जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपाललाई
File-Photo

Advertisement

काठमाडौँ । जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । नेपालले उक्त सिरिज २–१ ले जितेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपालले जिम्बावे ‘ए’ टोलीलाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो । तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ तीन विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले ९ विकेटले जीत हासिल गरेको थियो । 

Advertisement

आजको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । जिम्बावेले ब्याटिङ गर्दै सवै विकेट गुमाएर नेपाललाई २१४ रनको लक्ष्य दिएको थियो । नेपालले ३० दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्यो । नेपालको जीतमा कुशल भुर्तेलले सर्वाधिक ८४ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले अविजित ६०, आसिफ शेखले २९ तथा विनोद भण्डारीले २८ रन बनाए ।

बलिङतर्फ जिम्बावेका ब्रान्डन माभुताले तीन र ब्राड इभान्सले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले ३२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो । जिम्बावेका लागि टाडिवानाशे मारुमानीले सर्वाधिक ५० रनको योगदान दिए । यस्तै कुड्जाई मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, सेफासले १६, इनोसेन्ट कियाले १२ तथा लुक जोग्वीले १९ रन बनाए ।

बलिङतर्फ नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिए । सोमपाल कामीले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए । यसअघि नेपाल र जिम्बावे ‘ए’बीच तीन टी–ट्वान्टी सिरिज सम्पन्न भएको थियो । उक्त सिरिजमा दुवैले १–१ को बराबरी खेलेका थिए । एउटा खेल वर्षाका कारण रद्द भएको थियो । आइसिसी क्रिकेट लिग दुईअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि नपालले जिम्बावे ‘ए’सँग खेलेको हो ।

Advertisement

Advertisement