नेपाल अझै दुई खर्ब ६८ अर्ब घाटामा, विदेशी मुद्राको संचिति साढे छ महिनालाई मात्रै पुग्ने

Advertisement

काठमाडौं । मुलुकको आर्थिक सुचकलाई औंल्याउने शोधनान्तर स्थितिमा अझै सुधार आउन नसकेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो नौ महिनाको देशको आर्थिक अवस्थामा शोधनान्तर स्थिति दुई खर्ब ६८ अर्बभन्दा बढी ऋणात्मक रहेको छ । 

अघिल्लो बर्ष सोही अवधिमा ४२ अर्ब ५४ करोड बचतमा रहेको शोधानान्तर स्थिति अहिले भने उच्च ऋणात्मक अवस्थामा पुगेको हो । समीक्षा अवधिमा चालु खाता पाँच खर्ब १२ अर्बले घाटा रहेको छ । सोही अवधिमा डलरमा शोधनान्तर स्थिति दुई अर्ब २५ करोडले ऋणात्मक हुन पुगेको छ । जबकी अघिल्लो बर्ष सोही अवधिमा डलरमा शोधनान्तर स्थिति ३४ करोड ८१ लाखले बचतमा थियो । शोधनान्तर स्थितिले सबै क्षेत्रबाट नेपाल भित्रिएको रकम र नेपालबाट गएको रकमको अन्तरलाई दर्साउँछ । 

Advertisement

यस नौ महिनामा विदेशी मुद्राको संचितिमा कुनै सुधार हुन नसकेको देखिएको छ । समीक्षा अवधिमा ६.६ महिनाको वस्तु तथा सेवा धान्ने विदेशी मुद्राको मात्रै संचिति रहेको छ । राष्ट्र बैंकका अनुसार गएको असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब विदेशी मुद्राको संतिति रहेकोमा अहिले १६ दशमलव ५ प्रतिशतले घटेर ११ खर्ब ६७ अर्बमा सीमित भएको छ । अमेरिकी डलरमा यस्तो संचिति १८ प्रतिशतभन्दा धेरैले घटेको छ । 

समीक्षा अवधिमा विप्रेषण (रेमिटान्स) आयमा पनि शुन्य दशमलव ६ प्रतिशतले कमी आई जम्मा सात खर्ब २४ अर्ब रुपियाँ मात्रै भित्रिएको छ । अघिल्लो बर्ष सोही अवधिमा विप्रेषण १६ दशमलव ५ प्रतिशतले बढेको थियो । पछिल्लो समयमा आयातमा उच्च वृद्धि हुनुका साथै विदेशी अनुदान र ऋणमा समेत कमी आएको र प्रत्यक्ष वैदेशिक लगानी पनि प्रतिवद्धताअनुसार आउन नसक्दा विदेशी मुद्राको संचितिमा चाप बढ्दै गएको छ । यसले वित्तीय क्षेत्रमा तरलता संकुचन गर्न पनि सहयोग पुगेको छ । तरलता संकुचन र विदेशी मुद्राको संचितिमा परेको चापले कतै नेपाल पनि श्रीलंकाको जस्तो आर्थिक संकटमा पर्ने त होइन ? भन्ने चिन्ता पनि बढेको छ । तर सरकारी पक्षले भने त्यो अवस्था आइनसकेको भन्दै आश्वस्त बनाउने प्रयास गर्दै आएको छ । 
 

Advertisement

Advertisement