लोकप्रिय लिङदेनलाई उपेक्षा गरेर अलोकप्रिय कमल थापालाई बोक्दा ओलीलाई ठूलो क्षति

Advertisement

काठमाडौं । स्थानीय निर्वाचन २०७९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई उपेक्षा गरेर कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावी तालमेल गर्दा नेकपा एमालेले ठूलो धक्का खानुपरेको स्वयम सोही पार्टीका कार्यकर्ताले स्वीकार गर्न थालेका छन् । 

जारी मतगणनामा धेरै स्थानमा एमालेले आफ्नो पकड गुमाउँदै गएको देखिएको छ । आफूबाट टुक्रिएको समूह सत्तामा गएर चुनौति दिइरहेको बेला एमालेले राजनीतिमा बदनाम भइरहेका कमल थापासँग चुनावी तालमेल नगर्न एमालेकै नेताहरुले आग्रह गर्दा पनि अटेर गर्दै ओलीले तालमेल गरेका थिए । ओलीले अर्को बदनाम पात्र परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई पनि कासी च्यापेका थिए । 

Advertisement

पछिल्लो समयमा निकै लोकप्रिय बनेका नेता राजेन्द्र लिङदेनसँग सहकार्य गर्न आनाकानी गरेका ओलीमा एक्लै गठवन्धनलाई हराउन सक्ने दम्भ निकै बढि देखिन्थ्यो । अघिल्लो स्थानीय निर्वाचनमा जस्तै आफू अहिले पनि लोकप्रिय रहेको भ्रम र कमल थापाको कुटिल राजनीति बुझ्न नसक्नु ओली जस्ता चतुर नेताको ठूलो असफलताको रुपमा हेरिएको छ । 

लिङदेनसँग ओलीले तालमेल गर्नसक्ने डरले थापाले हतार हतार उनीसँग तालमेल गरेर लिङदेनको ढोका बन्द गरिदिएका थिए । सत्ता गठवन्धनका दलहरुसँग चुनावी तालमेल गर्दा कांग्रेसले राम्रो फाइदा लिन सके पनि ओलीलाई भने अहिलेको मतपरिणाम प्रतिउत्पादक र अनपेक्षित भएको छ । 

शहरी जनमतमा राजनीतिक चेतना र जागरुपता आएको काठमाडौंलगायतका केही शहरहरुको मतपरिणामले देखिन्छ । तर ग्रामीण जनमतमा अझै पनि गठवन्धन, पैसा र अरु कुराहरुले प्रभाव पार्नसकिने अवस्था रहेको छ । 

पछिल्लो मतपरिणामअनुसार कांग्रेसले झण्डै ५० प्रतिशत स्थानमा चुनाव जित्ने देखिएको छ भने एमालेलाई माओवादी केन्द्रले नै पछि पार्ने हो कि ? भन्ने अवस्था सिर्जना भएको छ । 
 

Advertisement

Advertisement