झापामा हात्ती आक्रमणः एकको मृत्यु, एक गम्भीर घाइते
File-Photo

Advertisement

झापा । भारतबाट प्रवेश गरेको जङ्गली हात्तीले आक्रमण गर्दा आज झापाको मेचीनगर–९ की ७० वर्षीया पेमा किसानको मृत्यु भएको छ भने थप एकजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकका अनुसार आज अपराह्न ३ः४५ बजे किसानलाई स्थानीय टिमाई खोलाको बगरमा हिँडिरहेको बेला हात्तीले आक्रमण गरेर सख्त घाइते बनाएको थियो । उपचारका लागि मेची अञ्चल अस्पतालमा लगिएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

यसैगरी सोही वडाकी ३८ वर्षीया वसन्ती दनुवार आज अपराह्न १ बजेतिर स्थानीय थोप्ले बिरान सामुदायिक वनमा घाँस काट्न जाँदा हात्तीको आक्रमणमा घाइते भएकी हुन् । पेट र शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा उनलाई उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल लगिएको छ ।

शनिबार राति झापाको उत्तरी सीमावर्ती क्षेत्र बाहुनडाँगीमा भारतबाट १५ वटा जङ्गली हात्ती छावासहित पसेको स्थानीयवासी शङ्कर लुइँटेलले जानकारी दिनुभयो । तिनै हात्ती छरिएर झापाको विभिन्न सामुदायिक वनतिर पसेको अनुमान गरिएको छ ।

गए राति मेचीनगर–१३ स्थित निचाझोडा जङ्गलबाट दुहागढीको मानव बस्तीमा तीनवटा हात्ती पसेको निवर्तमान वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए । डिभिजन वन कार्यालय झापाको टोलीले हात्ती गाउँ पसेको बाहुनडाँगी क्षेत्रमा साइरनसहित गस्ती गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement