बुध्द एयरले जेठ १ गतेबाट रात्रिकालिन उडान भर्ने

Advertisement

काठमाडौं। नागरिक उड्डयन प्राधिकरणको रात्रिकालिन उडान अवतरण सुविधा भएका विमानस्थलहरु १८ घण्टा खुला राख्ने निर्णय स्वागतयोग्य रहेको भन्दै बुध्द एयरले जेठ १ गतेबाट रात्रिकालिन उडान गर्ने भएको छ। 

आगामी जेठ १ गतेदेखि विभिन्न गन्तव्यहरुमा रात्रिकालिन उडान सेवा विस्तार गर्न लागेको कम्पनीले जनाएको छ । रात्रिकालिन उडानहरु जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा सेवा दिने बुध्द एयरले जानकारी दिएको छ । यी उडानका समय राती ८ बजेदेखि हुनेछन्।

Advertisement

प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालिन उडान रहेको छ । दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालिन उडान निकै आकर्षक हुने बुध्द एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। 

रात्रिकालिन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ। बुध्द एयरले रात्रिकालिन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध समेत गरेको जनाएको छ । 

यात्रुहरुको थप आउजाउले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास बुध्द एयरले लिएको छ । कम्पनीले काठमाडौंको हकमा ‘टुटल’सँग समन्वय गरी रात्रिकालिन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको जनाएको छ । 

बुध्द एयरले पोखरा विमानस्थललाई सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ । यसको प्रत्यक्ष फाईदा व्यापारिक र विशेष री पर्यटकहरुलाई पुगेको छ । अब बुध्द एयरले भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको छ । भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याईसकेको छ बुध्द एयरले जनाएको छ।

निकट भविष्यमै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा  क्रमशः उडान भर्ने योजना बुध्द एयरले बताएको छ। उडानसँगै पर्यटकहरुका लागि बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजमार्फत होलिडे प्याकेजहरु पनि सञ्चालन गरिहेको छ बुध्द एयरले जनाएको छ।

Advertisement

Advertisement