आर्थिक तथा राजनीतिक संकटमा परेको श्रीलंकामा कफ्‌र्यु आदेश जारी

Advertisement

कोलम्बो । आर्थिक तथा राजनीतिक सङ्कटमा परेको मुलुक श्रीलङ्कामा सोमबारदेखि नौ घण्टे कफ्‌र्यु आदेश जारी गरिएको छ । सरकारले घोषणा गरेको कफ्‌र्यु सोमबार बेलुका ८ बजेदेखि लागू भइ बिहान पाँच बजेसम्म कायम रहने भएको छ । 

विभिन्न आरोपमा झण्डै २०० मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कफ्‌र्यु आदेश जारी गरेको हो । पक्राउ गरेकाहरूलाई कफ्‌र्यु आदेशको उलङ्घन गरेको, सार्वजनिक तथा अर्को व्यक्ति सम्पत्ति तोडफोड गरेको, अशान्ति मच्चाएको, हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको लगायतका आरोपहरू लगाइएको छ । 

Advertisement

आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्कामा आर्थिक सङ्कटकै कारणले राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । विषेश गरेर आर्थिक सङ्कट बढेपछि महङ्गी र अभाव बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए । नागरिक आन्दोलनका कारण राजनीतिक सङ्कट समेत उत्पन्न भएको छ । 

नागरिक आन्दोलन चर्किदै गएपछि मन्त्रपरिषद् नै परिवर्तन गर्नु परेकोसम्मका राजनीतिक सङ्कट उत्पन्न भएको छ । तत्कालीन निर्वाचित प्रधानमन्त्री महेन्दा राजापाक्षको राजीनामा माग गर्दै भइरहेको आन्दोलनका कारण उनले राजीनामा दिन बाध्य हुनु परेको छ । 

उनको राजीनामाको केही दिनपछि राष्ट्रपति गोटावाय राजापाक्षले आइतबार मात्रै रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाडै नै मुलुकको आर्थिक तथा राजनीतिक सङ्कट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गरेका छन् । रासस/एएनआई  

Advertisement

Advertisement