तीन दर्जनभन्दा बढी केन्द्रमा मतदान स्थगित, कहाँ के भयो ?

Advertisement

काठमाडौं । झडप र हुलदंगाका कारण शुक्रबार भएको स्थानीय निर्वाचनमा दुई दर्जनभन्दा बढी केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार देशभर २५ केन्द्रको मतदान स्थगित भएको छ ।

दलका कार्यकर्ताहरुबीच झड्प हुँदा ती केन्द्रहरुमा मतदान स्थगित भएको हो । कतिपय ठाउँमा हिंसात्मक झड्पसमेत भएका छन् भने अतिपय ठाउँमा दुर्घटनाका कारण दर्जन बढीले ज्यान गुमाएका छन् । 

Advertisement

मतपेटिका फुटाइएको र दिनभर झडपको अवस्था रहेका स्थानमा मतदान स्थगित भएको हो । केही मतदान केन्द्रमा मतदातालाई आउन नदिने गरी गौंडा–गौडामा अवरोध गर्ने, मतदातालाई पैसा बाँड्ने, भोज खुवाएर प्रभावित पर्ने काम समेत भएका छन् । 

गोरखाको भीमसेन थापा गाउँपालिकाको ताराखसेमा गोली चल्दा एकजना घाइते भएका छन् भने काभ्रेको पाँचखाल नगरपालिका १३, रामेछापको खाँडादेवी १ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिका १२ र जुम्लाको गुठीचौर गाउँपालिका ३ गज्याङमा निर्वाचन स्थगित भएको हो ।

पाँचखालमा मतपत्रको विषयमा विवाद चल्दा मतदान केन्द्र नै तोडफोड भएको थियो । त्यहाँ पुनः मतदान हुने भएको छ । रामेछापको खाँडादेवीमा विवाद बढेर हवाई फायर सम्म भएको छ । विजयपुर नगरपालिकाको शितलपुरमा पनि हवाई फायर भएको छ ।

सप्तरीमा मतपेटिकाहरुमा तोडफोड हुनुकासाथै रौतहटमा स्थानीयले मतपेटिका नै लुटेर भागेका छन् । जुम्लाको गुठीचौरको गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय मावि केन्द्रमा काँग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप भएको थियो ।

रुकुमका कतिपय केन्द्रका एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच खुकुरी हानाकान भएको छ भने एक ठाउँमा कांग्रेस उम्मेदवार चढेको गाडीले मतदातालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ । स्यांजामा बिहान मतदाता बोकेको जीप खस्दा १३ जनाको मृत्यु भएको थियो । 

आयोगले यस पटक निर्वाचन आचारसंहितामा कडाई गरे पनि त्यसको खासै पालना निर्वाचनको दिन भएको देखिएन् । शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएका ठाउँमा मतपेटिका व्यवस्थापनको काम भइरहेको छ ।

Advertisement

Advertisement