Advertisement

काठमाडौं । महालेखापरीक्षक टंकमणी शर्माले पछिल्लो समय मुलुकमा आर्थिक सुशासन हुन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा उनले आर्थिक सुशासन हुन नसक्नुमा राष्ट्र सेवकदेखि राजनीतिक व्यक्तित्व र व्यवसायीहरु समेत दोषी रहेको बताए । 

शर्माले हामीले सरकारले गरेका कामको विषय वा गल्ती कमजोरी थाहा पाए पनि कार्यान्वयन गर्न नसकिएको बताए । उनले मुलुकमा आर्थिक अनुशासन नहुनु, जनताले सुशासनको प्रत्याभूति हुन नसक्नु, भष्ट्रचार बढ्नु, अनियमिता हुनु कुनै एक क्षेत्र मात्रै दोषी नभए समग्र क्षेत्र दोषी रहेको बताए । 

Advertisement

नेपाली समाजले अहिले विकास निर्माण, शिक्षा, स्वाथ्य, रोजगारी, राज्य वा सरकारले आफ्नो शासकीय भूमिका पूर्णरुपमा निर्वाह गरी पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारमुक्त र मुद्राको सार्थकता खोजेको शर्माको भनाई छ । उनले नेपाली लेखापरीक्षक अन्तर्राष्ट्रिय लेखा व्यवसायीहरुले पत्याउन योग्य बन्नुपर्ने बताए । 

महालेखारीक्षक शर्माले सुधारको काम गर्न चाहे हुने भन्दै यो वर्षको स्थानीय निर्वाचनमा निर्वाचन आयोगसँग समन्वय गरेर जनप्रतिनिधिले उम्मेद्वार हुँदा सरकारी राजश्व बाँकी, बेरुजु भए तिर्नूपर्ने आचार संहिता बनेको र त्यसबाट देशैभर धेरै पैसा उठेको बताए । 

शर्माले भने, ‘हामी आफै भनिरहेका छौं मुलुकमा आर्थिक अनुशासन भएन । सुशासनको प्रत्याभूति हुन सकेन् । भ्रष्टाचार बढ्यो । अनियमिता बढ्यो । सबैतिर विकृति र विसङगति झाँगियो । दोष कुनै एक क्षेत्रको मात्रै छैन् । यसमा राजनीतिज्ञ, प्रशासक ,राष्ट्र सेवक, व्यापारी, व्यवसायी वा पेसाकर्मी सबै कोही न कोही कुनै न कुनै कार्यमा संग्लन भएको छ भन्ने कुराको निचोड निस्कन्छ । नेपाली समाज अहिले विकसित भएको छ । समाजले अहिले विकास निर्माण, शिक्षा, स्वाथ्य र रोजगारी खोजिरहेको छ । निजी क्षेत्र, सहकारी संस्थाहरु र व्यक्तिले यो काम गर्नसक्ने अवस्था बनेको छ । समाज अहिले राज्य वा सरकारले आफ्नो शासकीय भूमिका पूर्णरुपमा निर्वाह गरिदियोस् भनिरहेको छ । समाजले पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारमुक्त र मुद्राको सार्थकता खोजेको छ ।’ 

नेपाली लेखा व्यवसायीहरुको सेवा विश्व बजारमा बिक्नयोग्य बनाउनु पर्छ भन्दै उनले यसलाई विश्वसनीय बनाउनुपर्ने बताए । शर्माले लेखा परीक्षकहरुले लेखा परीक्षण गर्दा राम्रो कुराको संकलन गर्ने नगरेको बताए । उनले सबै मिलेको कुरा लेखापरीक्षणमा लेख्नु नपर्ने बताए । 

उनले भने, ‘लेखापरीक्षकहरुले राम्रो कुरा संकलन गर्दैनौं । धेरै प्रबुद्धहरुले कहिले काहीं सोध्नुहुन्छ । तपाईंको रिर्पोट पढ्यो भने नेगेटिभ मात्रै छ । जहिल्यै नमिलेको कुरा मात्रै लेख्नु भएको छ । परीक्षणमा मिलेको कुरा किन लेख्ने ? मिलेको कुरा मिलिहाल्यो नि ? नमिलेको कुरा परीक्षण प्रतिवेदनमा लेख्ने हो । लेखा परीक्षण भनेको परीक्षण गर्दा नमिलेको कुरा मात्रै लेख्ने हो । मिलेको कुरा लेख्ने होइन । लेख्नु पर्ने छोटो हो । हुन्छ लामो । प्रगति राम्रो काम हेर्यो भने २ वा ५ पेज हुन्छ । बिग्रेको कुराहरु निकाल्यो भने सिङगै पेज हुन्छ । यहाँ सुधार गर्नुपर्ने देख्छु ।’

Advertisement

Advertisement