मनाङबाट खाता खोले कांग्रेस र एमालेले

Advertisement

काठमाडौं । हिमाली क्षेत्रका स्थानीय तहको निर्वाचनको परिणाम आउन थालेको छ । थोरै मात्रै मतदाता रहेको सो क्षेत्रमा विगतमा जस्तै नेकपा एमाले र नेपाली कांग्रेसको एकाधिकार देखिएको छ । 

मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् । शुक्रबार रातिको मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०–३० मत ल्याएका थिए । 

Advertisement

दुवै जनाको सल्लाहमा गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएको चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गुरुङ यसअघि पनि चामे गाउँपालिका ५ का वडाअध्यक्ष थिए ।

उक्त वडामै खुला सदस्यमा एमालेका समिरा गुरुङ र कांग्रेसका सेराव विष्टको बराबर २८–२८ मत खसेकोमा गोलाप्रथा गर्दा एमालेका समिरा विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले र उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा निर्वाचित भइसकेका छन् ।

त्यस्तै, मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । उनले एक सय ५८ मत ल्याएर अध्यक्ष बनेका हुन् । प्रतिद्वन्द्व स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याएका छन् । 

यसअघि उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका थिए । नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात ६७ दशमलब ८५ प्रतिशत मत खसेको थियो ।

साठी मतदाता रहेको ताप्लेजुङको हिमाली बस्ती याङमामा १४ मत मात्रै खसेको छ जसमा १० पुरुष र ४ महिलाले मतदान गरेका छन् । २०७४ को निर्वाचनमा यहाँ २४ मत खसेको थियो ।

Advertisement

Advertisement