अन्तर्राष्ट्रिय श्रमिक दिवसः श्रमिकको काम र जीवनलाई मर्यादित बनाउन शीर्ष नेतृत्वको एकमत

Advertisement

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र संघर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन र हरेक लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिक वर्गको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले १३३औँ श्रमिक दिवसको अवसरमा लोकतन्त्र प्राप्तिको आन्दोलनमा योगदान पुर्याउने श्रमिकप्रति सम्मान व्यक्त गरे ।

Advertisement

मुलुकको आर्थिक सामाजिक क्षेत्रको महत्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिक वर्गको काम र जीवनलाई मर्यादित बनाएर मात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने उनको धारणा छ । यस वर्ष नेपाल सरकारले ‘मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मे दिवस मनाउँदै छ ।

नेपालको संविधानले सबैखाले शोषणको अन्त्य गर्ने र नागरिकलाई सम्मानयुक्त जीवनयापन गर्न पाउने मौलिक हकको व्यवस्था गरेको छ । निष्कृष्ट प्रकारको श्रम अभ्यासलाई अन्त्य गर्न श्रमिकको सङ्गठित हुन पाउने अधिकार र सामूहिक सौदाबाजी गर्न पाउने अधिकारलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै उनीहरुको संविधानप्रद्धत अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । 

संविधानले निर्दिष्ट गरेको श्रमिकका अधिकारहरू निर्वाधरूपले उपयोग गर्न पाउने व्यवस्था गर्न श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, ट्रेड युनियन ऐन, बोनस ऐनजस्ता ऐन नियम पनि तर्जुमा भई लागू भएका छन् । देशमा हरेक वर्ष श्रम बजारमा आएका श्रम शक्तिलाई रोजगारी प्रदान गर्न, सीपमूलक तालिम प्रदान गर्न सरकारले पहल गर्दैै आएको उनले बताए ।

श्रमिकका लागि सीपमूलक तालिम, व्यवहारिक शिक्षा र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकताअनुसारको सीपमूलक तालिमको व्यवस्थालाई सरकारले अझ प्रभावकारी बनाउँदै लैजाने बताउँदै प्रधानमन्त्री देउवाले समुन्नत मुलुक बनाउने अभियानमा देशभरका श्रमिकहरूको योगदानको सम्मान गर्दै श्रमिक दिवसका अवसरमा आगामी दिनमा अझ सशक्तरूपमा अघि बढ्न सबैमा अनुरोध पनि गरे । 

‘समाजवादी अर्थतन्त्र निर्माणमा श्रमजीवीको नेतृत्वदायी भूमिका हुनुपर्छ’
यता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित जनसमुदायको मुख्य कार्यभार रहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन प्रतिगमनविरुद्ध नयाँ सङ्कल्प लिने दिनका रूपमा लिन सबै श्रमजीवी जनसमुदायलाई आग्रह गरे । श्रमिक वर्गको बलिदानीका कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवी वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए ।  

‘श्रमको सम्मान र मर्यादा हुनुपर्छ’
यसैबीच, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म देशको विकास र रूपान्तरण सम्भव नभएको बताए । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधानले व्यवस्था गरेको समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्नेमा जोड दिए । 

श्रमजीवी जनताको विकासशील सङ्घर्षमा सहभागी बन्ने, त्यसलाई सङ्गठित पार्ने तथा नेतृत्व दिने र विजयसम्म अघि बढाउने घोषणाका साथ विसं २००६ वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको सच्चा उत्तराधिकारीका रूपमा आफ्नो पार्टी जनताका बीचमा आएको उल्लेख गर्दै अध्यक्ष नेपालले नेपाली समाजमा भएका शोषण, दमन र निरकुंशतासँग जुधेर श्रमजीवी वर्गको हित रक्षा गर्न र लोकतन्त्रका मूल्य–मान्यता स्थापित गर्न पार्टी प्रतिबद्ध रहेको बताए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफ्नो सन्देशमा सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति–निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य गर्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।  “अहिले देशमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेशिने गरेको छ । स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउने हाम्रो प्राथमिकता हो”, उनले भने, “स्वदेशमा पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमका रूपमा रहेको वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्दछ ।”

श्रमिक आन्दोलन, विभिन्न कालखण्डका जनआन्दोलनमा श्रमजीवी जनताले गरेको बलिदानीपूर्ण सङ्घर्षका उपलब्धिको रक्षा गर्ने, प्रतिगमनकारीलाई सैद्धान्तिक तथा व्यावहारिकरूपमा परास्त गर्ने अवसरका रूपमा स्थानीय निर्वाचनलाई उपयोग गर्न आग्रह गर्दै अध्यक्ष नेपालले श्रमजीवी जनताको हित, विकास र समाजवादको आधार निर्माण गर्न नेपाली जनताले आफ्नो पार्टीलाई विजयी गराउने विश्वास व्यक्त गरे । उनले श्रमिकका हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न अन्तर्राष्ट्रिय श्रमिक दिवसले प्रेरणा दिने विश्वाससमेत व्यक्त गरे ।  

राष्ट्रको  अभिभारा पूरा गर्छौंः अध्यक्ष ओली
यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न  निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी  गरे । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले आसन्न स्थानीय तह र संघीय संसद  निर्वाचनमा एमालेलाई जनताको साथ र समर्थन रहने र यसबाट आफूहरुले राष्ट्रको अभिभारा पूरा गर्ने बताए ।  

सन्देशमा  उनले एमालेले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको उल्लेख गरे । सन्देशमा उनले नेपालको श्रमिक आन्दोलनले यस दिवसलाई श्रमिकहरूको सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रूपमा मनाउन पाएको जनाए । 

नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चिता गरी औद्योगिक क्षेत्रमा अनावश्यक हडताल र सङ्घर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको उनले सन्देशमा उल्लेख गरे । 

“कोभिड–१९ महामारीका बेला सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको आयमा कमी नआओस् भनेर प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिने व्यवस्था गर्यो”, उनले भने, “यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षा गर्न सहयोग गर्यो ।”
 

Advertisement

Advertisement