भुक्तानी सेवा दिँदै आएको बताएको छ । 

Advertisement

Advertisement