मुण्डकोपनिषद्ः आफूलाई जाने पछि वास्तवमै जान्नपर्ने कुरा केही बाँकी रहँदैन्

Advertisement

शिरिषबल्लभ प्रधान
उपनिषदहरुमा गुरु र शिष्यबीच प्रश्नोत्तर एवं तर्कवितर्कको माध्यमव्दारा अस्तित्वका रहस्य अर्थात् तत्वज्ञानमाथि प्रकाश पारिन्छ । मुण्डकोपनिषद्का अनुसार एक समय शौनक नामका प्रख्यात मुनि जो विशाल गुरुकुलका अधिकारी थिए, उनी महर्षि अंगीराकहाँ गई विनम्रतापूर्वक प्रश्न गर्छन्ः भगवन् कृपागरी मलाई बताउनुस् कि कुन कुरा जानेको खण्डमा यो सबै कुराको ज्ञान प्राप्त हुन्छ ? वास्तवमा उनले कुनै प्राविधिक कुराको वा भौतिक वस्तुको बारेमा नभई आत्मज्ञान वा तत्वज्ञानका बारे प्रश्न गरेका हुन् । आफूलाई जाने पछि वास्तवमै जान्नपर्ने कुरा केही बाँकी रहँदैन भनी श्रुितमा अन्यत्र पनि भनिएको छ ।

यसको जवाफमा विख्यात अंगीरम महर्षि भन्छन्, ‘ब्रह्म वा परमात्मालाई जान्नेहरुले भन्ने गरेका छन् कि दुई प्रकारका विद्या छन्ः परा र अपराविद्या । ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिषी यी सबै अपराविद्या हुन् । त्यसबाहेक त्यो परब्रह्मलाई तत्वदेखि जान्ने विद्यालाई पराविद्या भनिन्छ । वास्तवमा, कण्ठ पारी सम्झिने विद्या वा शाब्दिक जानकारीलाई अपराविद्या भनिन्छ भने आत्मज्ञान वा तत्वव्दारा परब्रह्मलाई जान्ने विद्यालाई पराविद्या भनिन्छ, जुन जाने पछि जान्न पर्ने केही बाँकी रहँदैन । आत्मज्ञान वा तत्वज्ञान भएपछि शोकलाई पार गरिन्छ, भनी श्रुतिमा भनिएको छ । चार वेद, ईतिहास, पुराणआदिलाई कण्ठस्थ पार्नु अपराविद्या हो भने त्यसलाई तत्वदेखि जान्नु वा त्यसको भित्री रहस्य जान्नु परा विद्या हो ।  

Advertisement

मुण्डकोपनिषद् मा आत्माको लक्षणबारे यसरी वर्णन गरिएको छः
यत्तददे्रश्यमग्राह्यमगोत्रमवर्णमचक्षुः श्रोत्रं तद्पाणिपादं नित्यं विभुं
सर्वगतं सुसूक्ष्मं तदव्ययं यद्भूतयोनिं परिपश्यन्ति धीराः (मुण्डक १.१.६)

त्यो, जो जान्न सकिन्न, पकडमा आउंदैन, गोत्रवर्णरहित, रंग र आकाररहित, विना नेत्र, कान आदि, हात, खुट्टारहित, जो नित्य, सर्वव्यापी, सबैमा फैलिएको, अत्यन्त सूक्ष्म, अविनाशी परब्रह्म छ,  त्यो समस्त प्राणीहरुको परम कारणलाई ज्ञानीजनहरु सर्वत्र परिपूर्ण देख्दछन् ।

आत्मा अत्यन्त सूक्ष्म हुन्छ, जसलाई न जान्न सकिन्छ, न त्यो पकडमा नै आउँछ, न इन्द्रियव्दारा ग्रहण गर्न नै सकिन्छ, त्यो अविनाशी, अजन्मा, नित्य र सर्वव्यापी परब्रह्म सम्पूर्ण कारणहरुको पनि कारण हो र जसलाई ज्ञानीजनहरु सर्वत्र परिपूर्ण देख्छन् । यो सारा जगत, विश्वब्रह्माण्ड ईश्वरव्दारा आक्षादित छ भनी ईशावास्योपनिषद् मा भनिएको पनि छ । 

उपनिषद्ले अविद्या वा कर्मको अपेक्षा विद्या वा आत्मज्ञानलाई जोड दिएको छ । जो मानिस अविद्यामा स्थित रहेर आफूलाई बुध्दिमान् ठान्छन् तिनीहरु वार,वार आघात सहँदै भट्किरहन्छन् अर्थात् जन्म, मरणको चक्रमा घुमिरहन्छन, जस्तो कि अन्धोव्दारा अन्धोलाई प्रथप्रदर्शन् (मुण्डक १.२.८) ।

अर्थात् आत्मज्ञानमा नलागी केवल कर्मकाण्डमा अल्मलिनेहरु जन्म, मरणको बन्धनबाट मुक्त हुन सक्दैनन् । उपनिषद् मा भनिएको छ, सकाम कर्ममा आशक्त हुनेहरु धर्मकर्मव्दारा स्वर्ग वा पूण्य हासिल गर्छन् भने पनि त्यो क्षीण हुन्छ अर्थात् नाशवान् छ । किनभने पूण्यव्दारा स्वर्ग आदि सुख हासिल भएता पनि त्यसको ंभोगपछि पूण्य भई जीव मनुष्य वा पशु योनीमा जन्म लिन पुग्छ र वास्तविक, दीर्घकालीन सुख प्राप्त हुंदैन भन्ने यसको आशय हो । 

तर त्यस विपरित शान्त स्वभाव भएका, वनमा बस्ने, भिक्षा मागेर खाने वा कर्म सन्यास लिएका व्यक्तिहरु भने इन्द्रिय संयम, तप तथा श्रध्दाको माध्यमव्दारा रजोगुण रहित भै सूर्यलोकको मार्गबाट गएर जन्म, मृत्युको चक्रबाट छुट्कारा पाई नित्य, अविनाशी परम् पुरुषलाई प्राप्त गर्छन्, उपनिषदले भन्छ । अर्थात्, आत्मज्ञानको मार्गमा लाग्नेहरु मृत्यु रहित, नित्य र अविनाशी आत्मालाई प्राप्त गर्छन् ।

गुरुकहाँ कस्ता योग्यता भएका शिष्य आत्मज्ञानको निम्ति जानसक्छ अथवा आत्मज्ञानका अधिकारी कस्ता हुन्छन् भन्नेबारे उपनिषद्मा भनिएको छः
वैराग्य प्राप्त ब्राह्मण वा ब्रह्म जिज्ञासु यो बुझेर कि उसले गर्ने कर्मव्दारा अकृत अर्थात् स्वतः सिध्द परमात्मा प्राप्त गर्न सकिन्न, त्यस परब्रह्मलाई हासिल गर्न हातमा समीधा लिएर वेदको राम्रो ज्ञान भएका ब्रह्मनिष्ठ गुरुकहां विनम्रतापूर्वक जान्छन् (मुण्डक १.२.१२) । 

त्यो ज्ञानी महात्माको शरणमा आएका पूर्णतया शान्तचित्त भएका शमदम आदिले युक्त शिष्यलाई त्यस ब्रह्म विद्याका ज्ञानी गुरुले राम्ररी विवेचना गरी उपदेश दिन्छन्, जसबाट उसले त्यस अविनाशी नित्य परम पुरुषलाई जानोस् । यहाँ वेदाध्ययन गर्ने व्यक्तिको योग्यताबारे उल्लेख गर्दै शमदम आदि सम्पत्तिले युक्त भनिएको हो । त्यसप्रकारको योग्यतालाई षट्सम्पत्ति भनिन्छ, जसमा शम, दम, तितीक्ष, श्रध्दा, उपरति र समाधान पर्छन्। शमदम भन्नाले इन्द्रिय संयम, नियन्त्रण, तितीक्षा भन्नाले सुखदुखादिलाई समान ठान्ने, श्रध्दा भन्नाले शास्त्र र गुरुप्रति श्रध्दा, उपरति भन्नाले जे, जस्तो पाइन्छ त्यसैमा सन्तुष्ट हुने र समाधान भन्नाले आत्मामै रम्ने वा आफूमै सन्तुष्ट हुने बुझिन्छ ।

सो आत्मालाई कसरी प्राप्त गर्न सकिन्छ, अथवा मुक्त भइन्छ भन्ने उपाय बताउँदै उपनिषद्ले भन्छ,
त्यो आत्मा न त नेत्रव्दारा, न वाणीले न अन्य इन्द्रियले ग्रहण गर्न सकिन्छ । त्यो न त तपव्दारा अथवा कर्मव्दारा नै प्राप्त गर्न सकिन्छ । त्यो अवयवरहित वस्तु विशुध्द अन्तःकरण भएको व्यक्तिले निरन्तर ध्यानको माध्यमले ज्ञानको प्रसादको रुपमा प्राप्त गर्दछ । अर्थात् अन्तःकरणलाई शुध्द बनाई निरन्तर ध्यान गर्नाले आत्मज्ञान प्रष्फुटित हुन्छ (मुण्डक ३.१.८) ।

त्यसैगरी भनिएको छ,
नायमात्मा प्रवचने लभ्यो न मेधया न बहुधा श्रुतेन (मुण्डक ३.२.३) ।

अर्थात्, त्यो आत्मा न प्रवचनव्दारा, न बुध्दिले न धेरै सुन्नाले हासिल गर्न सकिन्छ । त्यो त जसलाई त्यसले स्वीकार्छ त्यसव्दारामात्र प्राप्त गर्न सकिन्छ । किनभने त्यो आत्माले त्यसको निम्ति आफ्नो यथार्थ स्वरुप प्रकट गरिदिन्छ । आत्मज्ञान हासिल गर्न चार प्रकारका कृपाहरु आत्मकृपा, शास्त्रकृपा, गुरुकृपा र ईश्वरकृपा चाहिन्छ भनिन्छ । परमात्माले जसलाई स्वीकार्छ, उसले मात्र त्यसलाई प्राप्त गर्न सक्छ भन्नाले यहां ईश्वरकृपाको प्रसंग आउंछ ।

आत्मालाई प्राप्त गर्ने ज्ञानीजनको कस्तो अवस्था हुन्छ भन्नेबारे उपनिषद्ले भन्छः
सर्वथा आशक्ति रहित, विशुध्द अन्तःकरण भएका ऋषिहरु त्यस परमात्मालाई पूर्णरुपले प्राप्त गरी ज्ञानव्दारा तृप्त र परम् शान्त हुन्छन् । आफूलाई परमात्मासंग संयुक्त गर्ने ज्ञानीजन सर्वव्यापी परमात्मालाई सबैप्रकारले प्राप्त गरी तिनै परमात्मामा प्रवेश गर्छन् अर्थात् त्यसमा एकाकार हुन्छन् (मुण्डक ३.२.५) ।

अन्त्यमा उपनिषद्ले ब्रह्मलाई प्राप्त गर्ने साधक ब्रह्मस्वरुप नै हुन्छ भन्दै यस्तो घोषणा गर्दछः
स यो ह वै तत्परमं ब्रह्म वेद ब्रह्मैव भवति .... (३.२.९)

अर्थात्, निश्चय पनि जसले ब्रह्मलाई जान्दछ, ऊ ब्रह्मस्वरुप नै हुन्छ । उसको कुलमा ब्रह्मलाई नजान्ने कोही पनि हुंदैन । त्यो शोकव्दारा पार हुन्छ । हृदयको गाँठो खुलेर त्यसले अमरत्व प्राप्त गर्दछ ।

Advertisement

Advertisement