सिंचाईको बजेट लगेर अन्तै खर्च गरिन्छः नार्क, खोतीयोग्य जमिनमध्ये ३० प्रतिशतमा मात्रै सिंचाई

Advertisement

काठमाडौं । नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाईको व्यवस्था भएको तथ्यांक नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले सार्वजनिक गरेको छ । 

आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नार्कले सिँचित जमिन कम भएकाले पनि खाद्यान्नको उत्पादन गर्न सहज अवस्था नरहेको जानकारी दिएको छ । 

Advertisement

नार्क कार्यकारी निर्देशक डा. दीपक भण्डारीले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाई, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाई गर्न नहुने बताए । उनले सिँचाईका लागि छुट्टयाएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेतीयोग्य जमिनमा सिँचाईको व्यवस्था गर्न नसकिएको पनि बताए । 

भण्डारीले भने, ‘अहिले ३० प्रतिशत जग्गामा मात्रै सिँचाई छ । सिंचाई मन्त्रालयमा जाने पैसा सिँचाईको क्षेत्र बढाउन होईन कि तटबन्ध निर्माणमा खर्च हुन्छ । यो साल तटबन्ध बनाउने अर्को साल भत्काउनमा मात्रै पैसा खर्च हुने भएकाले सिँचाईको क्षेत्र बढाउने काममा समस्या छ । सिँचित जमिन नबढाई उत्पादन बढाउन सकिदैन । त्यसैगरी उत्पादन बढाउनका लागि मल र प्रविधिको पनि उचित व्यवस्था गर्नुपर्ने हुन्छ ।’

परिषदले हालसम्म ८० वटा बस्तुबालीका ७२३ जातहरु विकास गरी कृषकको खेतवारीमा पुगेको पनि जनाएको छ । त्यसैगरी माटोको डिजिटल नक्सांकन सार्वजनिक गरिएको, सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिनासम्म भण्डारण गर्न सकिने प्रविधि भित्र्याउने प्रस्तावलाई अघि बढाएको पनि जानकारी दिएको छ । 

Advertisement

Advertisement